चराजस्तै आकाशमा उड्दा….

तस्बिरः सेतोपाटी


जीवनको पहिलो प्याराग्लाइडिङ उडान हुनुअगाडि नै मेरो मन उडिरहेको थियो। म सोँचिरहेको थिएँ– कस्तो देखिएला पोखरा, कस्तो होला माछापुछ्रेलगायतका हिमशृंखला अनि कस्तो देखिएला आकाशबाट फेवाताल र कस्तो होला आकाशको चराजस्तै उड्दा। के साच्चिकै फरक होला हवाइजहाज र प्याराग्लाइडिङको उडानको आनन्द?

हो, यस्ता विषयले मेरो मनमा बहस गरिरहेका थियो। उता मस्तिष्क भने केही तर्क गर्दै थियो। सबैले मलाई डर लाग्छ भनेका थिए। त्यसैले द्विविधामा थिएँ। कतै बेलुनलाई हावाले उडाएर कुनै रूखमा झुन्ड्याउने त होइन? कुनै खोँचमा अथवा भीरमा झार्ने त होइन? तर्कले मनमा डर जमाउँदै गर्दा लेकसाइटस्थित फ्लाइङ बुद्धबाट फोन आयो। ‘ल अहिलेनै आइहाल्नुहोस् है। पहिलो फ्लाइटमा उड्नुपर्छ।’ जब म प्याराग्लाइडिङको अफिस फ्लाइङ बुद्ध पुगेँ मलाई डर लाग्न थालिसकेको थियो।

म पुगेको केही समय पछि दुई भारतीय महिला पनि त्यहाँ आइपुगे। उनीहरू दुबै उड्नकै लागि आएका थिए। उनीहरूलाई हेरेँ- म भन्दा मोटा, उमेरले पनि पाका थिए। अलिक हल्का भयो- उनीहरूले त सक्छन् भने म के कम। केही समय पछि थप दुई विदेशीहरु पनि त्यहाँ आइपुगे। हामी पाँच जना यात्रु र पाइलट पाँच जना गरी दश जनालाई फ्लाइङ बुद्धको गाडीले सराङकोट लाग्यो।

बाटोभरी मैले खुला आकाशमा उड्दाको रमाइलो र केही डर मात्र सोचिरहेँ। बेला बेला ती भारतीय महिलाहरू तिर हेर्थेँ उनीहरू निर्धक्क थिए। संयोगले त्यो दिन पोखरा पुरै खुलेको थियो। एसो उत्तरतिर हेर्‍यो भने आँखै अगाडि आउने हिमशृंखला थिए। झन रोमाञ्चित हुन पुगेँ। यहाँबाट त यो हिमाल यस्तो देखिन्छ भने झन आकाशमा माथि गएर हेर्दा कस्तो देखिन्छ होला!, सोचेर एकाएक रोमाञ्चित हुन थालेँ।

हरेक दिनजसो धुलो र धुँवाले आक्रान्त काठमाडौंबाट केही दिन पोखरा आएको मलाई यहाँको वातावरण र मौसमले मोहनीझै लगाएको थियो। साच्ची भन्नुपर्दा काठमाडौंको तुलनामा पोखरामा त फोहोर र धुलो धुँवा खोजेर पनि भेटिदैन थियो।

म पोखरामा गएर प्याराग्याईडिङ उड्ने भनेपछि साथीहरूले जिब्रो टोकेका थिए। मलाई अनेकन डर देखाए। हल्का डर लाग्नु स्वभाविक नै थियो। दुनियाँले गरेका छन् म किन डराउने, त्यही पनि म अरूको करले होइन रहरले पो उड्न आएको भन्ने लाग्यो। अन्ततः डरले भन्दा रहरले जित्न थाल्यो।

गाडी सराङकोटको डाँडामा पुग्यो। त्यहाँबाट वरिपरी हेरेँ। आँखाले देखेजति जताततै रमाइलै मात्र लाग्यो। पछाडि फर्किए माछापुछ्रेले पनि हौसला दिएर त सक्छेस जाँ भनेर मुस्कुराइरहे जस्तो लाग्यो।

हामी त्यहाँ पुग्दासम्म आकाश भरी चरासरी प्याराग्लाइडिङ उडिरहेका थिए। हामी पाँच जना मध्ये मेरो पालो अन्तिममा थियो।

१० वर्षको अनुभवी पाइलट रेवतीदाईले मलाई प्याराग्लाइडिङको लागि तयार पार्दै सिकाउन थाल्नुभयो। ‘दायाँ बायाँ नहेर्ने सिधा अगाडि डाँडामा हेर्ने, जब म रन भन्छु अगाडि तर्फ दौडने,’ म भन्दा पहिले चार जना उडिसकेका थिए, तर कोही पनि निर्देशन अनुसार उडेका थिएनन्।

उहाँले मलाई भन्दै हुनुहुन्थ्यो जस्तो ‘विङ’ (त्रिपालजस्तो प्याराग्लाइडरको माथिल्लो भाग) कसरी फुल्छ र विङबाट कसरी ‘लाइन्स’ र ‘राइजर्स’ (विङबाट झरेका त्यान्द्रातुन्द्री) ले उड्न सहयोग गर्छन्। यस्तै, उडानमा महत्वपूर्ण ‘हार्नेस’ र ‘स्पिडबार’ बारे पनि जानकारी भयो। पाइलट र यात्रुको सिटबारे थाहा भयो।

हावाले विङ फुलाएपछि पछाडि धकेल्न खोज्छ तर पाइलटले ‘रन’ भनेपछि सिधा अगाडि नै कुद्नुपर्छ। अगाडि कुदेपछि बस्नु वा पछाडि हल्लिनु हुँदैन। यी सबै सिकेर उड्न तयार भएँ।

विङलाइ हावाले फुलाएर उड्न लाग्दा हावाको गति फेरियो र हाम्रो कुदाइ अनि टेक अफ एकै पटकमा सफल भयो।

विङ फुलाएर पाखाबाट कुदेपछि एक छिनमै हामी आकाशमा पुग्यौ। अब म हेर्न थालेँ- आकाशबाट सुन्दर नगरी पोखरा। आहा! स्वर्गमै पुगेको अनुभूती भयो।

माछापुछ्रेलले पनि हाम्रो साहसिक यात्रालाई रमाइलो मानेर मुस्कुराइ रहेको थियो। हरियो क्यानभासको पेन्टिङमा एउटा धर्कोजस्तो देखियो सेती नदी। कति धेरै घरहरू माथिबाट हेर्दा पो थाहा भयो पोखरामा पनि काठमाडौंकै जस्तो बाक्लो घना बस्ती रहेछ। अनि ठूलो निलो र सफा फेवाताल कस्तो रमाइलो।

म पोखरामको रमाइलोमा व्यस्त थिएँ। पाइलटले भिडियो अन गरेर स्टिक तेर्स्याए।

बेला बेला रेवती दाईले भन्दै हुनुहुन्थ्यो ‘डर त लागेको छैन नि, डर लाग्यो भने भन्नुस् है।’ मलाई डर भने फिट्टीकै लागेको थिएन, म आफैंलाई अचम्म लागिरहेको थियो। घरको छतबाट तल हेर्दा डर लाग्ने मलाई प्याराग्लाइडिङ गर्दा किन डर लागेन? सायद रहर भनेकै यही होला।

हामी माछापुच्छ्रेको फेदी हुँदै फेवाताल तर्फ अघि बढ्यौ, ताल छेउ पुगेपछि पाइलटले सोध्नुभयो, ‘फ्लिपिङ गर्ने हो? मैले भने,- गरौ न! उहाँले फ्लिपिङ गर्न सुरू गर्नुभयो। केहिछिन पछि मलाई रिंगटा लागे जस्तो भयो। भयो अब भने। उहाँले सोध्नु भयो- किन डर लाग्यो? मैले भने, ‘होइन रिङ्गटा लागेजस्तो भयो।’

पाइलटले फेरि अगाडि त्यसरी नै फ्लिपिङ गरिरहेको देखाउँदै भन्नुभयो- ऊ त्यहाँ हेर्नुहोस् त, त्यो देखेर मलाई फेरि गर्न मन लाग्यो। उहाँले सोध्नुभयो फेरि गर्ने हो? मैले हुन्छ गर्ने भनेपछि फेरि तीन चार मिनेट फ्लिपिङ गर्‍यौं। हामी त्यति बेला फेवातालको मध्य भाग तिर थियौ।

करिब ४५ मिनेटको उडान पछि हामी ल्याण्डिङको तयारीमा लाग्यौ। त्यहाँ न प्लेनको जस्तो हुँदो रैछ न डर नै। वरीपरि सबै आफ्नो जस्तै लाग्ने मलाई जताततै रमाइलै मात्र लागिरहेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.