ग्लोबल नेपाली
सन् २००२ मा अमेरिका गएका पर्यटन व्यवसायी वासुदेव घिमिरे यति बेला नेपालमा छन्। उनले काठमाडौंको कमलादीमा रहेको 'स्काई वाक टावर' परिसरमा 'बोरिटो रेस्टुरेन्ट' सुरू गरेका छन्।
उनीसँग नेपाल बस्ने स्थायी भिसा छैन, नेपाल-अमेरिका आउजाउ गरिरहन्छन्। नेपालमा लगानी विस्तार गर्ने प्रयासमा रहेका वासुदेवलाई एउटै कुराले रोकेको छ, त्यो हो नेपाली नागरिकताको प्रमाणपत्र।
उनी विदेशमा बसेका गैरआवासीय नेपालीले वंशजको नेपाली नागरिकता पाउनुपर्छ भन्ने मागका साथ 'नागरिकता खोइ' अभियानमा सक्रिय छन्। उनी यो अभियानका संयोजक हुन्।
यो अभियानले गैरआवासीय नेपालीलाई 'वंशजको नागरिकता जरूरी छ' भन्ने विषयमा सार्वजनिक वकालत गर्ने गरेको छ। वासुदेवले अमेरिकामा 'सौन्दर्य' र 'गार्मेन्ट' व्यवसाय चलाएका छन्। अहिले त्यहाँको व्यवसाय क्रमशः घटाउँदै छन् र अन्ततः बन्द गर्ने सोचेका छन्।
उनका अनुसार अमेरिकामा राम्रो चलेको व्यवसाय बन्द गर्ने निर्णयमा पुग्ने मुख्य कारण नेपालमै 'केही' गरूँ भन्ने हो। उनले अमेरिकामा लामो समय अनुसन्धान गरेर बोरिटोको चेन रेस्टुरेन्ट खोल्ने सोचेका थिए तर अब नेपालमै 'केही' गर्ने उनको अठोट लिएका छन्।
'अमेरिकाका ठूला मलहरूमा हाम्रो व्यवसाय छ। मैले सौन्दर्य र गार्मेन्ट सम्बन्धी व्यवसाय गरेको हो। हामी यहाँ (नेपाल) बाट पनि सामान लैजान्छौं,' वासुदेव भन्छन्, 'मेरी छोरी सन्फ्रान्सिस्को युनिभर्सिटीबाट ग्र्याजुएट भएकै दिन मलाई अब नेपाल जानुपर्छ भन्ने सोच आएको हो। मेरी छोरीको सीप र ज्ञान नेपालमा प्रयोग गर्ने अधिकार छैन भन्ने लागेर म नागरिकता अभियानमा लागेको हुँ।'
विदेशमा बसेका नेपालीले नेपाल आएर काम गर्न खोज्दा थुप्रै कानुनी जटिलता रहेको उनले देखेका छन्। वंशजको नागरिकताले मात्र त्यस्तो जटिलता अन्त्य गर्ने उनको निष्कर्ष छ।
गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिलाउने अभियानको नेतृत्व गर्ने उद्देश्यले नै आफ्नो व्यापारिक योजना बदलेको उनको भनाइ छ। विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने हो भने कुनै शर्त नराखी वंशजको नागरिकता दिनुपर्ने उनको जिकिर छ।
'वंशजको नागरिकताको निरन्तरता भयो भने राज्यलाई के फाइदा हुन्छ, त्यसले समाजलाई कस्तो प्रभाव पार्छ, देश विकासमा कसरी सहयोग पुग्न सक्छ भनेर बुझाउन म नेपाल फर्केको हुँ,' उनले भने, 'नेपाल आएर राज्यलाई सहयोग गर्न पनि सकिँदैन, न जागिर खान पाइन्छ, न जनप्रतिनिधि छान्न र जनप्रतिनिधि बन्न पाइन्छ। आफ्नै देशमा तेस्रो स्तरको नागरिक भएर बस्न नसक्ने भएकाले राज्यलाई बुझाउने सिलसिलामै नेपाल आएको हुँ।'
कम्तीमा पनि नेपालमै जन्मेर विदेश गएका सबैले वंशजको नेपाली नागरिकता पाउनुपर्ने उनको माग छ। जो पहिला नै वंशजको नागरिक थिए, उनीहरूको नागरिकताको निरन्तरता हुनुपर्ने उनको भनाइ छ।
विश्वभरि छरिएका पाँच लाख नेपालीलाई नेपाल ल्याउने हो चौतर्फी फाइदा हुने उनको तर्क छ।
'अमेरिका बसेको नेपाली वंशजको नागरिकता पाएर नेपाल फर्कियो भने कम्तीमा पाँच लाख डलर लिएर आउन सक्छ। यसरी पाँच लाख नेपाली आएर बसे भने २० लाख नेपालीले रोजगारी पाउँछन्,' उनले भने, 'पाँच लाख नेपाली फर्किने हो भने मासिक ४० अर्ब रूपैयाँ तलबका रूपमा बजारमा जान्छ। त्यसको प्रभाव चौतर्फी हुन्छ। अवकाश पाएको व्यक्तिले सामाजिक सुरक्षा बापत पाउने पैसा औसतमा मासिक तीन हजार डलर भयो भने त्यसले बजार धेरै चलायमान बनाउँछ।'
नेपाल राज्यले यो कुरा नबुझ्दासम्म नेपाललाई नै घाटा भइरहेको उनको भनाइ छ।
'गैरआवासीय नेपालीलाई नेपाली उत्पादनको माया हुन्छ। उनीहरूकै कारणले नेपाली उत्पादन विश्वका कुनाकुना पुगेको छ। वंशजको नागरिकता दिने हो भने विज्ञता पनि सित्तैमा फर्काउन सकिन्छ,' वासुदेव भन्छन्, 'नागरिकले अधिकार माग्नुभन्दा पहिला नै राज्यले दिँदा सुन्दर देखिन्छ। राज्यप्रति विश्वास बढ्छ। आन्दोलन गरेपछि मात्र दिने हो भने सन्देश सकारात्मक हुँदैन।'
नेपाली भएर पनि विदेशीको हैसियतमा नेपालमा लगानी गर्नुपर्दा उनलाई हिनताबोध भएको छ। राज्यले जति सीमा तोक्छ त्यसै अनुसार लगानी पनि सीमित हुने उनको तर्क छ।
लगानी, सीप र ज्ञान लिएर लिएर स्वेदश फर्किन्छु भन्नेलाई राज्यले रोकेको उनको आरोप छ।
अहिले सानो लगानी गर्ने र नेपाली नागरिकता निरन्तर भएन भने छोड्न पनि मिल्ने गरी विदेशमै बसेर नेपाललाई 'धेरै' दिएको उनको भनाइ छ।
वासुदेव भन्छन्, 'राज्यले अहिले अलिकति दिन्छु, तिमीहरू विद्रोह गर अनि फेरि अलिकति दिन्छु भन्नु हुँदैन। सीमितता सहितको एनआरएन (गैरआवासीय नेपाली) नागरिकताको अर्थ हुँदैन।'
उनका अनुसार नेपालमा रहेको सम्पत्ति सुरक्षित गर्न र बेचेर लैजान चाहनेले मात्र अहिले एनआरएन नागरिकता लिने गरेका छन्।
(घिमिरे गैरआवासीय नेपालीका लागि 'नागरिकता खोइ' अभियानका संयोजक हुन्।)