हिउँ परेको बेलामा मात्र कालिञ्चोक सम्झिने एक खालका पर्यटकहरू अहिले पनि छन्। तर, दोलखाको कालिञ्चोकमा जुनसुकै सिजनमा पुग्दा छुट्टै आनन्द आउँछ। मौसम खुलेको बेलामा हिमश्रृंखलाले जोकोहीको मन तान्न तयार देखिन्छ कालिञ्चोक। गौरीशंकर हिमालले झनै नजिक तानेको भान हुन्छ।
कालिञ्चोकमा वर्षायाममा हरियालीले सुन्दरता थपिएको हुन्छ भने हिउँदमा हिउँले। अरूबेला मंसिर, पुसमा हिउँ पर्ने गथ्र्यो। अहिले पुस सकिन लाग्दा पनि हिउँ पर्ने कुनै छाँटकाँट देखिन्न। तर पनि कालिञ्चोक भगवतीको दर्शन गर्न र खुला कुरी बजार, हिमश्रृंखला र केबलकार चढ्नकै लागि पनि दैनिक हजारौं पर्यटकले भरिएको हुन्छ कालिञ्चोक।
चरिकोटबाट १७ किलोमिटर टाढा रहेको कोलिञ्चोक जानलाई सडक पक्की बनेका छन्। साना ठूला सबै खालको गाडीहरू सहजै गुड्छन्। पर्यटकहरू काठमाडौंलगायत छिमेकी जिल्लाबाट शुक्रबार बिहान आएर शनिबार दर्शन गरेर फर्किन्छन्।
कालिञ्चोकको दर्शन गर्न भारतीय पर्यटक समेत बढ्न थालेका छन्। भारतबाट कालिञ्चोक भगवतीको दर्शनको लागि दैनिक सय जनाभन्दा बढी आउन थालेका छन्।
कालिञ्चोक धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा सुन्दर मानिन्छ। समुन्द्री सतहबाट ३८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक मन्दिरमा भारतबाटै गाडी रिजर्भ गरेर आउने गरेका छन्।
पछिल्लो समय होटल व्यवसाय ओरालो लागिरहेको बेलामा कालिञ्चोकमा भारतीय पर्यटकहरूको आगमनले कालिञ्चोक कुरीका होटल व्यवसायीहरू भने खुसी छन्।
नयाँनयाँ होटलहरू थप्ने क्रम बढ्दो छ। फोनबाटै शुक्रबार र शनिबारको लागि होटल बुकिङ भइरहेको छ। अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुम्ने बानी नै बसिसकेको छ। नयाँ नयाँ गन्तव्यको खोजी गर्दै घुम्नेको संख्यामा वृद्धि आइरहेको छ। स्थानीय सरकारले पनि पर्यटकको लागि पूर्वाधार निर्माण गर्न थालेका छन्।