हिउँ पर्‍यो, उठ सन्दकपू!

हिउँ पर्‍यो, उठ सन्दकपू!


बिहान ४ बजे ब्यूँझिएँ।

खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

आत्तुरीमा भित्र पसेँ अनि विनोदलाई उठाएँ। मोरोले पत्याएन कि क्या हो! अल्छी गर्दै उठे। म जुत्ता लगाउन थालेपछि मात्र उसलाई पत्यार भएछ। दुई फोटोग्राफर एउटा क्यामारा। ट्राइपड विनोदलाई हतार लगाउँदा दोकानभित्र नै रहेको अहिले याद भो। एउटा डस्टबिन, केही पेपर न्यापकिनका प्याकेटहरू, हेडलाइट, टर्च बोकेर दुई भाइ निस्कियौं। भर्जिन हिउँ टेकेर पहिले फोटोस्पट छान्यौं। त्यसपछि डस्टबिन हिउँमा गाड्ँयौं र क्यामरा मिलायौं। बिहानको साढे चार भइसकेको थियो। स्लो सटरस्पीडमा टर्च र मोबाइलको फ्लास प्रयोग गर्दै निक्कै कोशिस गर्र्यौं। एकदुइटा गज्जपको रिजल्ट आयो।

पाँच बजेको पत्तै भएन। हामी हल्ला गर्न थाल्यौं।

‘हिउँ पर्यो, उठ सन्दकपू’ भन्दै जोडजोडले चिच्याउँदै उफ्रियौं।

आम्मामाम्! एकैछिनमा सन्दकपूमा कुनै उत्सवजस्तै वातावरण भयो। वल्लो छेउदेखि पल्लो छेउ, तल्लो गहिरीबाट माथिल्लो डाँडा, हाम्रो क्यामराको फुर्सद नै थिएन। विदेशी पर्यटकहरू शान्त र आनन्दित देखिँनथे।

ढाकाको एक पर्यटकले ‘माइ बेस्ट टाइम एभर इन सेभेरल ट्रेक हियर’ भन्दै मेरो हिउँको केश लगाएको नक्सा खिचेर बङ्ग्लादेश पुर्याउने भए। कालेबुङको सेन्ट अगस्टिनका छात्रहरू हिउँमा सुल्सुले खेलेको दृश्य साह्रै मज्जाको थियो। बङ्गाली ठिटाहरू ‘सन्दकपू जिन्दावाद जिन्दावाद’ भन्दै कुदिरहेका थिए। पारी फालुट जाने बाटो पनि सेताम्मे देखिरहेको थियो। ठिक्क क्षितिजमा कंचनजंघा, मकालु, ल्होत्सो अनि एभरेष्टजस्ता हिमालयका विशाल पर्वतहरूले आकाश र धरतीको समागम दर्शाइरहेका थिए। स्वर्गको अस्तित्व आस्था हो कि भ्रम कसैले किटान गरेर भन्न सक्दैनन्, तर छ नै भनेपनि यहाँको आजको दृश्यभन्दा धेर चाँही पक्कै होइन, यो कुरोमा म विस्वस्त छु।

घडीले आठ हान्नु आँटेको बेला शेर्पा स्यालेको बहिनी ज्वाईंबाट निम्तो आयो। तातात्तो खाजा खाँदै खबर पायौं- हिउँले गर्दा फालुट जान नसकिने कुरा। छिट्टो भए आधा दिन भए पनि दोकान खोल्ने लोभ जागिहाल्यो मलाई। आखिर फुलटाइम त म व्यापारी नै त हुँ। हामीले गुणको ऋणको बोझलाई धन्यवादी वाक्यहरूले पखालेर अलि हलुङ भएर अन्तिमपल्ट सन्दकपूलाई हेर्यौं अनि ओह्रालो गुर्दुमको बाटो पछ्याउन थाल्यौं। निक्कै तलसम्म हिउँ भेट्यौं।

गुराँसघारी र मालिङ्गोघारी हुँदै लगभग १० बजेतिर गुर्दुम फरेष्टको सिरानमा रोकियौं। तलनेर गुराँस र आरूचाका फूलहरूमा सजिएको हरियो गाउँ। क्या दाम्मी देखिराकोथ्यो। माथि छाडिएको डाँडाहरू हेर्यौं। ती डाँडाहरूमाथि उडिरहेका सेता बादलहरू हेर्यौं। त्यहाँ हामीले याक्सोको लाडिकी सम्झ्यौं। विनोदको क्यारिकेचर अब्बल थियो।

‘याक्सो यहाँ भा हान्थ्यो होला,’ मैले भनेँ। गाउँ पसेपछि गुराँससित निकै लुट्पुटियौं। गुराँसको फेदमुनि एकअर्काको फोटो खिच्यौं। झर्यौं फेरि रिम्बीक ताकेर। तल सिरीखोलाको साँघुमा आउनेबित्तिकै गाडी पनि भेट्याइहाल्यौं। सञ्चो भो। एकैछिनमा तेर्सै-तेर्सो गुडेर रिम्बीकमा रोकियो त्यो गाडी। ठ्याक्क २४ घण्टामा दोकानको सटर उघारे। म ग्राहकहरू हेर्न थालेँ, विनोद फोटोहरू डाउनलोड गर्न थाले।

दर्जनौंपल्टको ट्रेकहरूमा सबैभन्दा छोटो तर सबैभन्दा मिट्ठो अनुभूति!

 

 

(दार्जीलिङ घर भएका विकास आले घुम्न र फोटो खिच्नका सौखिन हुन्। अालेको जहाँ पुगेको हो, त्यहाँको तस्बिरका साथ जनजीवन, वातावरण, संस्कृतिलगायत पक्ष चित्रण गर्दै लेखेको कविताको पुस्तक प्रकाशित छ।)

– See more at: http://setopati.com/blog/67724/#sthash.ORet7DBP.dpuf

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.