नेपालका दुई छिमेकी मुलुकका व्यवसायीहरु पम्मिलित ट्राभल एक्स्पो काठमाडौंमा आयोजना हुने भएको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वयमा २१ देखि २४ फेब्रुअरी २०२० मा उक्त एक्स्पो आयोजना गर्न लागेको हो।
यसबाट भारत र चीनमा नेपालको पर्यटन प्रबर्द्धन हुने र नेपाली टुर अपरेटरहरुले प्याकेज बिक्री गर्न सक्ने पाटाको विश्वास रहेको छ।
'दक्षिण एशिया तथा विश्वकै दुई ठूला अर्थव्यवस्था एवम् बृहत पर्यटन स्रोतबजारहरुको बिचमा नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता एवम् प्राकृतिक सौन्दर्यता नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तारका लागि महत्वपूर्ण आधार एवम् स्रोत हुन । चीन र भारत विश्वकै दुई ठूला बृहत पर्यटन स्रोतबजार हुनुका साथै नेपालका निम्ति पनि प्रमुख पर्यटक आगमन हुने मुलुक हुन्। त्यसैले यसबाट नेपालले धेरै लाभ लिनसक्छ' पाटा नेपालका अध्यक्ष सुनिल शाक्य भने।
कार्यक्रमले नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्ति तथा सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य प्राप्तिको लागि महत्वपूर्ण आधारशीला तयार पार्ने पाटा नेपालको विश्वास रहेको छ।
एक्स्पोमा २०० भन्दा बढी क्रेताहरु, १०० बिक्रेताहरु, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढि सहभागिहरु तथा अतिथिहरुको सहभागि हुने पाटाको अनुमान रहेको छ।