किन खस्क्यो एनआरएन अभियानप्रतिको आकर्षण?


गैरआवासीय नेपाली (एनआरएन) संघको विश्व सम्मेलनमा भाग लिन अहिले प्रवासी नेपालीहरू धमाधम काठमान्डु उत्रँदै छन्। तर विगतमा जस्तो एनआरएन अभियानको साख अहिले देखिँदैन। किन खस्क्यो एनआरएन अभियानप्रतिको आकर्षण?

सर्सती बुझ्दा संघ प्रवासी नेपालीहरूको छाता संगठन हो जसले प्रवासी नेपालीहरूको हित र नेपालको समृद्धिका निम्ति साझा प्लेटफर्म हुने ध्येय राखेको छ। र, यस उद्देश्यमा केही उपलब्धी भएका छन्। त्यस्तै, संसारभरि नयाँ नयाँ  राष्ट्रिय कमिटीहरू बनीरहेका छन्। सदस्य संख्या पनि बढीरहेकै छ। संख्यात्मक रूपमा संस्थाको विस्तार भैरहेको छ। तर गुणात्मक रूपमा संघको मर्यादा खस्कीएको छ। आकार त बढ्दै छ तर आकृति विकृत बन्दै छ।

संघको इज्जत अहिलेसम्म यसका अध्यक्षहरूले धानेका छन्। उपेन्द्र महतो, जीवा लामिछाने र शेष घले जस्ता अध्यक्षहरूको व्यक्तिगत लगानी र प्रभावले संस्थाको गरिमा धाने पनि संघको संस्थागत विकास हुन सकेको छैन। राष्ट्रिय कमिटीहरू खल्तीमा अफिस राखेर चलिरहेका छन् र संघ प्रवासी नेपालीहरूको बाझाबाझ गर्ने फोरम बनेको छ। र, यसको निम्ति अरू कोही होइन संघभित्र कै मान्छेहरू जिम्मेवार छन्। पछिल्लो समयमा जो जस्ता मान्छेहरू संस्थामा हावी भएका छन् तिनले एनआरएन अभियानलाई फिक्का बनाएका छन्।

एनआरएन संघ स्वयंसेवी संस्था हो। संघको नेतृत्वदायी भूमिकामा आउनु भनेको स्वभावतः समाज सेवा गर्ने इच्छा हो। समाजसेवा गर्नको निम्ति प्रतिस्पर्धा र हानथाप हुनु भनेको राम्रै कुरा हो। जुन हानथाप अहिले संघमा देखिन्छ त्यसमा चिन्ता नगर्दा पनि हुन्थ्यो। तर जब समाजसेवीको बिल्ला पाउन संस्थामा चरम गुटबन्दी र पैसाको खोलो बग्छ- आश्चर्यले प्रश्नचिन्ह खडा हुन्छ।

सय जना सदस्य संख्या नाघेको हरेक जसो राष्ट्रिय कमिटीहरूमा गुटबन्दी छ। यस्तो गुटबन्दी ज्यादातर जातिय वा राजनीतिक पार्टीको आधारमा ध्रुविकृत छ। अनि गुटबन्दीको नाइके नेपालमा नेविसंघ वा अनेरास्ववियुको राजनीति गरेका वा ब्यापारीहरू छन्। उनीहरू कै चलखेलमा यी यावत कुराहरू भइरहेका छन्। राष्ट्रिय कमिटीका निर्वाचन क्रममा विदेशी प्रहरीहरू बोलाउन पर्ने, अदालतको कठघरामा उभिने र सोसल मिडियामा संगठनको नाममा हिलो छ्यापाछ्याप गर्ने कामले यी स्वनामधन्य समाजसेवीहरूले समुदायको नाम चम्काउनुभन्दा धमिल्याउने काम ज्यादा गरेका छन्। तर यी समाजसेवीहरूलाई समुदायको इज्जतको चिन्ताभन्दा फेसबुक र केही अनलाइन पत्रिकाहरूमा चुरीफुरी देखाएर नेतृत्व लिन पाइन्छ की भन्ने ध्याउन्न बढी छ। जसका लागि राजनीतिक र जातीय कित्ताकाट गरेर गुटबन्दीको जोकर नाच गर्न मै ब्यस्त छन्।

राष्ट्रिय कमिटीहरूमा यही गुटबन्दीको खेल पास गर्नेहरू काठमान्डुको विश्व सम्मेलनमा प्रतिनिधित्व गर्दैछन् र उनीहरू नै नेतृत्वको दावी गर्दैछन् अहिले। यस्तैयस्तै मान्छेहरूले गर्दा संस्थाको ओज तेजोबध भएको हो र संघप्रति देशभित्र र बाहिरको आस्था धर्मराएको हो। कमजोर हैसियत भएकाहरूले संस्थागत र देश विकासका निम्ति आफूसँग प्रशस्त श्रोत, साधन, पुँजी, प्रविधि, भिजन र योजना छ भन्दा कसले पत्याउने? फलतः एनआरएन अभियान नाटकिय बन्दै गएको अनुभूत हुन थालेको छ।

शुरूशुरूमा यो अभियानमा नामी, दामी र ज्ञानी सप्तरंगी सहभागीता थियो। संस्थागत विकास नभए पनि नेतृत्व प्रबल थियो। तर संगठन विस्तार हुँदै जाँदा नेपाली राजनीतिको बिहारी संस्करणको रोगले संघ संक्रमित भयो। एक्का दुक्का अपवादबाहेक नाम र ज्ञान भएकाहरू पाखा लागे। दाम र बदनाम भएकाहरू हाटहुट गर्न थाले।

७६ देशमा शाखा बिस्तार भएको एनआरएन संघ ४० लाख प्रवासीको प्रतिनिधि संस्था मानिन्छ। यसका करिब ६० हजार सदस्य छन्। यो सप्ताहन्तमा काठमान्डुमा हुने विश्व सम्मेलनमा करिब २ हजार प्रतिनिधिहरूले भाग लिन नाम टिपाएका छन्। त्यसमध्ये करिब १५०० ले चुनावी प्रकृयामा भाग लिने अपेक्षा गरिएको छ। यी मतदाताहरूमा ८० प्रतिशत प्रतिनिधिहरूमा गुटबन्दीको प्रत्यक्ष छाप रहेको बताइन्छ जो विवेकलाई बन्धक राख्छन् र व्यक्तिगत फाइदाको भागबन्डा गर्छन्। अहिले गुटबन्दीमा नलागेका बाँकी २० प्रतिशत मात्र संघको नेतृत्व चयनमा विवेक प्रयोग गर्न सक्ने हैसियतमा छन्। यिनै हुन् निर्णायक मतदाता। यो वर्गले व्यक्तिगत सम्बन्ध र लाभभन्दामाथि उठेर हाटहुटेहरूलाई हतोत्साहित नगरे एनआरएन संघ प्रभावहिन र निष्फल हुने निश्चित छ।

यो संभावना किन पनि छ भने संघको केन्द्रीय नेतृत्व मै फाटो देखियो। विगत दुई वर्षमा केन्द्रीय नेतृत्वको उर्जा मनोमालिन्यले नै बर्बाद गर्यो। नेपालमा प्राकृतिक विपत्ति पर्दा सहयोग गर्न पुगे पनि आपसमा झगडा गरेरै बिताए। गुटबन्दीले ग्रस्त केन्द्र र राष्ट्रिय कमिटिहरूमा शुद्धिकरणको प्रयास त कुरै छाडी दिउँ जसले जुन तालमा डम्फू बजाए पनि चल्यो एनआरएन संघमा। जसले गर्दा समाजसेवाको नाममा एनआरएन संस्थाप्रतिको आस्था र शक्तिलाई आत्मतुष्टिको साधन बनाउन खोज्नेहरूको झुण्ड हावी बन्यो र एनआरएन शक्ति फिक्का हुँदै गयो।

संस्थाको यस्तो विषम परिस्थितिमा ‘भिजन २०-२० एण्ड बियोन्ड’ को चर्चा ल्याइएपछि संघमा अलिकति बुद्धिबिलासका कुरा आए। तर पेशागत वा बौद्धिक रूपमा सक्षम व्यक्तिहरू गुटबन्दीको शिकार भएर संस्थाबाट क्रमशः किनार लागेको अवस्थामा गतिलो तर्क र दृष्टिकोण कताबाट आउने? सायद यही खडेरीलाई बुझेर होला अध्यक्ष शेष घलेले ‘भिजन २०-२०’ को प्रारूपका निम्ति कुनै व्यवसायीक कन्सल्ट्यान्सीलाई सुम्पेका !

‘भिजन २०-२०’ को कुरा आफ्नो ठाउँमा छ। त्यसभन्दा पहिले निर्वाचनको मुखमा गहन छलफल हुनु आवश्यक कुरा हो- विदेशमा रहेका प्रबुद्ध वर्ग यो अभियानबाट बाहिरै किन रहे? अहिले संघको नेतृत्वका लागि बौद्धिक क्षमता भएका कति जना एनआरएनकर्मीहरूले रूचि राखेका छन्? उनीहरूलाई संस्थामा समाहित नगरेसम्म सीप, ज्ञान र बौद्धिक क्षमताका हिसाबले सिंगो संस्था र यसको योगदान कमजोर नै रहँदैन र ?

यी सारभूत प्रश्नहरूको गुरूत्वबोध गर्नु जरूरी छ। यदि एनआरएन संघको अनुहार उज्यालो बनाउने हो र यो अभियानलाई परिस्कृत र सजिव राख्ने हो भने सबै गाजेमाजे बिर्सीएर संघका वरिष्ठ र कनिष्ठ प्रतिनिधिहरूले संस्थाको नेतृत्वदायी भूमिकामा भिजन भएका र संस्थाको गरिमा धान्न सक्ने व्यक्तित्वहरू स्थापित गर्नुपर्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.