सुदूरपश्चिमको डडेल्धुरा नेपालमा धेरै कारणले परिचित छ। परिचित मात्र होइन चर्चित नै छ। मैले यस जिल्लाको बारेमा सुन्न थालेको धेरै वर्ष भइसक्यो।
साहित्यकार ताना शर्माले लेखेको 'घनघस्याको उकालो' निबन्ध पढेको थिएँ। डडेल्धुरा भ्रमणका क्रममा त्यो उकालो अलिक टाढाबाट भए पनि आँखाले देख्न पाएँ।
पहिलो पटक बस यात्राबाट डडेल्धुरा पुगेर घनघस्या क्षेत्रको नांगो अक्करे भिर देखेपछि निबन्धको एक फेरो स्मृति भएको थियो। आफू त्यो उकालो हिँड्दै गरेको भाव उत्पन्न भएको थियो। त्यसयता मैले धेरै पटक यस जिल्लाको र डडेल्धुरा बजारको यात्रा गरेको छु। म कति पटक डडेल्धुरा पुगेँ भन्ने प्रस्ट सम्झना छैन।
नेपाल पत्रकार महासंघले २०६६ सालमा बैतडीको पाटनमा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार भेलामा सहभागी हुन जाँदा पहिलो पटक डडेल्धुरा बजार पुगेको थिएँ। त्यस बेला म नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष थिएँ। त्यसपछि धेरै पटक डडेल्धुरा जिल्लासँग साक्षत्कार गर्ने अवसर पाएको छु।
'हिल स्टेसन' मा प्रभावशाली देउवा
डडेल्धुराका पत्रकार साथीहरूसँग मेरो आत्मीय सम्बन्ध छ। प्रत्येक यात्रामा नौलो अनुभूति सँगाल्छु, यात्रा रमाइलो लाग्छ। पछिल्लो समयमा निकै द्रुत विकासको गतिमा छ यो जिल्ला। यहाँको सदरमुकाम बजार कुनै प्रसिद्ध 'हिल स्टेसन' जस्तो छ। ठूल्ठूला घर र ठूला सपिङ मल छन्।
बागबजारबाट तुफानडाँडा हुँदै पोखरासम्म लम्बेतान भएर फैलिएको छ डडेल्धुरा बजार। सुदूरपश्चिम क्षेत्रकै व्यवस्थित र चर्चित स्वास्थ्य संस्था यहीँ छ। गैरसरकारी संस्थाहरूको चहलपहल छ, जनजीवनमा तिनका गतिविधिको बलियो प्रभाव छ।
उग्रतारा भगवती र घटालबाबाको दिव्यभूमि हो डडेल्धुरा। यस कारणले पनि चर्चित छ। पछिल्ला दिनमा बढी चर्चा हुने मूल कारण भने राजनीतिक नै हो भन्दा अस्वाभाविक हुँदैन। पाँच पटक मुलुकको प्रधानमन्त्री र दुई कार्यकाल नेपाली कांग्रेसका सभापति भएका नेता शेरबहादुर देउवाको जन्मभूमि हो डडेल्धुरा।
गन्यापधुरा गाउँपालिकाको असिग्राम गाउँ हो देउवाको जन्मथलो। उनी २०४८ सालदेखि हालसम्म प्रत्येक पटकको संसदीय निर्वाचनमा निर्वाचित हुन सफल एक मात्र नेता हुन्। उनको राजनीतिक सक्रियताले डडेल्धुरा निकै प्रभावित र लाभान्वित छ।
डडेल्धुरा विकासको अनन्त सम्भावना रहेको जिल्ला हो। स्थानीयवासीहरूका अनुसार जिल्लाको विकासका लागि गर्न सकिने काम धेरै छन्। यसनिम्ति उनीहरूलाई राजनीतिक नेतृत्वको थप सक्रियताको अपेक्षा छ। केही नीतिगत व्यवस्था गर्न सकिए यो जिल्ला सुदूरपश्चिमको मात्र होइन, देशकै शैक्षिक हब बन्न सक्ने सम्भावना छ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूसँग तुलना गरेर डडेल्धुरा समदुरीको मानिन्छ। अन्य जिल्लाबाट डडेल्धुरासम्मको दुरी लगभग उस्तै छ।
सुदूरपश्चिमका पहाडी जिल्लासँगै कर्णालीका कालीकोट, मुगु, हुम्लाजस्ता विकट जिल्लाका बासिन्दा पनि तुलनात्मक रूपमा छोटो दुरी तय गरेर डडेल्धुरा पुग्न सक्छन्। यसै कारण यस क्षेत्रका बासिन्दाका लागि उपचारको केन्द्र बन्दै छ डडेल्धुरा।
यस आधारमा यो हिल स्टेसनलाई सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाका सन्दर्भमा चिकित्सा केन्द्रका रूपमा विकसित गर्न सकिने बलियो सम्भावना छ। यहाँ जडीबुटी प्रशोधन कारखाना खोलेर निकै ठूलो संख्यामा प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ।
हगुल्टाबाट महाकालीसम्म पदमार्ग निर्माण गरी महाभारत क्षेत्रलाई भारतको चर्चित पर्यटकीय नगर चम्पाबतसँग जोड्न सकिन्छ। यसमा स्थानीयवासीको गहिरो चासो छ।
भारतको उत्तराखण्डमा हरेक करिब ४० लाख धार्मिक पर्यटक आउने अनुमान छ। महाकालीमा पुल हालेर उत्तराखण्डको पूर्णागिरि जोड्न सके भगवान विष्णुको पूर्ण मानवअवतार मानिने जोगबुढास्थित परशुरामधामले सुदूरपश्चिमकै कायापलट गर्न सक्ने डडेल्धुरावासीको विश्वास छ। पूर्णागिरिबाट पाँच किलोमिटरको दुरीमा अवस्थित छ परशुरामधाम।
चुरे र महाभारत क्षेत्रमा रहेका बेतकोट, झिलमिला, आलीतालजस्ता पर्यटकीय तालहरू परशुरामधामबाट ३० किलोमिटर आसपासको दुरीमा छन्।
विकासको कल्पनाले मात्र पनि डडेल्धुरावासी रोमाञ्चित हुन्छन्। सदूरपश्चिमको विकासका सन्दर्भ चल्दा पश्चिम सेती आयोजनाको चर्चा हुने गर्छ। यसको चर्चा धेरै वर्षदेखि जारी छ तर सार्थक हुन सकेको छैन।
डडेल्धुरावासीहरूका अनुसार यहाँको राजनीतिक नेतृत्व सबल छ तर समग्रमा देशको अस्थिर राजनीतिक अवस्थाबाट डडेल्धुरा पनि प्रभावित छ।
तम्रो पहाडघर काँ हो?
डडेल्धुरासँग मेरा अनेक स्मृति छन्। तिथिमिति यकिन स्मरणमा छैन तर सन्दर्भहरू सम्झन पृष्ठभूमिले सघाउँछ।
एक पटकको कुरा हो, डडेल्धुराका अग्रज पत्रकार डिआर पन्त र म बजार घुम्दै थियौं। डिआरका परिचित एक जना भेटिए। उनीहरू दुई जना गफमा लागे। म अलिक अलग्गै उभिएँ।
केही बेरमा ती व्यक्ति मसँग परिचय गर्न आए, मैले मेरो नाम भनेँ।
उनले अनपेक्षित रूपमा सोधे – तम्रो पहाड घर काँ हो?
म यो प्रश्नका लागि तयार थिइनँ, एकछिन अलमलिएँ।
म बोल्नुअघि नै डिआरले जबाफ दिए – दार्चुला।
जबाफमा अविश्वास प्रकट गर्दै ती व्यक्तिले भने – के भन्छौ तम? दार्चुलामा कहाँ झा छन्?
डिआरले फेरि जबाफ दिए – थाहा रहेछ त दार्चुलामा झा हुन्नन् भन्ने कुरा, अनि किन सोध्या?
ती व्यक्तिलाई तत्काल केही फुरेन क्यारे, केही नबोली अघि बढे। डिआर र म निकै बेर हाँस्यौं।
परिचयको औपचारिकताका लागि मात्र पनि पुरानो बसोबासको सन्दर्भ आउने गर्छ। अपवादबाहेक मधेसी मूलका मानिसको पहाड घर हुने कुरै भएन।
प्रमुख अतिथि
अर्को एकपट पत्रकार साथी लालबहादुर ऐरीसँग जोडिएको प्रसंग सम्झिन्छु। डडेल्धुराका पत्रकारहरूमा डिआरपछि मेरो चिनजनका पत्रकार साथी हुन् बाबुराम श्रेष्ठ। म हिमालय टाइम्स दैनिकमा रहँदा हामीले सहकार्य गरेका थियौं। उनी हिमालय टाइम्सका लागि समाचार पठाउँथे।
त्यसपछि चिनजान भयो पत्रकार लालबहादुर ऐरीसँग। उनीसँग अहिलेसम्म पनि निरन्तर सम्पर्क छ। उनी प्रेस युनियनमा सक्रिय थिए, सुदूरपश्चिमका निकै सशक्त पत्रकारका रूपमा चिनिन्थे। मलाई डडेल्धुरा चिनाउन र त्यहाँको हावापानीमा मिलाउन उनको ठूलो भूमिका छ।
त्यो समय लालबहादुर कुनै स्थानीय कुनै रेडियोका लागि काम गर्थे। उनले त्यही रेडियोको वार्षिकोत्सव कार्यक्रममा मलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेका थिए। त्यो जमाना रेडियोको थियो। रेडियोको प्रभाव जल्दोबल्दो थियो। रेडियोसामु छापा पत्रकारिता फिक्का अनुभूत हुन्थ्यो।
त्यो समय मोफसलमा रेडियोको इज्जत र प्रभावबारे अहिलेका नयाँ रेडियोकर्मीलाई त कल्पना गर्न पनि गाह्रो होला। त्यस्तो समय पहाडी भूमि डडेल्धुरामा रेडियोको वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि हुन पाउनु मेरा लागि अपूर्व अवसर थियो। मधेसमा जन्मेहुर्केको, मधेसी मूलको मेरा लागि त्यो अवसर एउटा गौरव थियो।
मैले डडेल्धुराको अनुपम सदाशयता र सामाजिक सौहार्दता त्यसै बेला अनुभूत गरेको हुँ। समाज जोड्ने 'इन्जिनियरिङ' बाट निर्देशित भएर होला म उत्साहका साथ डडेल्धुरा पुगेको थिएँ। सायद लालबहादुरले पनि त्यस्तै सोचेका थिए।

उग्रतारा भगवती र घटालबाबा
डडेल्धुराका अनेक दृश्य र सन्दर्भ मेरा आँखासामु चलचित्रझैं घुम्छन्। म २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार थिएँ। त्यस बेला डडेल्धुरा पुग्दा उग्रतारा भगवतीको दर्शन गरेको थिएँ। त्यसपछि पनि पुगेँ।
सुदूरपश्चिममा उग्रतारप्रति अगाध श्रद्धा र आस्था छ, चिताएको र मागेको पुर्याउँछिन् भन्ने विश्वास छ। उग्रतारा जाग्रत देवी मानिन्छिन्। यस कारण धार्मिक पर्यटनका दृष्टिले पनि निकै ठूलो महत्त्व छ।
संविधान सभाको उम्मेदवारीको पृष्ठभूमिमा केही साथीले मलाई उग्रतारा भगवतीको भाकलका लागि प्रेरित गरेका थिए। उनीहरू भन्थे – उग्रताराले सबैको मनोकांक्षा पूरा गर्छिन्, तपाईंको उम्मेदवारी पनि सफल हुनेछ।
अर्को एक पटक म सुदूरपश्चिमका अग्रज पत्रकार साथीहरू चित्रांग थापा र मनमोहन स्वाँरका साथ डडेल्धुरा पुगेको थिएँ। सन्दर्भ थियो पत्रकारिता तालिमको। तुफानडाँडा नजिकैको एउटा होटलमा तालिम भएको थियो।
त्यही बेला चित्रांग र मनमोहनका साथ घटालबाबाको दर्शन गर्न गर्न गएको थिएँ। यस क्षेत्रमा घटालबाबाको अनुपम महिमा छ। घटालबाबा मन्दिर परिसर धार्मिक पर्यटनका दृष्टिले पनि उत्तिकै बलियो छ। घटालबाबा क्षेत्रमा उद्यानयुक्त पर्यटकीय गन्तव्यको अवधारणामा काम भइरहेको छ। डडेल्धुरा पुगेर पनि घटालबाबा र उग्रतारा पुगिएन भएन भ्रमण अधुरो रहन्छ भन्नु अत्युक्ति हुने छैन।
महाभारतका सशक्त पात्र भीमका पुत्र घटोत्कचसँग सम्बन्ध जोडिएका घटालबाबाले सम्पूर्ण डडेल्धुरावासीको रक्षा गरेका छन् भन्ने विश्वास छ। महाभारतका सन्दर्भमा डिआरले एकपटक भनेका थिए – यो देवभूमि (डडेल्धुरा) मानसखण्ड हो, यहाँ महाभारतकालीन अवशेषहरू छन् भन्ने विश्वास छ तर यस क्षेत्रको पुरातात्त्विक अध्ययन हुन सकेन।
डिआर स्थानीय भाषा, साहित्य, इतिहास र संस्कृतिको अध्ययन–अनुसन्धानमा सक्रिय छन्।
उनका अनुसार महाभारत पर्वत शृंखला अन्तर्गत यस्ता धेरै क्षेत्र हुन सक्छन् जसको अनुसन्धान हुनसके महाभारतकालीन पुरातत्त्व उजागर हुन सक्नेछ।
ऐतिहासिक अमरसिंहगढी
बहादुर शाहको समयमा नेपाली भूमि विस्तारका सन्दर्भमा डडेल्धुरा अत्यन्त महत्त्वपूर्ण ठाउँ मानिन्थ्यो। नेपाली सेनाको पश्चिम कमाण्ड डडेल्धुरामै थियो। हाल भारतको उत्तराखण्डमा पर्ने तत्कालीन नेपाल अधीनस्थ अल्मोडा कुमाउँ क्षेत्रको प्रशासन पनि डडेल्धुराबाटै चल्थ्यो।
रणनीतिक दृष्टिले महत्त्वपूर्ण यसै ठाउँमा अमरसिंह थापाको नेतृत्वमा नेपाली सेनाको किल्ला थियो। यहाँबाट नेपाली सेनाले पश्चिम नेपालको विजय अभियान चलाएको थियो। त्यो प्रसिद्ध किल्ला आज पनि 'अमरसिंहगढी' नामले प्रसिद्ध छ।
गेटामा पुष्प र बागबजारमा वरुण
आजकाल डिआर धेरैजसो महेन्द्रनगरमा हुन्छन्। लालबहदुरले पनि काठमाडौं समातिसके।
म पत्रकार महासंघको अध्यक्ष छँदा सदस्य रहेका छत्र साउदले आफ्नो व्यवसाय फराकिलो बनाए। उनलाई पनि डडेल्धुरा साँघुरो भयो।
बाबुराम पत्रकारितामा सक्रिय रहेनन्। पुराना साथीहरूमा वरूण पनेरू, राम धामी, धनु भण्डारी र मानबहादुर साउदले डडेल्धुराको पत्रकारिता धानेका छन्। पत्रकारिता चलेकै छ तर सूचना र सञ्चारको स्वरूप फेरिँदै जाँदा पत्रकारहरू पनि विकल्पको खोजीमा लागेको देख्छु।
म २०७७ फागुनमा व्यक्तिगत काम विशेषले भारतको उत्तराखण्ड, पिथौरागढ जानुपर्ने थियो। काठमाडौंबाट हवाईजहाजमा धनगढी गएँ, हतारमा थिएँ।
मैले काठमाडौंबाट प्रस्थान गर्ने बेलामा पत्रकार भाइ पुष्पराज जोशीलाई सहयोगका लागि अनुरोध गरेको थिएँ। उनी मोटरसाइकल लिएर गेटा विमानस्थल आए। उनले मलाई अत्तरिया पुर्याए। बिहान करिब ११ बजे म माइक्रोबसबाट डडेल्धुराका लागि प्रस्थान गरेँ, पुष्प धनगढी फर्के। अपराह्न करिब चार डडेल्धुरा बजार पुगेँ।
डडेल्धुरा बसपार्क (बागबजार) मा स्थानीय युवा पत्रकार वरूण पनेरू मेरो प्रतीक्षामा थिए। उनीसँग भेट भएपछि मैले आफ्नो यात्राका बारेमा बताएँ।
खासमा म भोलिपल्ट पिथौरागढ पुग्नुपर्ने थियो। वरूणले आफ्नो मोटरसाइकलमा राखेर मलाई तुफानडाँडा पुर्याए। बाक्लो बजार, चर्चित बैंकिङ प्रतिष्ठान सडकमा मानिसको भिडभाड देख्दा लाग्थ्यो बजारले क्रेता पाएकै छ; बजार चम्केकै छ।
मेरो मनमा यस्तै कुरा खेल्दै थियो, वरूणले अचानक भने – दाइ, यहाँको बजार र मान्छेको भिडभाड देख्दा व्यापार निकै राम्रो होला जस्तो लाग्छ तर किन्ने मान्छे छैनन्।
तुफानडाँडामा गाडीको जुगाड
हावा धेरै लाग्ने भएरै होला यो ठाउँको नाउँ तुफानडाँडा रहेको। होटल क्लासिकको छेउमा वरुणको स्टेसनरी पसल छ। म उनको पसलमा बसेँ, उनी मेरा लागि गाडीको जुगाडमा लागे।
त्यतिन्जेल पत्रकार साथीहरू डिआर पन्त, लालबहादुर ऐरी, छत्र साउद, राम धामी, टेकराज अवस्थी लगायतसँग फोनमा कुरा भयो।
प्रेस युनियनका सभापति धनबहादुरसँग भेट भयो, आपसमा भलाकुसारी भयो। त्यतिन्जेलमा बेलुकाको साढे पाँच बज्यो तर गाडीको जुगाड लागेको थिएन। त्यही बेला एउटा सरकारी गाडी वरूणको पसलअगाडि रोकियो। त्यो गाडी बैतडीको पाटन जान लागेको रहेछ। वरूणले गाडीमा रहेका मानिसलाई मेरो परिचय दिए अनि पाटनसम्म पुर्याइदिन आग्रह गरे।
उनको आग्रहले काम गर्यो। गाडी बाटो लागेपछि वरुणले हात हल्लाएर मलाई बिदा गरे।
मैले पाटन बस्ने पत्रकार लक्ष्मीदत्त पाण्डे र नरेन्द्र विष्टसँग फोनमा कुरा गरेँ। रात पाटनमै बिताउने पक्का भयो। बाटोमा बायाँतर्फ उग्रतारा भगवतीको मन्दिर देखियो। मैले सुरक्षित यात्राका लागि भगवतीको स्मरण गरेँ। गाडी चालक स्टेरिङ र एक्सिलेटरमा ध्यानमग्न थिए। मन ढुक्कको भयो।