अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि प्रतिस्पर्धी कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच मंगलबार पहिलो पटक डिबेट भएको छ।
नोभेम्बर ५ तारिख मंगलबारको दिन अमेरिकामा चुनाव हुन लागेको छ।
राष्ट्रपतिको पदका लागि हालका उपराष्ट्रपति समेत रहेकी ह्यारिस डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार छिन् भने पूर्वराष्ट्रपति समेत रहेका ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदवार छन्।
राष्ट्रपति जो बाइडेनले चुनाव नलड्ने घोषणा गरेपछि डेमोक्र्याटिक पार्टीले ह्यारिसलाई अघि सारेको थियो।
मंगलबार फिलाडेल्फियामा भएको डिबेटमा ह्यारिसले आफ्नो पोडियमबाट अघि बढेर ट्रम्पसँग हात मिलाएर मैत्रीभावना देखाएकी थिइन्।
हात मिलाउँदै ह्यारिसले भनिन्, ‘लेट्स ह्याभ अ गुड डिबेट।’ जबाफमा ट्रम्पले भने, ‘नाइस टू सी यू।’
हात मिलाएर सुरू भएको डिबेटमा ह्यारिस सुरूदेखि नै आक्रमक देखिएकी थिइन्। ट्रम्पले भने उनीमाथि विभिन्न प्रकारका आरोपहरू लगाएका थिए।
उनीहरूबीच अर्थतन्त्र, गर्भपतनको अधिकार, आप्रवासी नीति, परराष्ट्र नीति, युद्ध लगायत विषयमा वादविवाद भएको थियो।
दुई जनाबीच करिब एक घण्टा ४५ मिनेट डिबेट भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ।
ह्यारिसले डिबेटमा ट्रम्पमाथि विश्वका नेताहरू हाँसिरहेको, कमजोर र गलतलगायत शब्दहरू प्रयोग गरेकी थिइन्। ह्यारिसले सन् २०२० को राष्ट्रपतीय चुनावको नतिजा पनि कोट्याएकी थिइन्।
ट्रम्पलाई ८ करोड १० लाख जनताले अस्वीकृत गरेको थप्दै ह्यारिसले भनिन्, ‘स्पष्टसँग भन्नुपर्दा उनलाई नतिजा स्वीकार्न गाह्रो भइरहेको छ।’
यद्यपि ट्रम्पले पुरानै कुरा दोहोर्याउँदै सन् २०२० को चुनाव धाँधली भएको र आफू नै बिजेता रहेको दाबी गरे।
उनले अनियन्त्रित हुँदै झुट्टा कुराहरू उल्लेख गरेको सिएनएनले समाचारमा लेखेको छ।
त्यस्तै डेमोक्र्याटहरूले गर्भपतन नीतिलाई समर्थन गरी जन्मिसकेको बच्चालाई मारेको लगायत आरोप लगाएका थिए। ट्रम्पले डेमोक्र्याटहरूमाथि गर्भ बसेको ९ महिनामा गर्भपतन गर्न दिने नीति ल्याएको आरोप लगाएका हुन्।
यसबारे ह्यारिस र एबिसीका समाचार प्रस्तोता लिन्से डेभिसले खण्डन गरेका थिए। ट्रम्पले ह्यारिसलाई मार्क्सवादी भएको आरोप समेत लगाए।
त्यसैगरी ट्रम्पले ओहायोमा हाइटियन आप्रवासीहरूले छिमेकीका घरपालुवा जनावरलाई नियन्त्रणमा लिएर खान थालेको भन्दै अफवाहलाई बढावा दिए।
‘उनीहरूले कुकुर खान थालेका छन्। जो मानिसहरू आएका छन्, उनीहरूले बिरालो खाइरहेका छन्,’ ट्रम्पले भने, ‘उनीहरूले त्यहाँ बस्ने मानिसका घरपालुवा जनावर खान थालेका छन्। र हाम्रो देशमा यस्तो भइरहेको छ, र यो लज्जाको विषय हो।’
दुबै जनालाई परराष्ट्र नीतिबारे पनि प्रश्न सोधिएको थियो।
गजामा भइरहेको युद्धबारे प्रश्नमा ह्यारिसले इसराइलसँग आफूलाई रक्षा गर्ने अधिकार रहेको बताइन्। यस्तै प्यालेस्टिनी नागरिकहरू पनि सुरक्षा र सम्मानका लागि उत्तिकै हकदार रहेको बताइन्।
ट्रम्पले भने आफू ह्वाइट हाउसमा भएको भए युक्रेन-रूसबीचको युद्ध र गजामा भइरहेको युद्ध नै नहुने दाबी गरे।
‘यदी म राष्ट्रपति भएको भए युद्ध नै सुरू हुने थिएन। यदी म राष्ट्रपति भएको भए रूसले कहिल्यै युद्ध सुरू गर्ने थिएन। म पुटिनलाई राम्रोसँग चिन्छु। उनले कहिल्यै युद्ध सुरू गर्ने थिएनन् र चार वर्षसम्म युक्रेनमाथि कुनै प्रकारको खतरा थिएन,’ उनले भने।
युक्रेनले युद्ध जितोस् भनेन् चाहाना हो भन्ने प्रश्नमा भने उनले युद्ध रोक्न चाहेको बताए। ‘म युद्ध रोक्न चाहन्छु,’ उनले भने, ‘युद्ध रोक्नु नै अमेरिकाको हितमा छ।’
युद्धमा धेरै मानिस मारिएको बताउँदै यसलाई वार्तामार्फत टुंग्याउनु नै उचित हुने उनको भनाइ थियो।
ह्यारिसले अन्तिममा आफू नै अमेरिकाको राष्ट्रपति हुने दाबी गर्दा ट्रम्पले भने अमेरिकाको इतिहासमै खराब उपराष्ट्रपति भएको बताएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)