अमेरिकामा ४७ औं राष्ट्रपति चुनिइसकेका छन्- डोनाल्ड ट्रम्प।
गत मंगलबार भएको निर्वाचनमा ऐतिहासिक जित निकाल्दै रिपब्लिकन उम्मेदवार ट्रम्प राष्ट्रपति चुनिएका हुन्। अब उनले जनवरीमा कार्यभार सम्हाल्नेछन्।
यसपालि ट्रम्पको ऐतिहासिक जित पछाडिका विभिन्न कारणमध्ये विश्वकै धनाढ्य व्यक्ति इलन मस्कको समर्थन पनि एक हो।
ट्रम्पलाई जिताउन मस्कले ठूलो रकम खर्च मात्रै गरेनन्, तीव्र प्रतिस्पर्धा हुने प्रक्षेपण गरिएका पेन्सिलभेनिया जस्ता राज्यहरूमा आफै प्रचारप्रसारमा खटिए। चुनावी सभामा आएका समर्थकहरूलाई सम्बोधन गरे। सम्बोधनका क्रममा ट्रम्पको जित निश्चित रहेको दाबी गरे।
निर्वाचन नजिकिँदै गर्दा मस्कले चिट्ठामार्फत दिनको एक जनालाई १० लाख डलर उपहार पनि दिएका थिए।
मस्कको सहयोग नभएको भए ट्रम्पको यस किसिमको ऐतिहासिक जित कल्पनाबाहिरको कुरा हो भनेर अमेरिकी अखबार फर्च्युनले लेखेको छ।
चुनाव जितेपछि बुधबार सम्बोधन गर्ने क्रममा ट्रम्पले पनि खुलेरै मस्कको प्रशंसा गरे। उनले मस्कलाई अमेरिकाको उदीयमान तारासमेत भने।
'म तपाईंंहरूलाई जानकारी गराउँछु, हामीसँग नयाँ तारा उदाएको छ। ती उदीयमान तारा इलन हुन्। उनी अद्भुत छन्,' ट्रम्पले विजयी सम्बोधनका क्रममा भनेका थिए।
'उनी सुपर जिनियस हुन्। यस्ता सुपर जिनियसहरू कमै जन्मिन्छन्। कमै जन्मिने सुपर जिनियसहरूको हामीले रक्षा गर्नुपर्छ,' ट्रम्पले अझै अगाडि बढेर मस्कको प्रशंसा गरे।
ट्रम्पले आफू राष्ट्रपति बनेपछि इलन मस्कलाई ह्वाइट हाउसमा महत्त्वपूर्ण जिम्मेवारी दिने घोषणा समेत गरेका थिए। राष्ट्रपतिमा विजयी भएपछि ट्रम्पले यसको छनक पनि दिए। ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बुधबार टेलिफोन संवाद गरेका थिए। त्यतिबेला उनले मस्कलाई पनि साथमा राखेका थिए र फोन लाउडस्पिकरमा राखेर संवाद सुनाएका थिए।
मस्कको बढ्दो राजनीतिक सक्रियता र राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिकालाई लिएर कहीँ उनी सन् २०२८ मा हुने राष्ट्रपति चुनावको दौडमा त छैनन् भन्ने चर्चा चल्न थालेको छ।
ट्रम्प राजनीतिमा आउनुअघिको उनको पृष्ठभूमि र अहिलेको मस्कको पृष्ठभूमि मिल्दोजुल्दो छ अर्थात् दुवै व्यापारिक घरानाका हुन्। यद्यपि व्यापारिक धरातलबारे भने मस्कसँग ट्रम्पको तुलना हुन सक्दैन।
ट्रम्प सुरूदेखि नै रिपब्लिकन थिएनन्। सन् २०१६ को राष्ट्रपतीय निर्वाचन लड्ने भएपछि मात्रै उनी रिपब्लिकन भएका थिए। त्यसकारण टेस्ला, एक्स, स्पेसएक्स लगायत दर्जनौं कम्पनीका मालिक रहेका मस्कको अहिलेको सक्रियता हेर्दा आगामी राष्ट्रपतिको दौडमा छन् भनेर आकलन गर्ने ठाउँ रहन्छ।
यसबारेमा विभिन्न अन्तर्राष्ट्रिय मिडियाले आ-आफ्नो विश्लेषण पनि गरेका छन्।
अमेरिकी पत्रिका फास्ट कम्पनीले मस्कको सक्रियतालाई लिएर आगामी राष्ट्रपति दौडमा रहेको भनिए पनि त्यो सम्भव नरहेको लेखेको छ।
यसमा अमेरिकाको संविधान नै बाधक बन्ने उसको विश्लेषण छ। अमेरिकाको संविधानले राष्ट्रपति बन्न त्यहीँ (अमेरिकाकै माटोमा) जन्मिनुपर्ने र कम्तिमा पनि पछिल्लो १४ वर्ष अमेरिकामै बसेको हुनुपर्ने व्यवस्था गरेको छ।
५३ वर्षीय मस्क दक्षिण अफ्रिकामा जन्मिएका हुन्। उनकी आमा क्यानडेली नागरिक हुन्। मस्कले क्यानडाको नागरिकता समेत लिएका थिए। सन् २००२ मा मात्रै उनले अमेरिकी नागरिकता लिएको फास्ट कम्पनीले लेखेको छ।
संविधानको यही प्रावधान इलन मस्कको राष्ट्रपति बन्ने सम्भावित दौडमा बाधक बन्ने विश्लेषण गरिएको छ।
राष्ट्रपति निर्वाचपछिका विभिन्न अन्तरवार्ता र पोडकास्टहरूमा पनि मस्कलाई प्रश्नकर्ताहरूले त्यस्तै प्रश्न गर्ने गरेका छन्।
इकोनोमिक टाइम्सको युट्युब च्यानलमा प्रसारित एक भिडिओमा मस्कले पनि संविधान र त्यसले गरेको व्यवस्था सम्झाएका छन्।
'मेरा हजुरबुबा अमेरिकी हुनुहुन्थ्यो तर म दक्षिण अफ्रिकामा जन्मिएँ। त्यसैले म राष्ट्रपति बन्न सक्दिनँ। संविधान नै संशोधन गर्नुपर्छ,' मस्कले भने।
यद्यपि आफू राष्ट्रपति बन्न इच्छुक नरहेको पनि मस्कले बताए।
'सत्य भन्नुपर्दा म राष्ट्रपति बन्न पनि चाहन्नँ। विद्युतीय कार बनाउँछु, रकेट बनाउँछु। त्यतातिरै लगाव छ, त्यही क्षेत्रमा अझै नयाँ नयाँ गर्दै जान्छु।,' मस्कले भनेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)