पछिल्ला केही दिनमा लेबननमा इसराइलले गरिरहेको लगातार प्रहारको जबाफमा हिजबुल्लाहले आइतबार कैयौं मिसाइल प्रहार गरेको छ।
इसराइलले मंगलबार र बुधबार लेबननमा क्रमश: पेजर र वाकी-टकी विस्फोट गराएपछि भारी बमबारी गरेको थियो। शुक्रबार बेरूतको एक घरमा भएको मिसाइल आक्रमणमा हिजबुल्लाहका कमान्डर अकिब इब्राहिम अकिल र अहमद वाहबी मारिएको हिजबुल्लाहले जनाएको छ।
घटीमा ४५ जना मारिएको सो घटनामा अकिल सहित हिजबुल्लाहको स्पेसल फोर्स राडवान युनिटका कैयौं कमान्डर पनि मारिएको इसराइलले दाबी गरेको छ।
उनीहरू गत अक्टोबर ७ मा हमासले इसराइलमा गरेजस्तो हमला गर्ने योजना बनाइरहेको बेलामा उनीहरूलाई मारेको इसराइलले जनाएको छ। बेरूतमा एउटा आवासीय भवनको सातौँ तलामा हवाई आक्रमण गरेर जुलाई ३० मा इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको थियो।
शुक्र जस्तै अकिल पनि हिजबुल्लाहको सैन्य दस्ताका संस्थापक मध्येका एक थिए। शुक्रको हत्यापछि अकिलले उनको जिम्मेवारी पूरा गरिरहेको मानिन्थ्यो। यसरी इसराइलले लगातार प्रहार गरेपछि हिजबुल्लाहले पनि आइतबार इसराइलमा व्यापक आक्रमण गरेको छ। गत अक्टोबर ७ मा हमासले इसराइलमाथि गरेको हमलाको बदलामा इसराइलले सैन्य कारबाही थालेदेखि हिजबुल्लाहले इसराइलमा लगातार रकेट प्रहार गरिरहेको छ। तर आइतबारको हमला अरू बेलाको भन्दा ठूलो भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
हिजबुल्लाहले आइतबार अरू बेलाभन्दा टाढासम्म पुग्ने मिसाइल प्रहार गरेको भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ। तर हिजबुल्लाहले प्रहार गरेका एउटा बाहेक सबै मिसाइल आफ्नो मिसाइल डिफेन्स सिस्टमले खसालेको इसराइलले दाबी गरेको छ। सो एउटा मिसाइलका कारण एक इसराइली सामान्य घाइते भएका छन्। हिजबुल्लाहले भने इसराइली सैनिक शिविरहरूमा प्रहार गरेको जनाएको छ।
हिजबुल्लाहसँग अझ धेरै शक्तिशाली हतियार रहेको आफूलाई थाहा भएकाले तयार रहेको भन्दै इसराइलले आफ्ना नागरिकलाई होसियार रहन भनेको छ। हिजबुल्लाहका नेता हसन नसरल्लाहले इसराइलले पेजर र वाकी-टकी विस्फोट गराएर गरेको आक्रमणको कडा जबाफ दिने चेतावनी दिएको केही घण्टापछि इसराइलले लेबननमा भीषण बमबारी सुरू गरेको थियो।
लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं पेजरहरू एकसाथ विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने लगभग तीन हजार घाइते भएका थिए। त्यसको भोलिपल्ट त्यसरी नै लेबननमा हिजबुल्लाह सदस्यले बोकेका वाकी-टकी अचानक विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको थियो र अरू ४०० जनाभन्दा बढी घाइते भएका थिए।
मंगलबारको आक्रमणमा मारिएका केहीको सामूहिक अन्तिम संस्कार भइरहेको ठाउँमा समेत बुधबार वाकी-टकी विस्फोट भएर केही हताहत भएका थिए। त्यसकारण बुधबार मारिएकाहरूको बिहीबार सामूहिक अन्तिम संस्कार नगरिएको भनेर विभिन्न सञ्चारमाध्यमले जनाएका थिए। अहिलेसम्म ती घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन। तर हिजबुल्लाहले इसराइललाई दोष लगाउँदै यसको बदला लिने बताएको छ। लेबनन सरकारले समेत इसराइललाई दोष दिएको छ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई बिहीबार चिठी लेख्दै लेबननी मिसनले ती उपकरण विस्फोट गराउन इसराइल जिम्मेवार रहेको भन्दै लेबनन आइनपुगी तिनमा इसराइलले विस्फोटक पदार्थ हालेको जनाएको छ।
इसराइल यो घटनाबारे आधिकारिक रूपमा केही पनि बोलेको छैन। तर पनि यो आक्रमण इसराइलले गरेको मानिन्छ। देशबाहिर आफूले गर्ने खुफिया कारबाही र हत्याबारे इसराइल अरू बेला पनि बोल्दैन। मंगलबार र बुधबारको आक्रमणपछि पहिलो पटक बोल्दै नसरल्लाहले बुधबार सो आक्रमणलाई आफूविरूद्धको युद्ध भन्दै कडा जबाफ दिने बताएका थिए।
साथै गत अक्टोबर ७ मा हमासले इसराइलमाथि गरेको हमलाको बदलामा इसराइलले सैन्य कारबाही थाले यता हिजबुल्लाहले इसराइलमा गरिरहेको रकेट प्रहार जारी राख्ने पनि बताएका थिए। तर उनको भाषण टेलिभिजनमा प्रसारण भइरहेका बेला बेरूतको आकाशमा कानै थुनिने गरी आवाज निकालेर इसराइली लडाकु विमान उडिरहेका थिए।
अनि साँझ परेपछि राति इसराइलले लेबननमा भारी बमबारी गर्यो। लेबननको सरकारी समाचार संस्थाका अनुसार गत एक वर्षको सबैभन्दा भीषण आक्रमणमा इसराइलले ५२ ठाउँमा प्रहार गरेको थियो। इसराइलले पनि हिजबुल्लाहका करिब १०० वटा रकेट लन्चर र अन्य ठाउँमा हमला गरेको जनाएको छ।
शुक्रबार गरिएको बमबारीमा अकिलसहित घटीमा ४५ जना मारिएपछि इसराइलले शनिबार पनि बमबारी जारी राखेको थियो। इसराइलले शनिबार करिब २९० ठाउँमा प्रहार गरेर हजारौं रकेट लन्चर ध्वस्त पारेको दाबी गरेको छ। इसराइलले हिजबुल्लाह सदस्यले बोकेका पेजर र वाकी-टकी विस्फोट र त्यसपछि गरेको भारी बमबारीका कारण इसराइल र हमासबीच अहिले युद्धविराम हुने झिनो आशा पनि सकिएको छ।
इसराइलले हमासविरूद्ध गजामा गरिएको कारबाहीका बेला हमासको समर्थनमा हिजबुल्लाहले इसराइलमाथि लगातार प्रहार गरिरहेको छ। हिजबुल्लाहको आक्रमण रोक्न कूटनीतिक प्रयास भइरहे पनि उसले गजामा इसराइली हमला नरोकिएसम्म आफ्नो आक्रमण जारी रहने बताएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इसराइल र हमासबीच युद्धविराम गराउन लगातार प्रयास गरिरहेको भए पनि पछिल्लो घटनाक्रमले त्यो सम्भावना अहिलेलाई सकिएको छ। नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपतीय चुनावअघि नै इसराइल-हमासको युद्धविराम गराएर आफ्नो विरासत अझ राम्रो बनाउने सोचिरहेका बाइडेनको प्रयासलाई इसराइलको पछिल्लो कदमले असफल पारेको छ।
मंगलबार हिजबुल्लाह सदस्यले बोकेका पेजर विस्फोट गराउँदै गर्दा नै इसराइलले लेबननको सीमातर्फ ठूलो संख्यामा सैनिक परिचालन गरेको थियो। रक्षा अधिकारीहरूले युद्धको अबको केन्द्रविन्दु गजा नभएर लेबननसँगको सीमा हुने बताएका थिए।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले समेत हिजबुल्लाहको लगातारको हमलाका कारण लेबननसँगको सीमा क्षेत्रबाट विस्थापित भएका इसराइली नागरिकलाई घर फर्कने वातावरण बनाउनु उनको प्रमुख उद्देश्य भएको बताएका छन्।
बुधबार दिउँसो वाकी-टकी विस्फोट र त्यसपछि भारी बमबारी गरेपछि इसराइलले लेबननभित्रै सेना पठाएर हिजबुल्लाहमाथि आक्रमण गर्ने खतरा बढेको छ। पछिल्ला दिनका इसराइली आक्रमणले हिजबुल्लाह कमजोर भएकाले उसले इसराइलभित्र पसेर हमला गर्न सक्ने सम्भावना भने कम भएको छ।
आफूसँग भएका सबैभन्दा शक्तिशाली हतियारले इसराइलमा प्रहार गर्ने निर्णय गर्न पनि नसरल्लाहलाई मुश्किल पर्ने देखिन्छ। शुक्रको हत्या र पछिल्ला केही दिनको कारबाहीले हिजबुल्लाहभित्र ठूलो मात्रामा इसराइली जासुसहरू रहेको पुष्टि भएकाले धेरै कडा जबाफ दिए नसरल्लाह आफै पनि निशानामा पर्न सक्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)