भ्रमण अनुभूति
छिमेकी देश चीनको राजधानी बेइजिङ पुग्दा नेपालीहरूलाई यहाँको रंगीन विकसित दुनियाँले तान्नु स्वाभाविक नै हो। नतानोस् पनि कसरी? किनकी हाम्रो देशको धुलो धुँवामा लत्पतिएका हामी त्यहाँको भूमिमा पुगेर विकास होस् त यस्तो, यहाँको विकासका नेतृत्वकर्ता,नेता हुन् त यस्ता, भन्ने भान हुनु त सामान्य लाग्छ।
त्यहीँ बसेर हामी नेपाल फर्केर कल्पना गर्दा वा नेपाली भूमिलाई सम्झँदा फेरि हाम्रो देशका नेतालाई नै गाली गर्न थाल्छौं। विदेशी भूमिबाट नेपाली युवायुवतीहरूले नेपालका राजनीतिक दल र तिनका नेतालाई गाली गरेको पनि हामी अन्य देशको भ्रमण गरेपछि गाली गर्नु स्वाभाविक नै रैछ भन्दै फर्कन्छौं। जब नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाली भूमि छोड्छौं अनि विदेशी भूमिको एयरपोर्टबाट नै हामीले हाम्रो नेता र जनप्रतिनिधिहरूलाई गाली गर्न थाल्छौं। नेपाल किन विकास गरेनन् भन्दै!
-1742639418.jpeg)
म पनि हाम्रो देश नेपाल किन भनेजस्तो र अन्य मुलुकमा जस्तो विकास भएन भनेर उकुसमुकुस गुञ्जीत आवाजलाई साथीभाइसँग चीनको भूमिमा छलफल गर्न थाल्छु। यो चीनको विकास देखेर उकुसमुकुस कुण्ठित आवाजलाई पनि चीनको भ्रमणबाट भर्खरै फर्केर केही संक्षिप्त आफ्नो धाराण यहाँ प्रस्तुत गर्न खोज्दैछु।
चीनलाई विकासको दृष्टिकोणले हेर्दा आफ्नो देशलाई निकै नै अगाडि बढाएको देख्न र अनुभूत गर्न सकिन्छ। चिनियाँहरू भन्ने गर्छन् हामी डिजिटल प्रविधिमा युरोप, अमेरिकाभन्दा धेरै अगाडि छौं। हामी अमेरिका नपुगेकाले त हो नै भन्ने भइहाल्यौं। किनकि हामीले अमेरिका र युरोपको विकासलाई आँखाले देख्ने गरी नजिकबाट हेरेका छैनौं र हेर्नं पाएका पनि छैनौं। त्यसैले त चिनियाँ भूमिमा जति अन्यत्र विकास भएको पनि छैन होला भन्ने हामीले भन्न बाध्य छौं।
चीन घुम्दै गर्दा र चीनको विकास हेर्दै गर्दा यस्तो सुखानुभूति हुन्छ कि जहाँ विकासका अनेकौं मोडललाई उनीहरूले कार्यान्वयन गरिहेका छन्। चीनले विकासमा फड्को मार्नुमा मेरो बुझाइ चीनका नागरिकको अनुशासन, कामप्रतिको लगनशीलता र कार्यक्रमको निरन्तरता, नेताहरू जनताप्रति जिम्मेवारले नै होला यहाँको विकास! छिमेकमा भएको यही विकास देखेर हामी नेपालीले पनि आफ्नो आर्थिक विकास र समुन्नतिका लागि पाठ सिक्न सक्छौं होला भन्ने लाग्छ।

चीनले वातावरण संरक्षण, पर्यटन विकास, गरिबी निवारण, एकीकृत बस्ती निर्माण, सडक तथा हवाई रूटको विकास, आधुनिक कृषि प्रणाली, सामूहिक खेती जस्ता नमूनायोग्य कार्य गरेको देख्दा हामीले पनि यसको अनुशरण गर्दा के फरक पथ्र्याे र भन्ने भान हुन्छ।
चीनको समृद्धि यहाँको राजनीतिक तथा सामाजिक अनुशासनका कारण सम्भव भएको छ भन्ने लाग्छ। यसमा चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको भूमिका महत्वपूर्ण रहेको पाउन सकिन्छ।
खासगरी चीनले आफ्ना गतिविधिलाई आर्थिक तथा सामाजिक परिवर्तनबाहेक आधुनिक प्रविधिको विकासमा गरेका नयाँ नयाँ आविष्कारले चीनको समृद्धिको बाटोमा विशेष योगदान गरिरहेको देख्न सकिन्छ। गएको फागुन १३ गते म फ्रेण्ड्स अफ द क्लाउड: प्लेटफर्म इन्फुन्सर नेपाल संस्थाको प्रतिनिधित्व गर्दै पत्रकारको हैसियतमा चीनको सिचुवान प्रान्तका केही भूभागहरूमा करिब पाँच दिन रहँदा र बेइजिङमा तीन दिन रहँदा यस्तो लाग्थ्यो यहाँको व्यवस्थित बजारीकरण र सिस्टमले नै सायद यी विकास सम्भव भएको होला भन्ने अनुभूति हुन्छ।
चीन अहिले विश्व अर्थतन्त्रमा दोस्रो स्थानमा छ भने विश्व व्यापार र विदेशी मुद्रा संचितिमा पहिलो स्थानमा छ। यहाँको जग्गा निजी छैन। यहाँका भूमि सरकारको नाममा छ जब देशको पूर्वाधार विकास सहज तरिकाले गर्न सकिन्छ त्यो एउटा कारण सरकारीकरण जमिन पनि होला र त चिनियाँहरूले निकै लोभलाग्दो विकास गरेर आफ्नो देशलाई संसारभर चिनाइरहेका छन्।

करिब नौ दिनको बसाइँमा मैले अनुभूति गरेको केही प्रसङ्गहरू यहाँ केलाउँदै छु।
नेपाली कांग्रेसको नेतृ एवं पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइरालाको नेतृत्वमा गएको हाम्रो भ्रमण टोलीले चीनको थुप्रै विकासका मोडलहरू बारेमा अध्ययन अवलोकन गर्ने अवसर पायौं।
हुन त यो मेरो दोस्रो चीन भ्रमण थियो यस अघिको वर्ष पनि मलाई चीनको उहान प्रान्तलाई केन्द्रमा राखेर झण्डै एक महिना चीन घुम्ने अवसर प्राप्त भएको थियो। यो पटक भने नेतृ कोइरालाको टोलीमा रहेर उच्चस्तरीय राजनीतिक भेटघाट र थुप्रै विकासका नमूना मोडल हेर्ने अवसर प्राप्त गर्दाका अनुभवहरू यहाँ म उल्लेख गरिरहेको छु।
चीनको सिचुवान प्रदेशको एउटा गाउँ चान्सी च्योङ समाजवादी गाउँको भ्रमण गर्दैगर्दा यहाँका नागरिकले कम्युनिष्ट पार्टीले निर्माण गरेको नमूना गाउँको अत्यन्तै लोभलाग्दो र चाखलाग्दो विकासलाई हामीले निकै नै महत्वपूर्ण तरिकाले बुझ्ने अवसर प्राप्त गरेका थियौं।
यहाँ विकासका लागि प्रविधिसँगै सामूहिक प्रतिबद्धता आवश्यक हुन्छ र नागरिकहरूलाई सम्पन्न गराउन सकिन्छ भन्ने उदाहरण यो समाजवादी नमूना गाउँको विशेषता हो। च्यान्सी च्योङ यो गाउँ चीनको एउटा विकासको नमूना मोडल गाउँ हो।
यही गाउँको विकासको मोडलबाट नै चीनको अन्य भूभागका गाउँहरूमा यहाँका राष्ट्रपति सि चिनफिङले विकासको मोडल विस्तार गरेको बताइन्छ। चान्सी च्योङ गाउँका कम्युनिष्ट नेता तथा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सचिव काओले हामीलाई भन्दै हुनुहुन्थ्यो, 'सम्पदा सभ्यता हो, मान्छेको विचार पनि धनी हुनुपर्छ। कोही मान्छे धनले मात्रै धनी हुँदैन त्यसैले हामीले यो गाउँको विकास पनि सोही किसिमले निर्माण गरेका छौं।'

हुन पनि चिनियाँहरूले पुराना सम्पदाहरूको संग्रहालयमार्फत् निकै सजावटका साथ जोगाएर मात्रै राखेका छैनन् कि यसले पर्यटन विकासमा पनि निकै ठूलो सहयोग पुर्याइरहेको छ। उनीहरूले आफ्नो भावी पुस्तालाई पनि सम्पदा सभ्यता हो भन्ने सिकाइरहेका छन्। चिनियाँहरूले सम्पदा संरक्षण पनि रहरलाग्दा ढंगले गरेका छन्। उनीहरूले गरेको प्राकृतिक सम्पदा संरक्षण र मानव निर्मित सम्पदाले हामीलाई नै झस्काइरहेको महसुस हुन्छ।
उनीहरूले विकासक्रममा लामो समयपछि प्राचीन मानवबले छोडेर गएको भौतिक अवशेष तथा औजार उपकरण पनि उत्तिकै महत्वका साथ संरक्षित गरेको देख्न सक्छौं।
यो चीनले गरेको सम्पदा संरक्षणबाट हामी नेपालीले पनि सिक्नु जरूरी छ भन्ने लाग्छ। नेपालमा प्राकृतिक सम्पदा र मानव निर्मित सम्पदा नै लोप हुने खतरा बढिरहँदा हामीले पनि चीनबाट केही सिक्नु जरूरी हुन्छ भन्ने लाग्छ।
भम्रणकै क्रममा रहँदा कांग्रेस नेतृ कोइरालाले हामीलाई भन्दै हुनुहुन्थ्यो- पत्रकारहरूले पनि हेर्नुस् हाम्रो नेपालले यहाँबाट धेरै सिक्न सक्छौं।
उहाँले समाजवादी गाउँमा निकै चासोका साथ किसानले दोहोरो आम्दानी गरेको भनेको सुन्दा उहाँले यहाँ नेपाली किसानलाई घुमाउन ल्याउन चिनियाँहरूलाई आग्रह गर्दै हुनुहुन्थ्यो। यहाँ कम्युनिष्ट पार्टीको सानो कमिटी रहेछ त्यसले नै सरकारलाई निर्देशन दिएर स्थानीय सरकार संचालन भएको छ। हरेक महिनामा सामान्य किसानले १० हजार न्यूनतम कमाउने रहेछन्। जमिन भाडामा दिएर सामूहिक खेती गरिएको देख्दा चिनियाँ नागरिक निकै अनुशासित छन् भन्ने अनुभूति हामी नेपालीलाई हुनु स्वाभाविक नै हुन्छ।

यो नमूना गाउँ हेर्न आन्तरिक र बाह्य गरेर वार्षिक ११ लाख पर्यटक आउँछन् रे। यो नमूना गाउँमै बसोबास गर्ने नागरिकहरूलाई शिक्षा, स्वाथ्य रोजगारी सम्पूर्ण सुविधाको ग्यारेन्टी गरिएको रहेछ। सुन्दा अचम्म लाग्नु पनि हामी नेपालीलाई सामान्य हो। समाजवादी गाउँको कम्युनिष्ट पार्टीको त्यो प्रगति मात्रै हैन सिङ्गो चिनियाँ कम्युनिष्ट पार्टीको प्रगतिबारे हाम्रो भ्रमण टोलीमा रहेका सिनियर पत्रकार चीरन्जीवी मास्के, वरिष्ठ कलाकार कृष्ण मल्ल, पत्रकार कृष्णबहादुर मल्ल लगायत हामी सुत्ने अगाडि निकै गहन छलफल गर्थ्यौं र भन्थ्यौं- हाम्रो देशको विकास अनि हाम्रो देश यसरी नै कहिले बन्ला?

