युक्रेनलाई रूसभित्र अमेरिकी हतियार प्रयोग गर्न दिने कि नदिने भनेर अमेरिकी सरकार विभाजित देखिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार पत्रकारहरूको प्रश्नको जबाफमा सरकारले रूसभित्र अमेरिकी हतियार प्रयोग गर्न दिन युक्रेनले गरेको अनुरोधबारे विचार गरिरहेको बताएका थिए।
तर बाइडेन सरकार यो विषयमा विभाजित देखिएको छ। विदेश मन्त्रालय अनुमति दिनेबारे सकारात्मक रहेको तर रक्षा मन्त्रालय र खुफिया संस्थाहरू भने त्यसको विपक्षमा रहेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
युक्रेनले रूसको कुर्स्क क्षेत्रमा सफलता हात पारेपछि प्रहार गर्ने ठाउँहरूको सूची नै बनाएर रूसको अझैभित्र अमेरिकी हतियार प्रयोग गर्न अमेरिकाको अनुमति मागेको छ।
युक्रेनले रूसभित्र पसेर करिब १२५० वर्ग किलोमिटर भूमि र दर्जनौं गाउँ कब्जा गरेको दाबी गरेको छ।
दोस्रो विश्वयुद्धपछि कुनै राष्ट्रले रूसी भूमि कब्जा गरेको यो पहिलो पटक हो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरू गरेका थिए। त्यसयता स्थानीय रूसी विद्रोहीको सहयोगमा रूसका केही बस्तीमा युक्रेनले एक-दुई पटक छापामार शैलीमा हमला गराएको थियो।
यसपटक भने युक्रेनी सेना आफै रूसभित्र पसेर भूमि कब्जा गरेको हो। उसले सयौं रूसी सैनिकलाई बन्दी बनाएको छ। युक्रेनको आक्रमणकै कारण सो क्षेत्रका झन्डै दुई लाख नागरिक विस्थापित भएका छन्।
यो सफलतापछि रूसको अझभित्र आक्रमण गर्न युक्रेनले अनुमति मागिरहेको छ।
भर्खरै युक्रेनी रक्षामन्त्री रूस्तम उमेरोभ र राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका वरिष्ठ सल्लाहकार आन्द्रइ यरमाक प्रहार गर्ने ठाउँहरूको सूचीसहित अमेरिका गएका थिए।
युक्रेनले यसअघि पनि रूसभित्र आक्रमण गर्न अनुमतिका लागि केही सम्भावित ठाउँहरूको बारेमा अमेरिकालाई अवगत गराए पनि यस पटकको सूची विस्तृत भएको अमेरिकी मिडियाले जनाएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्सकीले युक्रेनले रूसको कुर्स्क क्षेत्रमा आफ्नो 'विजय योजना' अनुरूप हमला गरेको बताएका छन् र उनले चाँडै संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जाँदा बाइडेनसामु सो योजना प्रस्तुत गर्ने भनेका छन्।
युद्धको संवेदनशील योजनाबारे उनले नखुलाए पनि सो योजनाको सफलता बाइडेनमाथि निर्भर हुने औंल्याएका छन्। उनले त्यसो भन्नुको मतलब सो योजनाले काम गर्छ कि गर्दैन भन्ने कुरा बाइडेनले अमेरिकी हतियार रूसको अझ भित्र हमला गर्न अनुमति दिन्छन् कि दिँदैनन् भन्ने कुरामा निर्भर गर्नेछ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेन सो विषयमा कुरा गर्न आजै बेलायती समकक्षी डेभिड ल्याम्मीसँगै युक्रेन पुगेका छन्। त्यहाँ उनले जेलेन्सकीसँग अमेरिकी लगायत पश्चिमा देशले दिएको हतियार रूसभित्र आक्रमण गर्न प्रयोग गर्नेबारे कुरा गर्ने अनुमान गरिएको छ।
युक्रेन जानुअघि बेलायत पुगेका ब्लिङकेनले लण्डनमा पत्रकार सम्मेलनमा आफूले युक्रेनीको कुरा ध्यान दिएर सुन्ने बताएका छन्। उनी र ल्याम्मी दुवैले युक्रेनमा गरिने कुरा बारे आ-आफ्ना सरकार प्रमुखलाई ब्रिफिङ गर्ने भनेका छन्।
त्यसपछि बेलायती प्रधानमन्त्री कियर स्टार्मर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएको बेलामा बाइडेनसँग सो बारेमा छलफल गर्ने पनि ब्लिङकेनले जानकारी दिएका छन्।
बेलायत लगायत अरू युरोपेली देशहरू युक्रनेलाई त्यस्तो अनुमति दिने पक्षमा छन्। जर्मनी भने अमेरिका जस्तै त्यसको विपक्षमा छ। अमेरिकाले आफ्नोमा बनेका पार्टपुर्जा प्रयोग भएका हतियार समेत रूसभित्र प्रयोग गर्न रोक लगाएकाले बेलायत, फ्रान्सलगायत अरू युरोपेली देशहरू अनुमति दिने पक्षमा भए पनि त्यहाँ बनेका हतियार समेत युक्रेनले प्रयोग गर्न पाएको छैन।
अमेरिकी राष्ट्रपति बाइडेनले मे महिनाको अन्त्यमा मात्रै अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका थिए।
अमेरिकाले हतियार दिँदा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र प्रयोग नगर्ने सर्त राखेर दिने गर्थ्यो। सो अनुमति पाउनुअघि त्यसैअनुसार रूसले कब्जा गरेको आफ्नो भूमिभित्र मात्रै युक्रेनले रूसी सेनामाथि आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्थ्यो। अमेरिकाले मे महिनामा अनुमति दिँदा पनि खार्किभ वरिपरि जम्मा भएर आक्रमण गरिरहेका र गर्न लागेका सेनामाथि मात्रै प्रयोग गर्ने सर्तमा दिएको थियो।
तर यसपटक भने युक्रेनी सेना अगस्ट ६ मा रूससँगको उत्तर पूर्वी सीमा पार गरेर कुर्स्क क्षेत्रमा रूसी भूमि कब्जा गरेको छ। अमेरिकालाई जानकारी समेत नदिई योजना बनाइएको यो आक्रमणका क्रममा युक्रेनले अमेरिका र युरोपका अरू देशमा बनेका हतियार समेत प्रयोग गरेको थियो।
युक्रेनले रूसी भूमि कब्जा गर्दा समेत अमेरिकीले डर माने जस्तो रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग नगरेको देखाउँदै युक्रेनले अझै धेरै भित्र प्रहार गर्न अनुमति मागिरहेको छ।
त्यसैका लागि युक्रेनी रक्षामन्त्री रूस्तम उमेरोभ र राष्ट्रपति जेलेन्सकीका वरिष्ठ सल्लाहकार आन्द्रइ यरमाक लामो दुरीको निशाना बनाउन मिल्ने रूसी ठाउँहरूको सूची नै बोकेर अमेरिका गएका थिए।
अमेरिकाले भने मे महिनाको अन्त्यमा रूसभित्र प्रहार गर्ने अनुमति दिएलगत्तै नै रूसले आफ्ना लडाकू विमान र आधुनिक हतियारको भण्डारस्थल युक्रेनसँग भएका अमेरिकी हतियारको पहुँचभन्दा धेरै टाढा सारिसकेको औंल्याउँदै आएको छ। अझ भित्र प्रहार गर्ने अनुमति दिए पनि खासै फरक नपर्ने उसले तर्क गर्दै आएको छ।
भर्खरै जर्मनीमा भएको युक्रेन सम्बन्धी एक बैठकमा अमेरिकी रक्षा मन्त्री लोएड अस्टिनले सोही कुरा दोहोर्याएका थिए।
तर युक्रेनले भने रूसी वायु सेनाको हवाई अड्डा र हतियार भण्डार बाहेक पनि तेल डिपोट र प्रशोधन केन्द्र लगायत अरू धेरै सामरिक महत्वका स्थानमा अमेरिकी हतियारले प्रहार गरे रूसलाई अप्ठ्यारो पर्ने जिकिर गर्दै आएको छ।
अमेरिकाले भने अन्य स्थानमा अहिले झैं युक्रेनले आफूले बनाएका ड्रोन र मिसाइलले हमला गर्न सुझाएको छ। तर युक्रेनले भने अमेरिकी हतियार प्रयोग गर्न पाए त्यस्ता हमला अझ प्रभावकारी हुने बताउँदै आएको छ।
अहिले युक्रेनलाई रूसभित्र बिना रोकटोक अमेरिकी हतियारले प्रहार गर्न दिए रूससँग अमेरिकाको सम्बन्ध धेरै बिग्रिने अमेरिकी रक्षा मन्त्रालय र खुफिया संस्थाहरूले बताउँदै छन्। ढिलो-चाँडो रूस-युक्रेन युद्ध रोकिएपछि रूससँगको सम्बन्ध सुधार गर्न अमेरिकालाई मुश्किल हुने भन्दै उनीहरूले युक्रेनलाई त्यस्तो अनुमति दिन नहुने बताइरहेको मानिन्छ।
तर आफ्नो कार्यकालको बाँकी रहेको केही महिनामा युक्रेनलाई युद्धमा बलियो ठाउँमा पुर्याएर पुटिनलाई वार्तामा बस्न बाध्य बनाउने बाइडेनको इच्छा रहेको बताइन्छ। नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपतीय चुनाव अघि नै इसराइल-हमासको युद्धविराम गराउने र युक्रेनलाई युद्धमा सफलता दिलाए आफ्नो विरासत अझ राम्रो हुने बाइडेनको ठम्याइ छ।
त्यसैले रक्षा मन्त्रालय र खुफिया संस्थाहरूको विरोधका बाबजुद युरोपेली देशहरूको आग्रह मान्दै उनले युक्रेनलाई रूसभित्र अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिने अनुमान गरिएको छ।
पछिल्ला केही दिनमा रूसले इरानमा बनेका मिसाइलले युक्रेनभित्र प्रहार गरिरहेकाले पनि बाइडेनलाई अनुमति दिन दबाब बढिरहेको छ। विगतमा रूसले इरानमा बनेका ड्रोन र रकेट अनि साना हतियारहरू मात्रै प्रयोग गर्ने गरेकोमा अब मिसाइल नै प्रयोग गर्न थालेको औंल्याउँदै युक्रेनलाई अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिन बाइडेनलाई सजिलो पनि हुनेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)