के हुदैछ एन आर एनको काठमाडौं सम्मेलनमा?


अर्को साता (अक्टुबर १४-१६) काठमाडौमा आयोजना हुने गैर आवासीय नेपाली संघको आठौँ माहाधिवेशनमा संसार भरका अपेक्षित रुपमा करिब २ हजार गैर आवासीय नेपाली हरु काठमाडौ हायात होटेलको परिसरमा झन्डै एक हप्ते गुड लगाउदै छन।

यो दौरानमा विश्वभर बाट एन आर एन तथा अन्य सामाजिक अभियानमा सक्रिय गैर आवासीय नेपाली हरुको सम्मेलन स्थलमा देखिने  ताँती अनी  नेपालका मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति  राजनीतिज्ञ देखी लिएर कलाकार, संचार कर्मी कर्मचारीतन्त्रका उपल्ला स्वरूपहरु समेतको  उपस्थितीले यो एन आर एन मेलालाई महामेलामा परिणत गरिदिन्छ। यसैविच देख्न पाईने चुनावी माहोलमा शक्ति केन्द्रहरुको सल्बलाहट, समर्थक र असमर्थक हरुका बैठक कोठाको उत्कर्सता अनी एकता विभाजन र अनेकताका अनेकन लिलाहरुको मन्चनले पनि यो सम्मेलनमा अनौठो उल्लास  र वितिष्णा दुवै थप्ने गर्दछ।

नेपाल बाहिरका तीसौं लाख नेपालीहरुको एक मात्र प्रतिनिधी मुलक संस्था बन्नु पर्ने र बन्न सक्ने हैसियत राख्ने एक मात्र संस्थाको हरेक दुई बर्षमा नेपालमा आयोजना हुने यो महाकुम्भ नजिकिदै गर्दा डायस्पोराको नेपाली समुदायले पर्दा अगाडी र पछाडी दुवै तर्फबाट चासोपूर्ण रुपमा हेर्नु स्वाभाविक नै छ।

मुख्यतया नेपाली संस्कारमा यत्र तत्र हुने अधिवेशन हरुमा जस्तै यो महाधिवेशनले पनि महत्वपूर्ण रुपमा आगामी कार्यकालको लागी नयाँ नेतृत्व सहितको सिंगो कार्यसमिती चयन गर्ने छ। यसका अलावा झनै महत्वपूर्ण रुपमा वर्तमान कार्यकालका बिभिन्न प्रतिवेदन उपर छलफल, संस्थाको भावी कार्यदिशा, विधी बिधान र निती निर्माण तहका गहन र दुरगामी दिशानिर्देश तय गर्ने कार्य पनि यो महाधिवेशनले गर्ने छ। तर निर्वाचन बाहेकका दोश्रो वाक्यांशका बुँदा हरुमा भने  उम्मेद्वारहरु र प्रतिनिधी हरु दुवैले  यसमा कम ध्यान केन्द्रित गरेको जस्तो देखिन्छ।

आफ्नो दुई कार्यकालको जिम्मेवारीको भारी बिसाउदै वर्तमान अध्यक्ष शेष घलेले आफ्नो बहिर्गमनको घोषणा गरि सकेका छन्। यस संग संगै अध्यक्ष घलेले संस्थाको भावी कार्यदिशाको रुपमा ‘भिजन २०२० एण्ड बियोन्ड’ नामक दस्तावेजको प्रस्ताव गरेका छन। उनले संस्था स्थापना पश्चातको एउटा चरण पार भईसकेको परिप्रेक्षमा आगामी दिनमा यो संस्थालाई कता डोर्याउने भन्ने सवालमा यो दस्तावेज आवश्यक रहेको जिकिर गरेका छन। दस्तावेजमा मुख्यतया संस्थाको काम कार्वाही र दैनिक कार्य संचालन सक्रिय सचिवालय मार्फत गर्ने गरी कार्यकारी हरुको भूमिका निती निर्माण तहमा रहने बताईएको छ।

अर्को तर्फ आलोचक हरुले यसले संस्थाको संस्थागत विकास भन्दा पनि बिजिनेस मोडेलमा ढाल्न खोजेको बताएका छन। उनीहरुले ‘भिजन २०२० एण्ड बियोन्ड’ ले अध्यक्षको शक्तिलाई मात्र बढावा दिन खोजेकोले परिमार्जनको आवस्यकता लाई औल्याएका छन। व्यक्तिगत दृस्टीकोण बाट संस्थागत भिजन बन्नु र भिजन माथिको बृहत छलफल बाट त्यो भिजन परिस्कृत र परिपक्क बन्नु स्वाभाविक प्रकृया हो। यसलाई  अन्यथा परिभाषित गरिनु हुदैन।

अध्यक्ष घलेको कार्यशैली प्रति असन्तुष्टी राख्ने हरुलाई बिर्सिएर हेर्ने हो भने उनको काम प्रतिको लगाव र सक्रियताको प्रशंसा गर्नु पर्ने हुन्छ। संस्थामा उनले व्यक्तिगत रुपमा अथक मिहीनेत पोखेका छन। संग संगै घले कार्यकालको सफलताको चर्चा गरिरहँदा संस्थापक अगुवाहरु उपेन्द्र महतो, जीवा लामिछाने लगायतका अभियान्ताहरु लाई आजको दिन सम्म यो संस्था ल्याई पुर्याउने थालनीको कदर संस्था प्रतिको  समर्पणको मुल्यांकन गर्ने पर्ने हुन्छ। अवमुल्यनका मनोदशा हरुलाई चिर्दै सोचको दायरा फराकिलो पार्नुको विकल्प हुदैन। ईतिहांसको सही मुल्यांकन गर्दै भविष्यको निर्माण गर्नु स्वाभाविक नै हो।

संस्थाको भविष्य लाई दिशा निर्देश गर्ने गरी ल्याईएको ‘भिजन २०२० एण्ड बियोन्ड’ जति आवश्यक देखिन्छ सोही अनुपातमा  यसमा रहेका सबै पक्ष हरुलाई राम्रो संग केलाएर परिमार्जन गर्नु पर्ने कुरालाई पनि वेवास्ता गर्नु हुदैन। यो परिप्रेक्षमा स्व अध्ययन र दृष्टीकोणको अभावमा  आगामी कार्यकालका लागी महत्वपूर्ण पदाधिकारीमा उम्मेद्वारी घोषणा गर्ने हरु समेत आफ्नो स्पष्ट धारणा बाहिर ल्याउन सकेका छैनन।

अहिले सम्म घोषित उम्मेदवारहरु  संस्थाको भविष्य कसरी सवल बनाउने भन्ने प्रति भन्दा पनि आफ्नो सिट कसरी सुरक्षित गर्ने  भन्नेमै  केन्द्रित देखिएका छन। पुरा गर्न नसकिने खालका र ठोस कार्ययोजनामा ल्याकत नराख्ने परम्परागत प्रतिवद्दताका ठेली हरु सार्वजनिक गर्दै सस्तो प्रचारवाजीमा उत्रिएका उम्मेदवार हरु बाट संस्थाले धेरै सुधार र परिवर्तनको आशा राख्न सक्दैन। एकातिर अघिल्लो पटक पद लिए पछी दुला पसेर फेरी अब चुनावको दौरानमा सक्रियता देखाउने उम्मेदवार हरु एकातिर छन् भने अर्को तर्फ साच्चिकै संस्थाको मायाँ र सद्भाव बोकेर आफ्नो समय समर्पण गर्नेहरुले पनि उम्मेदवारी निरन्तरता र पदोन्नतीको आकांक्षा देखाएका छन।

त्यसैगरी औचित्यहीन राजनैतिक कित्ताकाट गर्दै आफ्नो उम्मेद्वारीलाई दरिलो पार्न खोज्ने हरुको विगविगी पनि उत्तिकै छ। नेपालका राजनैतिक पार्टीहरु पनि अनावाश्यक राजनैतिक हस्तक्षेपमा उत्रिने परिपाटी दुखद छ।

झनै सम्बेदनशिल रुपमा संस्थामा जातीय कित्ताकाट नराम्ररी मौलाएको देखिन्छ। बिभिन्न जात जाती र जनजातीको समिश्रण बाट बनेको नेपाली डायस्पोरामा यस्तो संस्कारको विकास हुनु दुर्भाग्य पूर्ण छ। यस्ता खाले  प्रवृतीहरु  राष्ट्रिय समन्यव परिषद देखी अन्तराष्ट्रिय समिती सम्म अनौपचारीक तर दृश्य र खुल्ला रुपमै अभ्यासमा आएको कुरा  छर्लंग नै छ। यदी यो परिपाटी लाई चिर्न नसक्ने हो भने सिंगो नेपाली डायस्पोराको प्रतिस्थापन बिभिन्न धुर्विकरणका धार हरुले गर्ने हुँदा संस्थाको भविष्य धरापमा पर्ने निश्चित प्राय छ।

त्यस्तै संस्थामा संस्थागत विकासको अवधारणाले कम स्थान ओगटने गरेको कुरालाई पनि मध्येनजर गरिनु पर्ने हुन्छ। नेतृत्वकर्ताको क्षमता र लगनशीलता बिना संस्थाको दुरगामी विकास हुन सक्दैन तर यसो भनिरहँदा संस्था भन्दा व्यक्ति सर्वोपरी बनाउदै जाने हो भने भोलि संस्था गौण र व्यक्ति प्रार्थमिक बन्नेछ र यसले संस्थागत मान्यतालाई कुल्चेर व्यक्तिवादी चरित्रहरू लाइ हावी बनाउदै लैजाने छ।

मातृभूमी नेपाललाई पूजनीय रुपमा माथा चढाउने संसारका लाखौ लाख नेपाली हरुको भावानालाई समेट्न सक्ने गरी एन आर एन अभियानको विकास हुनु आजको आवश्यकता हो। गैर आवासीय नेपाली हरुको हक हित र अधिकार लाई स्थापित गराउन र नेपालको आर्थिक सम्व्रिद्दीमा टेवा पुग्ने गरी गैर आवासीय हरुले गर्न सक्ने लगानी र परोपकारी कार्यहरु लाई दिगो रुपमा संस्थागत समन्वय गर्नु पर्ने गहन जिम्मेवारी एन आर एनका अगुवा हरुमा निहीत रहेको छ।

डायस्पोरामा हुर्किदो दोस्रो पुस्ताका नेपाली नौजवान हरुलाई नेपाल र नेपाली संस्कार संग कालान्तर सम्म दरिलो गरी जोड्नु पर्ने अत्यन्तै गहिरो र भावनात्मक उद्देश्य प्राप्तिको लागी एन आर एन को अभियान केन्द्रित नभए सम्म हाम्रो भविष्य अनिश्चित र अपुरो रहने छ। त्यसैगरी विदेशमा रहेका प्रवुद्द वर्गहरुको ठुलो झुण्ड  यो अभियान बाट बाहिरै रहेको छ। उनीहरु लाई संस्थामा समाहित गर्न नसकेसम्म सिप ज्ञान र क्षमताको हिसावले सिंगो संस्था र देश नेपाल समेत प्रवुद्द हरुको योगदान बाट बन्चित रहने छ।

यस्तै यस्तै अनेकन तर अत्यन्त महत्वपूर्ण सवालहरुलाई हृदयंगम गर्न सक्ने उम्मेदवार हरुको पहिचान र उनीहरुको जित सुनिश्चित गर्ने कर्तब्य अर्को हप्ता काठमाडौं भेला हुने एन आर एन महाधिवेशन प्रतिनिधी हरुको काँधमा आईपरेको छ। यसको लागी व्यक्ति, राजनिती र सम्प्रदाय बाट माथी उठेर सक्षम र योग्य उम्मेदवारको चयनमा ध्यान केन्द्रित गर्ने भन्दा पनि बिभिन्न गुट उपगुट व्यक्तिगत चरित्रहरू लाई हावी बनाउने प्रचलन बाट सहभागी प्रतिनिधी हरुले छुटकारा दिलाउन  सकुन भन्ने कामना मात्र गर्न सकिन्छ।

नेपाललाई गर्नु पर्ने र गर्न सक्ने जती नगरेको, धनीमानी हरुको एउटा क्लबको रुपमा संस्थालाई डोर्याउने गरेको, दशैं तिहार पार्टी गर्न र छुट्टी मनाउनकै  खातिर नेपाल सम्मेलनमा भेला हुने गरेको, फेशबुक र मेडियाको चुरीफुरी देखाउदै आफ्नो सामाजिक वर्चस्व कायम गर्न खोजेको जस्ता आरोपहरु एन आर एनले सामान्यतया खेप्दै आई रहेको छ। तमाम आलोचना र वितिष्णाको बावजुत पनि यो संस्थाले नेपाल र नेपालीको लागी केही नगरेको भन्ने कुरामा भने सत्यता छैन। नेपाल दुख्दा आफ्नो मुटु दुखेको सम्झिने सिंगो  विदेशको नेपाली जमात लाई समग्र आरोपहरु बाट मुछ्न खोज्नु कदापी न्यायोचित हुन सक्दैन।

एन आर एन अभियानको अगुवाई नहुदो हो त आज नागरिकता लगायतका मुद्दामा गैर आवासीय नेपालीहरु भावानाको सुनुवाई हुन् सक्दैन थियो भन्ने उदाहरण मात्रैलाई  पनि यो संस्थाको औचित्य पुष्टी गर्ने प्रयाप्त अधार मान्न सकिन्छ। यसका अलावा नेपालमा हुन सकेको धेर थोर लगानी बाट सृजित आर्थिक विकास, विपद व्यवस्थापन र पुनर्स्थापनामा भए गरेका परोपकारी कार्यहरु, नेपालका नेपाली र विदेशका नेपालीलाई जोडने सेतुको विकास र संजालको निर्माण लाई हेर्ने हो भने एन आर एन प्रतीको असन्तुष्टी प्रयाप्त मात्रामा घटाउन सकिन्छ। सकारात्मक पाटाहरुमा धेरै नजर लगाउने अभ्यासको थालनीले नकारात्मकता स्वत चिर्न सक्छ भन्ने मान्यताले अभियान्ता र समर्थक हरुलाई थप उर्जा प्रदान गर्ने छ।

जे होस काठमाडौ लाई एन आर एन मय  बनाउदै धमाधम नेपाल भित्रिदै गरेका महाधिवेशन प्रतिनिधी तथा उम्मेदवार हरुले संस्थागत मुल्य मान्यता लाई सर्वोपरी ठान्दै व्यक्तिगत कुण्ठा र द्वेष त्याग्दै कुशल  नेतृत्व र संस्थाको  सही मार्गचित्र तय गर्न सकुन भन्ने कामना संस्था प्रति सन्तुष्ट  र असन्तुष्ट दुवै रुपमा रहेका विदेशका लाखौ नेपालीहरुको  छ। यसलाई सबैले आत्मसात गर्न सकेमा मात्रै गैर आवासीय नेपालीहरुको तागतमा नेपालका नेपालीले र नेपाली हुनुको गौरवपूर्ण विरासतमा गैर आवासीय नेपालीले कालान्तर सम्म गौरव गर्न सक्ने छन।

अन्यथा लगाईने गरेको आरोप जस्तै तारे होटलका पार्टी र भोजहरुको तस्वीर सामाजिक संजालमा झुण्डाउदै आत्मरतीको सन्तुष्टीमा रमाउनु सिवाय भेटघाट र छुट्टी मनाउने राम्रो बाहनामा मात्रै सिमित बन्दै कर्मकाण्डी रुपमा यो सम्मेलनको परम्परागत समापन हुनेछ।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.