अमेरिकी राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पले मन्त्री र उच्च पदका लागि धमाधम मनोनीत गरिरहेका छन्।
उनले आगामी जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्। आफूले जिम्म्वारी लिएलगत्तै ट्रम्पले ह्वाइट हाउसका विभिन्न पदहरूमा नियुक्त गर्नेछन्। त्यसका लागि विभिन्न व्यक्तिहरूलाई मनोनीत गरेका हुन्।
ट्रम्पले अहिलेसम्म २० जनाभन्दा बढीलाई विभिन्न पदमा नियुक्तिका लागि मनोनीत गरिसकेका छन्।
बिबिसीका अनुसार ट्रम्पले मार्को रूबिओलाई विदेश मन्त्री मनोनीत गरेका छन्। फ्लोरिडाका सिनेटर रूबिओ चीनका कटु आलोचक मानिन्छन्।
त्यस्तै पिट हेगसेथ रक्षा मन्त्री मनोनीत भएका छन्। उनी ट्रम्पलाई समर्थन गर्ने सञ्चार संस्था फक्स न्युजका कार्यक्रम प्रस्तोता हुन्। उनी पूर्वसैनिक पनि हुन्।
विश्वका धनाढ्य व्यक्ति इलन मस्क र विवेक रामास्वामीलाई जिम्मेवारी दिन ट्रम्पले गभर्नमेन्ट इफिसिएन्सी नामको नयाँ विभाग नै सिर्जना गरेका छन्। त्यसले सरकारलाई सफल बनाउनका लागि भूमिका खेल्ने भनिएको छ।
ट्रम्पले बुधबार मात्रै फ्लोरिडा कंग्रेसका सदस्य म्याट गेट्जलाई महान्यायाधिवक्ता मनोनीत गरेका छन्। उनी पनि ट्रम्पका बफादारमध्ये एक मानिन्छन्। यद्यपि विवादित पृष्ठभूमिका कारण उनको मनोनयन विवादमा परेको छ।
दक्षिण डकोटाका गभर्नर कृष्टी नोइमलाई ट्रम्पले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।
तुल्सी गब्बार्ड गुप्तचर विभागको निर्देशक मनोनीत भएकी छन्। गुप्तचर विभागमै जोन र्याटक्लिफ मनोनीत भएका छन्।
राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ज मनोनीत भएका छन् भने टम होमनलाई सीमा सुरक्षासम्बन्धी जिम्मेवारी दिइने भएको छ।
संयुक्त राष्ट्रसंघीय राजदूतमा इलिस स्टेफेनिक, माइक हुकाबीलाई इसराइलको राजदूत, स्टिभ विटकफलाई मध्यपूर्वको विशेष दूत, ली जेल्दीनलाई वातावरण सुरक्षा एजेन्सी, विलियन मिकजिनलीलाई ह्वाइट हाउस काउन्सिल, सुसी विल्सलाई ह्वाइट हाउस कर्मचारी प्रमुख मनोनीत भएका छन्।
स्टेफेन मिलर, जेम्स ब्लेइर, टेलर बुडोभिच र ड्यान स्काभिनो गरी चार जनालाई कर्मचारी उपप्रमुख मनोनीत गरेका छन्।
मनोनीत भएका व्यक्तिबारे सिनेटमा छलफल हुनेछ। सिनेटले पारित गरेपछि मात्रै उनीहरू सम्बन्धित पदमा नियुक्त हुनेछन्।