अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका छन्।
हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार एक्कासी नौ वटा कसुर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन्।
अदालतमा सो मुद्दा हेर्ने 'ज्युरी' छान्न १०० जनाभन्दा बढीलाई अन्तर्वार्ताका लागि बोलाइसके पछि हन्टरले गल्ती गरेको स्वीकार गरेका हुन्।
सुरूमा उनका वकिलले 'अल्फर्ड प्ली' का लागि कुरा गरेका थिए। सन् १९७०मा सर्वोच्च अदालतमा हेन्री अल्फर्डलाई लागेको ज्यान मुद्दामा उनले आफू निर्दोष रहेको तर मृत्युदण्डबाट जोगिनका लागि 'सेकेन्ड डिग्री मर्डर' गरेको स्वीकार गरेका थिए।
योजना नबनाई गरिएको नियतवश हत्या र मानव जीवनको वास्ता नगरी चरम लापरवाहीका कारण ज्यान गएमा अमेरिकी न्याय प्रणालीमा त्यसलाई 'सेकेन्ड डिग्री मर्डर' भनिन्छ।
न्यायाधीशले उनको माग स्वीकार गरेर अल्फर्डलाई मृत्युदण्ड नदिएर 'सेकेन्ड डिग्री मर्डर'का लागि ३० वर्ष सजाय दिएका थिए।
अमेरिकामा बिरलै मात्रै प्रयोग हुने 'अल्फर्ड प्ली' दिन न्यायाधीशले माने अभियुक्तले गल्ती स्वीकार गरेपनि उनलाई निर्दोष मानिन्छ।
हन्टरले बिहीबार 'अल्फर्ड प्ली' मागे पछि भने सरकारी वकिलले कडा प्रतिवाद गर्दै उनी दोषी भएको जिकिर गरेका थिए। त्यसको केहीबेर पछि हन्टरले अप्रत्यासित रूपमा गल्ती गरेको स्वीकार गरेका थिए।
अमेरिकामा सरकारी वकिलसँग सहमति गरेर ठूलो सजायबाट जोगिन थोरै सजाय भएको कसूर स्वीकार गर्ने चलन हुन्छ। तर हन्टरले त्यस्तो सहमति नगरी एकतर्फी रूपमा गल्ती स्वीकार गरेका हुन्।
उनले गल्ती स्वीकार गरेपछि यो मुद्दामा सजाय निर्धारण भने राष्ट्रपतिको चुनाव पछि आगामी डिसेम्बरमा हुनेछ। उनले बढीमा १७ वर्ष कैद वा १३ लाख डलरसम्म जरिवानाको सजाय पाउनेछन्।
गत जुनमा मात्रै हन्टर बन्दुक किन्दा झुटो विवरण भरेको मुद्दामा दोषी ठहरिएका थिए। त्यसमा पनि सजाय सुनाइएको छैन र उनलाई त्यसका लागि छुट्टै २५ वर्षसम्मको जेल सजाय हुनसक्छ।
हन्टर दुर्व्यसनी भएको समयमा करसम्बन्धी दुई सामान्य कसुर उनले स्वीकार गरे करसम्बन्धी अरू कसूर र बन्दुक मामिलाको मुद्दा नचलाउने भनेर उनका वकिल र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका संघीय सरकारी वकिल डेभिड वेसबीच कुरा मिलिसकेको थियो।
तर ट्रम्प राष्ट्रपति हुँदा उनले नियुक्त गरेकी न्यायाधीश म्यारिएलेन नोराइकाले सो लेनदेन रोकेकी थिइन्। त्यसपछि बन्दुकसम्बन्धी र करसम्बन्धी छुट्टा-छुट्टै मुद्दा चले। बन्दुक सम्बन्धी मुद्दामा उनी दोषी ठहरिइसकेका छन् भने करसम्बन्धी मुद्दामा उनले गल्ती स्वीकार गरेका छन्।
उनले बन्दुकसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा परिवारका सदस्यले लामो समयसम्म बेइज्जती र दु:ख बेहोर्नु परेकाले फेरि परिवारले त्यस्तो नबेहोर्नुपरोस् भनेर गल्ती स्वीकार गरेको भनेका छन्।
अमेरिकामा संघीय मुद्दामा सजाय पाएकालाई राष्ट्रपतिले आममाफी दिनसक्छन्। तर अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुककै मुद्दा चल्दा पनि आफ्ना छोरालाई माफी नदिने भनिसकेका छन्।
बिहीबार करसम्बन्धी मुद्दामा हन्टरले गल्ती स्वीकार गरिसकेपछि बाइडेनले राष्ट्रपतिको हवाइजहाज चढ्ने बेलामा सोधिएको प्रश्नमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जन पियरले अहिले पनि माफी नदिइने बताइन्।
कर छलेको गम्भीर अभियोग हन्टरले स्वीकार नै गरिसकेका छन्। तर बन्दुक सम्बन्धी मुद्दा भने सामान्य खालको थियो र त्यो मुद्दा उनी अमेरिकी राष्ट्रपतिका छोरा भएका कारणले मात्रै लगाइएको थियो।
डेलावेयरको संघीय अदालतमा हालिएको बन्दुक सम्बन्धी मुद्दामा १२ जना जुरी सदस्यले सर्वसम्मत रूपमा जुनमा हन्टरलाई तीन कसुरमा दोषी ठहर गरेका थिए।
उनीमाथि सन् २०१८ मा बन्दुक किन्दा संघीय फारममा ढाँटेको, लाइसेन्स प्राप्त संघीय बन्दुक डिलरलाई ढाँटेको र ११ दिन गैरकानुनी रूपमा बन्दुक राखेको तीन अभियोग थिए। यी तीनै अभियोगमा उनी दोषी पाइएका थिए।
सन् १९६८ को बन्दुक नियन्त्रण सम्बन्धी संघीय ऐनले अपराधी, लागु पदार्थ दुर्व्यसनी र मानसिक अशक्तता भएकालाई बन्दुक राख्न दिँदैन। हन्टरले सो ‘ह्यान्डगन’ (एकै हातले चलाउन मिल्ने बन्दुक) किन्दा उनी क्र्याक-कोकिन (बालेर धुवाँ लिने कोकिन) को लतमा भएको पुष्टि भएको छ। तर उनले बन्दुक किन्न भरेको विवरणमा आफू लागुपदार्थ दुर्व्यसनी भएको कुरा लुकाएका थिए।
बन्दुक किनेको ११औं दिनमा हन्टरकी भाउजू (सन् २०१५ मा मृत्यु भएका बो बाइडेनकी श्रीमती) ह्यालीले सो बन्दुक हन्टरको गाडीमा भेटेकी थिइन्। कोकिनको लतमा रहेका हन्टरले गोली हानी आत्महत्या गर्न सक्ने डरले ह्यालीले उक्त बन्दुक नजिकैको सुपरमार्केटमा रहेको फोहोर फाल्ने भाँडोमा फ्याँकेकी थिइन्। त्यति बेला हन्टर र ह्यालीको 'अफेयर' चलिरहेको थियो।
द न्यूयोर्करका अनुसार बन्दुक फ्याँकेको हन्टरले थाहा पाएपछि ह्याली त्यो फिर्ता ल्याउन फेरि सुपरमार्केट गएकी थिइन्। तर फोहोरमा सामान खोज्ने एक ८० वर्षीय मानिसले बन्दुक लगिसकेका थिए। हन्टरले दबाब दिएपछि ह्यालीले बन्दुक हराएको भनेर पुलिस रिपोर्ट दिएकी थिइन्।
अभियोजनकर्ताले यो मुद्दामा ह्याली, हन्टरकी पूर्वपत्नी, पूर्वप्रेमिका लगायतलाई साक्षीका रूपमा पेस गरेका थिए। हन्टरका वकिलले भने बन्दुक किन्न फारम भरेका बेला हन्टरले लागुपदार्थ सेवन नगरेको र सो फारमलाई साँघुरो रूपमा बुझेको दलिल दिए। तर येल विश्वविद्यालयबाट कानुन पढेर सरकारी वकिलको जागिर समेत खाइसकेका हन्टरलाई त्यो फारमको अर्थ थाहा नभएको भन्ने कुरा जुरी सदस्यले मानेका थिएनन्।
यसरी नागरिकले बन्दुक राख्न पाउने व्यापक अधिकार भएको अमेरिकामा हन्टरले बन्दुक किन्दा ढाँटेको अभियोगमा उनी राष्ट्रपतिका छोरा भएकै कारणले उनलाई फौजदारी अभियोग लगाइएको थियो। जबकि उनले न त्यो बन्दुक पड्काएका थिए, न देखाएर कुनै अपराध गरेका थिए। किनेको ११ दिनपछि नै त्यो बन्दुक फोहोरको भाँडोमा फालिएको थियो।
त्यो मुद्दामा पनि हन्टरलाई सजाय भने सुनाइएको छैन। त्यसमा अधिकतम २५ वर्षसम्मको कैद सजाय हुन सक्छ। तर उनको आपराधिक विगत नभएकाले कैद सजाय नहुन सक्ने अनुमान पनि छ।
करछली गरेको गम्भीर मुद्दामा भने उनले आफैले गल्ती गरेकाले उनलाई कडा सजाय नै पनि हुन सक्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)