एउटा हिउँदे यात्रा: हरिहरपुरगढीतिर (भाग-३)
...विपरीत दिशाबाट अर्को पिकअप गाडी आयो। हामी किनारा लाग्यौं। सिन्धुलीतिरको चुरे वन बाक्लो तुवाँलो र मसिनो कुहिरोभित्र लुकेको थियो। परसम्म देखिएन। हामी रोकिएकै सडक छेउतिर ‘तामे’ बाँसका धेरै झ्याङहरू देखिए। अब हामी ओरालो झर्यौं, उनकै (नेपालजी) कम्पनीको ठेक्का र पुरस्कृत बाटो हुँदै। ठ्याक्कै अपराह्नको ४:३० बजे हामी वडा न. ७ को वडा कार्यालय रहेको स्थान भुताहामा चिया पिउँदै थियौं।
भुताहा सामुदायिक स्वास्थ्य इकाई पनि सोही कार्यालयभित्रै रहेछ। अहेव दिपेन्द्र कुमार सिंहसँग गफगाफसँगै कार्यालय घुमियो। वि.स.२०५० सालको बाढीले भुताहा बस्ती बगाएछ। पूर्व गापा अध्यक्ष तथा वर्तमान जिसस प्रमुख कार्सांङ लामाको घर पनि सो बाढीमा परेपछि उनी अहिले सिन्धुली र सर्लाहीको सिमाना चुरेको धिमिलीमा बस्दा रहेछन्। बालकृष्णजीका अनुसार सो वडा कार्यालय निर्माणार्थ कार्सांङजीले पनि १ कठ्ठा जग्गा दान गर्नुभएको रहेछ। अहिले एकतले बनेता पनि तला थप गर्न सकिने गरी निर्माण गरिएको रहेछ भवन। छेवैमा क्यानखोला नागबेली रूपमा सुस्त सुस्त पश्चिम बग्दै थियो। यहाँबाट क्यानशिर (क्यान खोलाको मुहान) अझै १७ किमी माथि पूर्व-दक्षिण पर्थ्यो। हामी त्यता लागेनौं। घडीले अपराह्नको ५:१० बजायो। वडा कार्यालय छेवैको होटलमा साँझको लागि भुटन पाक्दै गरेको बास्ना आयो।
हामी फेरि खोला बगेकैतिर बत्तियौं। मैले फेरि क्रसिङ गन्न लागेँ। १३ पटक खोला जंगार तरेपछि मरिन छेउको चुरेबाट उत्पन्न भएर दक्षिण बगेको 'बरुण' खोलो भेटियो। बरुण खोलो क्यानमा मिसिएर बिलायो। क्यान खोलाको साँघुरो र अनकन्टार उपत्यकामा साँझ ओर्लिनै लागेको थियो। हामी दुई यतिखेर ठ्याक्कै बरुण दोभानमा थियौं। मकालु हिमालबाट उत्सर्जित भएर विशाल हिम जलराशी लिएर बरुण खोला पूर्व बग्थ्यो र अरूण नदीमा बिलाउँथ्यो-संखुवासभामा, गोला बजार माथि। यता सिन्धुलीमा एउटा अर्को बरुण खोलो दक्षिण बग्दोरहेछ, चुरेबाट उत्सर्जित भएर र क्यान खोलामा बिलाउँदो रहेछ। फेरि मन करिब २४ वर्ष अगाडि बसेको र काम गरेको स्थान र कालमा पुग्यो।
'श्रीदमार' तिर उक्लिने बाटो असहज थियो, तै पनि बालकृष्णजीले जबर्जस्ती मोटरसाइकल हुइँक्याउनुभो। केहीबेरमा तल खोंचमा, हामीलाई उत्तर पारेर प्राकृतिक 'कुण्ड पोखरी' देखियो, त्यो रिमरिमे साँझमा। साँझको त्यो एकान्तमा, त्यो ताल शान्त र सुरम्य अनि विशाल देखियो, कास्कीको रूपाताल जस्तो सालघारी डाँडाहरूको खोंचभित्र।
अब हामी भक्तजीको बाख्रा फार्ममा थियौं। पूरै रात झर्यो चुरेमा। कहीँकतै कुकुरहरू भुकेका सुनिन्थे। त्यत्ति हो बाहिरी आवाज भनेको। चराचुरूंगी कराएको सुनिएन। त्यहाँ बिजुली बत्ती पनि पुगेको रैनछ।
सोलारको मधुरो उज्यालोमा घरबेटीहरूसहित हामी गोडा पाँचेक प्राणीहरू अँगेनो वरिपरि बसेर चिया र खाजा खाँदैथियौं। अब चुरेमा पूरै रात पर्यो । चुरे सुनसान भयो। आज कुण्ड घुम्ने, दर्शन गर्ने र झन्झने फर्किने योजना त्यतै सकियो।
भक्तजीको मायामा लोकल कुखुरो (चल्लो) को सुपसँग शुद्ध कोदोको ढिडो खाएर बिदा भयौं। उज्यालोको त त्यो अप्ठ्यारो बाटो मोटरसाइकलको हेडलाइटमा झन् अप्ठ्यारो भयो। हिँडिरहँदा लाग्छ- जीवन जतिखेरै जोखिममा छ। जोखिम फेरि कटेछ। समथर ठाउँमा झरियो।

रातको करिब ७:३० बजेतिर हामी क्यान खोलाको बगर 'पन्चचौड़ी' पुग्दा त्यहाँ बिजुलीको उज्यालोमा होटलहरू चहलपहलमा थिए। खोलाले चिसो सिरेटो फाल्दै थियो। हामी रोकिएनौं। केही क्षण बाक्लो बालुवाको खाँद हुँदै गुडेपछि फेरि खोलामा पसियो। मैले फेरि क्रसिङको 'काउन्ट' जारी राखेँ। ५ पटक क्यान खोला तरेपछि क्वाटर हुँदै बालकृष्णजीको घर अर्थात् आजको रात्रि बासस्थान अर्थात् हेडक्वाटर पुगियो।
यसरी यात्रा समाप्तीसँगै आजको कथा सकियो।
अब भोलिदेखि अरू कथाहरू सुरू हुनेछन्। कथाहरू मन हुन्, तसर्थ त जताततै छन्। हाम्रै वरिपरि छन्। अलि गहन र सूक्ष्म ढंगले हेर्नु र केलाउनु भने पर्छ, खलो बढारेको धान केलाए जसरी वा तिलबाट दल्क्षीन ढुंगा केलाए जसरी वा बाँसे काइयोले कपालका लिखा केलाएजसरी। अब सुतौं। भोलि खोजौंला।
बिहानको चियापछि हामी क्यान खोलाको लामो र पक्की पुल तरेर क्वाटर हुँदै तिलबारी लाग्यौं। १ गज पर पनि नदेखिने हुस्सु थियो। तिलाबारीमा माछा पोखरी हेर्नु थियो, तर अहिले माछा झिकेर पोखरी सुकाइएको रहेछ। पोखरी बढाउने र अलि ठूलो परिमाणमा फार्मको विकास गर्ने सोच रहेछ। माछा हेरालु आमै कोदोको तीनपाने बनाउँदै हुनुहुन्थ्यो। आगो ताप्दै एकछिन कृषि फार्मको योजना सुनेपछि मरिन जाने त्यो बाटो छोडेर हामी फेरि क्वाटर फर्कियौं। क्वाटर बजारका होटलहरूमा चिया पारखीहरू जम्मा भएका थिए। हामी बुद्धपार्क छिर्यौं। खुला ठाउँमा बनेको पार्क सुन्दर थियो।
पछाडि क्यान खोला उसैगरी अल्छी मान्दै पश्चिम बग्दै थियो। बाक्लो कुहिरोले पक्की पुल देखिएन। बुद्धको एउटा मूर्ति बनिसकेको थियो। अब दायाँबायाँ अरू दुई वटा बनाउने योजना रहेको बालकृष्णजीले सुनाउनु भो। त्यो पनि उहाँकै कार्यकालमा र सक्रिय पहलमा बनेको रे। चिया पसलमा वर्तमान वडाध्यक्षबीच बहादुर मोक्तान भेटिनुभो। केहीबेर निवर्तमान र वर्तमान वडा प्रमुखहरूको वार्ता भो।
हामी फेरि खोला पस्यौं। चार पटक खोला जंगार तरेपछि हामी पान्तलेको ढुंगापार्कमा थियौं। यतिखेर बिहानको ९ बजेको थियो। बाक्लो कुहिरो बिस्तारै आकाशतिर उचालिँदै थियो। जमिनमा करिब ५० मि. वरपर देख्न सकिन्थ्यो, तर दुनको चिसो दह्रै थियो। ढुंगापार्कको ढुंगे गेट बन्द थियो। हामी साइडबाट भित्र पस्यौं। बालकृष्णजीले व्याख्या सुरू गर्नुभो।
दक्षिण कोरियाली नागरिक ई.जे सुंगले त्यो पार्क निर्माण गरेका रहेछन्। प्रत्येक ढुंगाहरूमा केही न केही लेखिएका थिए। गेटबाहिर एउटा ढुंगोमा 'पान्तले गाउँ, नयाँ गाउँ' परियोजना लेखिएको देखियो।
गेटभित्र अर्को ढुङ्गोमा 'आकाशे पार्क' लेखेको थियो। अनि अर्कोमा थियो 'काम गर्न सकिन्न भने खाना पनि नखाऊ'। यस्तो लेख्ने र त्यो पार्क बनाउने ती दक्षिण कोरियाली नागरिक 'सेमाउल उन्दोंग' अर्थात् नयाँ गाउँ बनाऊँ भन्ने अभियानका अभियन्ता रहेछन्। अहिले पनि उनी पान्तले-काठमाडौं र दक्षिण कोरिया ओहोरदोहोर गरिरहँदा रहेछन। सम्झें- कतै त्यतैतिरको र त्यस्तै प्रभावका कारण वि.स.२०५१ सालतिर नेपालमा पनि 'आफ्नो गाउँ, आफै बनाऊँ' भन्ने नारा/कार्यक्रम आयो कि? नितान्त तर्कना।
घडीमा बिहानको १०:३० बजेको छ। हामी फर्कियौं फेरि १ जंगार क्यानखोला तरेर। अब हामी एक्वारे खेत र भित्तातिरको बाटोमा थियौं। न्यानो घाम आइसकेको थियो। एक हुल बकुल्लाहरू क्यानखोलातिर उडे, खाना खोज्न होला सायद। खेतमा तोरी पहेँलपुर थिए। धेरै गह्राहरूमा मकैका सुइँरा निस्किएका देखिन्थे। खोल्सातिर बाक्ला र गाढा बाँसका झ्याँङहरू देखिए। हिलो चिप्लो थिएन। यतिखेर दुनमा दिनहरू सुखी थिए सायद।
खानापछि सुवास भाइले कुण्ड घुमाउन लैजाने हुनुभो। हिजो समयाभावले छुटेको त्यो तीर्थस्थल मेरो मानसपटलमा हरदम नै घुमिरहेको थियो, नजिकैबाट हेर्न नपाइने भो भनेर। त्यस्ता ठाउँहरूमा जान छुटाउनु नहुने रहेछ। अहिले मलाई किन्चित विस्मात छ। धेरैपटक डोटी-दिपायलको बाटो हिँड्दा पनि खप्तड उक्लिन छुटेकोमा र भाटाकटिया जस्तो करेसैको ठाउँमा पुग्दा पनि रामारोशन छिर्न छुटाएकोमा। पछि भनेपछि अवसर आउँदैन रहेछ। त्यसैले म जसरी नि कुण्ड जान चाहन्थेँ। पेमा भाइ आइसकेको थियो। उसले क्वाटरमा पर्खने कुरा गर्यो। सुवास भाइ र म कुण्डतर्फ लाग्यौं। एकतर्फी ५ पटक क्यानखोला तरेपछि हामी सालघारी जंगलको असजिलो उकालो चढ्दै कुण्डमाथिको गाउँ टेक्दा घडीमा मध्याह्न १२:३० बजेको थियो।
पहिलाको विशाल कुण्ड पुरिँदै र खुम्चिँदै 'यु' आकारमा बाँकी रहेछ। आँखै अगाडि विशाल जलभण्डारको कुण्ड लम्पसार सुतेको थियो, मध्याह्नको न्यानो र तेजिलो घाममा। केही मान्छेहरू कुण्ड छेवैका खेतहरूमा काम गर्दै थिए। मैले मनचाह कुण्ड हेरें। एक दुई फोटा लिए। भाइले ढिलो हुन्छ, फर्कौं भन्नुभो अनि हामी फेरि उही बाटो र उत्तिनै जंगार तर्दै क्वाटर आइपुग्यौं।
मलाई पेमा भाइको साथ छोडेर सुवास भाइ दक्षिण लाग्नुभो आफ्नो काममा। दुई दिनका बीचमा करिब ५०/५६ पटक क्यान खोलाका जंगारहरू तर्दै यतिखेर म क्वाटरमा पर्खिएको पेमा भाइको टिपर चढेँ। त्यो अद्भूत क्यानखोलाभरि ढुंगाहरू थिएनन्। सनातन देखिको त्यो बालुवाको रास हुँदै क्यानमा कति पानी बग्यो होला? कति सालका काठहरू पुरिए/बगे होलान्? सुरूमा मान्छेहरू कसरी ती कुना कन्दराहरूमा पुगे होलान्?
बाटामा एउटा बाक्लो बस्ती देखियो क्यान खोलापारि। पेमाले भन्यो- यिनीहरू सिन्धुपाल्चोक तिरबाट आएका।

फर्किंदा हामी बाटाभरि खासै धेरै बोलेनौं। आ-आफ्नै काम र तालमा रम्यौं। टिपरमा बस्नु पनि मजा हुँदोरहेछ, माथिल्लो तलाबाट भुइँ तलामा हेरेजस्तो। हामी ४:३० बजे झन्झने पुग्यौं। आजको दिन सकियो। क्यान खोलातिरका सरसर्ती भेटिएका र आँखामा जम्काभेट भएका कथाहरू पनि सकिए।
अब भोलि अर्को कथा खोज्न हरिहरपुरगढी दरबार र जितपुर गाउँतिर उक्लिने योजना छ। लोक बहादुर गोले सरलाई न्यारेटर बनाउनुपर्ला। हेर्दैजाउँ, वडा न. १ कस्तो रहेछ?
अलि दिक्कलाग्दो समय पर्यो। क्यान खोला सकेर झन्झने झर्दा शुक्रबार पर्यो। शनिबार यसै बिदा, आइतबार पनि बिदा परेछ। सोमबार कार्यालय आउनेगरी शुक्रबारै पालिका खाली भो। लोकजीलाई मैले रोकेँ। दिपकजी नि बस्ने हुनुभो। तर गाडीहरू चालकविहीन भए। शनिबार केही मिलिहाल्छ कि! भनेर कुर्दाकुर्दै बित्यो। झन्झने नै बास भो।
आइतबार गोले सरले गुरजी (मदन भण्डारी राजमार्गको यो खण्डमा रतनपुर, तिनकुना, घन्टे, गुरजी, माढी, तमोरखोला, बागमती पुल, झुरझुरे, जुरेली, स्याउलिबज़ार आदि नामका ठाउँहरू छन्) सम्मलाई एउटा टेम्पो मिलाउनुभो। त्यहाँबाट हरिहरपुरगढी दरबार हुँदै जितपुर गाउँ सम्मको लागि एउटा बस लाग्दोरहेछ। अब ८ किमीमाथि हरिहरपुरगढी दरबार र थप ८ किमीमाथि जितपुर गाउँ थियो। अपराह्नको ३:४५ बजे त्यो धुले बाटोमा गाडी उकालो लाग्यो, गीत गाउँदै। गढीगाउँ पुग्दा ४:५० बज्यो। गढीदरबार जान गाडीबाट ओर्लिएर केही मिनेट उकालो जानुपर्थ्यो। अहिले हामी ओर्लिएनौं।
ठ्याक्कै अपराह्नको ५:३० बजे गाडी जितपुर गाउँको दोबाटोमा रोकियो। हामी ओर्लिने पनि त्यहीँ रछ। गाडी वडा न. १ को केन्द्रतिर लाग्यो, हामी त्यसको ठिक विपरीत पूर्व लाग्यौं। दक्षिण फर्किएर हेर्दा गढीदरबार अलि प्रस्ट र बागमती बगर रिमरिम देखिए। पूर्वपट्टि सिन्धुलीका महाभारत शृंखलाका अग्ला होचा डाँडाहरू तरेली परे। उत्तरपट्टि कोखाजोर खोँच हुँदै काभ्रेका ताल ढुंगा, खानीखोला र महाभारत गापाहरू देखिए। पश्चिमपट्टि नयाँ गाउँ छोडियो। हामी बडारे गाउँ झर्दै थियौं। अब महाभारतमा साँझ झर्दैथियो। केही मान्छेहरू कोदो टिप्न व्यस्त थिए। केटाकेटीहरू रोकिएको गाडी वरपर झुम्मिए। ज्याकेटै छेड्ने चिसो सिरेटो आयो डाँडामा। अलि अगाडि डाँडैमा 'जितपुर विजय स्मारक पार्क' भेटियो।
राष्ट्रिय झण्डा फहराइरहेको र फेदमा दुई क्रस खुकुरी टाँगिएका थिए। मार्बल लगाएर एउटा चौको बनाइएको थियो। दक्षिणबाट अंग्रेज सेना आएको थाहा दिन तल घन्टेमा रहेको ठूलो घन्टी बजाइन्थ्यो रे। अनि माथि गढी किल्लाका गोर्खाली फौजहरूले पोजिसन लिन्थे रे। सिन्धुलिगढीबाट लखेटिएका गोरा फौजहरू यता हुँदै आउँदा यहाँबाट पनि गोर्खालीहरूले लखेटेछन् उनीहरूलाई। जितेको स्थान हुनाले यसको नाम पनि जितपुर राखियो होला सायद। बडारे गाउँमा गोले सरको घर पुग्दा बिजुली बत्तीहरू बलिसकेका थिए। आज पनि गढीदरबार/किल्ला छुट्यो।
हामी पानीको कथा खोज्न हिँडेका थियौं, बडारे गाउँलाई। पानीको मुहान डाँडातिर थिएन। गाउँको पुछारमा थियो। मझुवा खोला पुग्न करिब डेढ घन्टाको ठाडो ओरालो ओर्लिनुपर्थ्यो। सूर्योदयसँगै लोक सर र म मिठो कोदाको रोटीको खाजा खाएर ओरालो झर्यौं। स-साना झोराहरू भेटिँदै गए। गाउँका पुछारतिर घरहरू बाक्लै देखिन्थे तर प्रायः मान्छेविहीन रित्ता। सानो दुइटा खोल्सी कटेपछि अलि ठूलो, भरपर्दो र संग्लो पहाडी पानी भेटियो। मैले पानी छामें, चिसो न चिसो थियो। कन्चन नीलो दह थियो। पारिपट्टि अझ ठूलो खोल्सो रहेछ। यिनै खोल्सीहरूको मिलन बेनीमा लिफ्टको मुहान बनाएर बडारेको टुप्पामा पानी पुर्याई बाँड्ने गरी योजना स्वीकृत पनि भैसकेको कुरा गोले सरले बताउनुभो। तर काम सुरू हुने छाँटकाँट थिएन। पानी पर्याप्त र भरपर्दो थियो।
महाभारतमा घाम चर्किंदै थियो। हामी अब उकालो लाग्दै थियौं। कोखाजोर पारि तालढुंगा ओझेलमा देखिन्थ्यो। गोले सरले भन्नुभो- यहाँबाट सुरूङ खन्ने हो भने ३० मिनेट करिबमा काभ्रेको पनौती बजार निस्किन्छ। होला कुनै दिन, यही सोँचे मैले। हामी उक्लिँदै गर्दाको एउटा घरमा हिजोसँगै गाडीमा आएका परिवारहरू भेट भए। धान कोदो थन्क्याउन गाउँ आएका रहेछन्। खासमा उनीहरू बाग्मतीपारि राई गाउँतिर बस्दा रहेछन्। गाउँमा गाडी र बत्ती पुगे पनि मान्छेहरू धेरैजसो तिनै गाडीमा बसेर हेटौंडा, राजमार्ग छेउछाउ वा समथर तराईतिर ओर्लिंदा गाउँका घरहरू ढोका लागेका र खेतबारीहारू बाँझिएका रहेछन्। नयाँ गाउँदेखि बडारे सम्मैका धेरै जग्गाहरू बाँझा र खाली थिए। मान्छेकै अभावले त्यो खानेपानीमा श्रमदान जुटाउन पनि धेरै कठिन हुने ठानेँ मैले।
गोले सरको बारीमा सुन्तला, कागती र केराका झ्याङहरू टन्नै रहेछन्। केही कागतीहरू टिपेर हामी घर उक्लियौं। बिहानको बस छुटिसकेको थियो। बेलुकीपख राजन भाइ आउनुभो पालिकाबाट र उहाँसँगै म झन्झने झरेँ। यस पटक पनि हरिहरपुरगढी दरबार छुट्यो।
सोमबार बिहान काठमाडौं फर्किंदा १० बजेको घमाइलो मौसममा हामी बागमती बगरका मकैका सुइरा हेर्दैथियौं। अहिले मकै केही बढे होलान्। अब फलेका मकैका कथा लेख्नुछ, बागमती बगरका अरू कथा लेख्नुछ, हरिहरपुरगढी दरबारको कथा लेख्नुछ, फेरि समयले जुराएछ भने...।
यी पनि:
एउटा हिउँदे यात्रा
नामको पनि समय र सीमा हुने रहेछ!