ग्लोबल नेपाली
विकल अधिकारी अमेरिका गएको दुई दशक हुन लाग्यो। नेपालमा करिब १२ वर्ष पर्यटन क्षेत्रमा काम गरेको अनुभव थियो। अमेरिका गएपछि पनि उनी पर्यटनमै जोडिए। उनी क्यान्सर सर्भाइभर (क्यान्सरलाई जितेका) पर्यटकका पथप्रदर्शक (टुरिस्ट गाइड) बने, त्यो पनि स्वयंसेवकका रूपमा।
यस वर्ष दसैंतिहारको समयमा क्यान्सर सर्भाइभर अमेरिकी र स्वास्थ्यकर्मी सहित २७ जनाको टोली लिएर उनी नेपाल नेपाल आएका थिए।
'हामीले यसपटक सगरमाथा आधार शिविरसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गर्यौं। त्यहाँ पुगेर क्यान्सर सर्भाइभरहरूले हिमाली दृश्य देख्न पाए,' विकलले भने, 'खुम्बू क्षेत्रका शेर्पाहरूको जनजीवनबारे जानकारी लिन र त्यहाँको सांस्कृतिक तथा सामाजिक अवस्था अनुभव गर्न पाए।'
अमेरिकी क्यान्सर सर्भाइभरहरूलाई नेपाल घुमाउने निर्णय हुँदा विकल औधी खुसी हुन्छन्। पर्यटक घुमाउनु उनको रूचिको काम हो। नेपालमा ल्याएर घुमाउन पाउँदा उनको खुसी असीमित भइदिन्छ।
यसपटक दसैंतिहारको समय परेकाले अमेरिकीहरूले नेपालका मुख्य दुई पर्व देख्न पाए। लक्ष्मीपूजा र तिहारको भाइटीका देखेर उनीहरू खुसी भए। यसले विकललाई थप सन्तुष्टि दिएको छ।
यसपटक उनका साथ नेपाल आएका क्यान्सर सर्भाइभरहरूमा ब्रेन क्यान्सर, रगतको क्यान्सर, स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर जितेकाहरू धेरै थिए। उनीहरू २५ वर्षदेखि ६० वर्षसम्म उमेरका थिए।
यसपटक मनसुन लम्बिएकाले यात्रा केही असहज भएको उनले बताए।
'सबैभन्दा अप्ठ्यारो भनेको प्रकृतिकै हो। मौसम प्रतिकूल भइदियो। पाँच दिन लुक्ला फ्लाइट हुन सकेन। हामी ३० जना मन्थली गएर बस्यौं,' उनले भने, 'जहाज जाने अवस्था नभएपछि ६ वटा हेलिकप्टर रिजर्भ गरेर गयौं।'
सहयोगी शेर्पाको टिम राम्रो थियो। सगरमाथा आधार शिविरमा कुनै समस्या भएन।
विकल क्यान्सर सर्भाइभरलाई लिएर नेपाल आएको यो चौथो पटक हो। भ्रमणको पहल पनि उनैले पहल गरेका थिए। क्यान्सर सर्भाइभरको टोली लिएर पहिलोपटक सन् २०११ मा सगरमाथा आधार शिविर पुगेका थिए। त्यस बेला सगरमाथा क्षेत्रकै 'आइल्यान्ड पिक' आरोहण गराएको उनले बताए।
अर्कोपटक सन् २०१५ मा भूकम्पका कारणले नेपालको पर्यटन क्षेत्र तहसनहस भएको समयमा पनि उनी २५ जनाको टोली लिएर आएका थिए। त्यस बेला सात दिन काठमाडौं घुमाए, बाहिर गएनन्।
त्यो भ्रमण स्मरण गर्दै उनले भने, 'भूकम्प गएपछिको सबैभन्दा ठूलो पर्यटक टिम आएको भनेर साथीहरूले मेरो प्रशंसा गरेका थिए।'
त्यसपछि सन् २०१८ मा अर्को टिम लिएर आए। त्यस बेला सिमकोट हुँदै हिल्सासम्म सात दिन ट्रेकिङ गरेर कैलाश मानसरोवर परिक्रमा गराए।
उनले क्यान्सर सर्भाइभरको टिमलाई भक्तपुर क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालको क्यान्सर युनिट पनि अवलोकन गराएका छन्।
'क्यान्सर सर्भाइभर पर्यटकलाई बेडहरूमा पुर्याएर बिरामीसँग कुरा गराउँछौं। भाषा नबुझे पनि उनीहरू एकअर्काको भावना बुझ्छन्,' उनी भन्छन्, 'चिकित्सकहरूसँग अन्तर्क्रिया पनि गराउँछौं। अमेरिकाको उपचार पद्धतिको कुरा हुन्छ। नेपाली चिकित्सहरूले यहाँको अनुभव सुनाउँछन्।'
क्यान्सर रोगको उपचार गरेको मान्छे पनि काम गर्न सक्छ भन्ने आत्मविश्वास बढाउन क्यान्सर सर्भाइभर अमेरिकीहरूलाई नेपाल घुमाउने गरेको विकलले बताए।
'मलाई क्यान्सर भएको छ भनेर सुनाउनेहरू निकै कम हुन्छन्। नेपालमा भन्दा अमेरिकामा क्यान्सरबारेको चेतना बढी छ। उपचार प्रविधि स्वाभाविक रूपमा निकै राम्रो छ,' उनी भन्छन्, 'क्यान्सर सर्भाइभरलाई नेपाल ल्याउँदा पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान पुग्छ र जनचेतना बढाउन पनि मद्दत गर्छ भन्ने लाग्छ।'
उनी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको पढाइ पूरा गरेर सन् २००५ मा अमेरिका गएका थिए।
'त्यस बेला देशको परिस्थिति अलि अप्ठ्यारो थियो,' उनले भने, 'अमेरिकामा नेपालको पर्यटन क्षेत्र जोड्ने र क्यान्सरबारे जनचेतना बढाउने मेरो प्रयास सामान्य हो तर आफूले सकेको केही न केही काम गर्नुपर्छ भनेर लागेको छु।'
विकल क्यान्सर सर्भाइभरहरूलाई अन्य देशमा पनि लैजान्छन्। दुईपटक दक्षिण अफ्रिका र एकपटक पेरू पुर्याए।
विकलको मुख्य रोजगारी एउटा स्वास्थ्य बीमा कम्पनीमा डेटा विश्लेषण गर्ने हो। उनको आम्दानीको स्रोत यही हो। पर्यटक लिएर घुम्नु उनको रूचि हो।
अमेरिकामा स्वास्थ्य बीमाको व्यापकताले गर्दा उपचारमा सहज भएको उनले देखेका छन्। नेपालमा पनि स्वास्थ्य बीमा विस्तार गर्दै अनिवार्य गर्नु राम्रो हुने उनको धारणा छ।
विकलले हालै एउटा ट्राभल एजेन्सी खोलेर पर्यटन व्यवसाय पनि सुरू गरेका छन्। एजेन्सीले अमेरिका जाने–आउने जहाजको टिकट काट्न थालेको छ। भविष्यमा सेवा विस्तार गर्ने उनको योजना छ।