एन्टिमाइक्रोबियल रेसिस्टेन्सका (एएमआर) कारण सन् २०५० सम्ममा विश्वका झण्डै चार करोड मानिस मर्न सक्ने एक अध्ययनले देखाएको छ।
ब्याक्टेरियाका विरूद्ध काम गर्ने (एन्टिबायोटिक), भाइरसविरूद्ध गर्ने (एन्टिभाइरल), फन्गसविरूद्ध गर्ने (एन्टिफन्गल) र परजीवीविरूद्ध काम गर्ने (एन्टिप्यारासाइटिक) औषधिलाई सामूहिक रूपमा एन्टिमाइक्रोबियल भनिन्छ।
हानिकारक जीवाणुबाट मानिसलाई जोगाउने यी विभिन्न खाले औषधिविरूद्ध तत्-तत् जीवाणुले प्रतिरोधात्मक क्षमता विकास गरे त्यसलाई एएमआर भनिन्छ। एएमआरका कारण यी औषधिले काम गर्न छोड्छन्।
ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेसिस्टेन्स (ग्राम) प्रोजेक्टले पहिलोपटक एएमआरको लामो समयसम्मको प्रवृत्तिबारे विश्वव्यापी अध्ययन गरेर त्यसको नतिजा हालै लान्सेट जर्नलमा प्रकाशित गरेको छ।
सो अध्ययनका क्रममा २०४ देश र भूभागका तथ्यांकको विश्लेषण गरेर सन् १९९० देखि २०२१ सम्ममा एएमआरका कारण भएको मृत्युको आकलन र सन् २०५० सम्म हुने मृत्युको भविष्यवाणी गरिएको छ। त्यसका अनुसार खोपमा र सरसफाइमा सुधारका कारण धेरै साना बच्चामा एएमआरको प्रभाव घट्दै गए पनि उनीहरूका हजुरबुवा-हजुरआमामा यसले थप हानि गरिरहेको देखाएको छ।
सो अध्ययनका अनुसार एएमआरका कारण सन् २०२१ मा प्रत्यक्ष रूपमा वर्षको ११ लाख ४० हजारको मृत्यु भएकोमा त्यो संख्या २०५० सम्ममा बढेर १९ लाख १० हजार पुग्नेछ।
त्यस्तै, सन् २०२१ मा वार्षिक करिब ४७ लाख मृत्युमा एएमआरको कुनै न कुनै भूमिका भएकोमा सन् २०५० सम्ममा त्यस्तो संख्या बढेर ८२ लाख पुग्नेछ। सो अध्ययनले संक्रमण अझ राम्ररी रोके, स्वास्थ्यमा पहुँच बढाए र नयाँ एन्टिबायोटिक बनाए विश्वभर दशौं लाख मानिसको ज्यान जोगाउन सकिने पनि भनेको छ।
यो अध्ययनले एएमआर दशकौंदेखि ठूलो विश्वव्यापी स्वास्थ्य खतरा रहेको र सो खतरा बढिरहेको देखाएको सो अध्ययनमा संलग्न डाक्टर मोहसिन नघावीले उल्लेख गरे भनेर द गार्डियनले लेखेको छ।
विश्वभरिका विभिन्न संस्थाका ५०० भन्दा बढी खोजकर्ता संलग्न भएको सो अध्ययनले एएमआरका कारण १९९० मा वार्षिक ४ लाख ८८ हजार पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु भएकोमा त्यो २०२१ मा घटेर १ लाख ९३ हजारमा झरेको छ। तर अरू सबै उमेर समूहमा मृत्युदर बढेको र झनै बढ्ने सो अध्ययनले देखाएको छ।
भविष्यमा बढ्ने यस्तो मृत्यु मुख्यतः भारत, पाकिस्तान, बंगलादेश लगायत दक्षिण एसियाली देशहरूमा र दक्षिण पूर्वी एसिया र सहारा मरूभूमि नजिकका अफ्रिकी देशमा हुनेछन्।
सो अध्ययनका अनुसार ७० वर्ष माथिका व्यक्तिहरूमा एएमआरका कारण हुने संक्रमण मध्ये तीन-चौथाइ जसो बिरामी भएर अस्पताल गएको हुनेछन्।
उनीहरूलाई धेरै खाले रोग लाग्ने भएका कारण अस्पताल लग्नु पर्ने हुन्छ र अस्पतालमा भएको बेला उमेरका कारण कमजोर भएको उनीहरूको रोग प्रतिरोधात्मक क्षमताले जीवाणुहरूसँग लड्न नसकेर संक्रमण हुन्छ। वृद्ध मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले उनीहरूलाई एन्टिमाइक्रोबियल औषधिले मात्रै नभएर खोपले पनि काम गर्दैन। त्यसैले उनीहरूले संक्रमणका कारण ज्यान गुमाउनुपर्ने हुन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)