भाग-२
दिन ४:
चौथो दिन बेइजिङको लागि बसाइ अन्तिम दिन थियो। गाइडले भने अब यहाँको मुख्य आकर्षण ठाउँ ग्रेटवाल घुम्न जाँदैछौं भने। उता घुम्दाघुम्दै हामी सांघाईतर्फ जानुपर्ने भएकोले हामीले बिहानै होटलबाट चेकआउट गरेर निक्लियौं।
होटलबाट करिब डेढ घण्टाको यात्रापश्चात हामी ग्रेटवाल भन्ने ठाउँमा पुग्यौं। त्यो ठाउँ साँच्चि नै मनमोहक रहेछ। त्यहाँ पुग्नेबित्तिकै फोटो ग्राफरहरू हाम्रो नजिक आए, फोटो खिच्न आग्रह गरे। हामीले मूल्य सोध्यौं।
एक जनाले भने- एउटा फोटो एल्बमसहित १०० युआन भने। हामी तीन जनाले फोटो खिच्ने निर्णय गर्यौं। फोटो खिच्नुभन्दा पहिला हामीले उसलाई पैसा दिनुपर्ने रहेछ तर हामीले पैसा उसलाई दिएनौं, गाइडलाई दियौं।
'ल तपाईंको ग्यारेन्टी' भनेर १००/१०० युआन दियौं।
गाइडले ओके भनेपछि हामी ग्रेटवाल चढ्नतिर अगाडि बढ्यौं।
निकै उचाइ रहेछ, उकालो रहेछ, हिँड्ने बानी नहुनेलाई चढ्न गाह्रो नै थियो। आधि बाटोसम्म त हाम्रो टोली हिँडे तर धेरै जना अब चाहिँ उकालो चढ्न नसक्ने भने। त्यसपछि हिँड्न सक्ने विस्तारै जाउँ, नसक्ने यतै आराम गर्दै गर्नु भन्दै हामी चाहिँ अगाडि सिढी चढ्नतिर लाग्यौं।
म र एक जना शेर्पा भाइ हामी चाहिँ माथि टुप्पसम्म नै जाने निधो गर्यौं। हामी दुई भाइ विस्तारै विस्तारै हिँड्दै माथि टुप्पासम्म पुग्यौं। त्यहाँ पुग्दा रमाइलो लाग्यो। जति माथि पुगे उति नै चिसो हावा चल्ने रहेछ।
चिसो हावाको आनन्द लिँदै दुई भाइ माथि टुप्पासम्म पुगेर फर्कियौं। यति माथि उचाइ पनि समुद्र सतहबाट मात्र ३०० मिटर रहेछ।
उकालो चढ्दा हामीले ७०/ ८० वर्ष सम्मको वृद्धहरू पनि भेट्यौं। उनीहरूको जोशलाई सलाम छ। ओरालो ओर्लंदा चाहिँ अलि गाह्रो हुँदो रहेछ। किनकि कुनै ठाउँमा चाहिँ ठाडो ओरालो नै थियो, साइडमा फलामको रेलिङ थियो त्यसमा समाउँदै ओर्लियौं।
तलसम्म पुग्दा शरीर पसिनाले निथ्रुकै भिजिसकेको थियो। तल केही समय बस्यौं। आइसक्रिम खायौं। केहीबेर आराम गरेपछि गाइडले अब हामी जानुपर्छ भन्ने संकेत गरे। अब बुलेट ट्रेन स्टेसनतर्फ़ जाने कुरा गरे। बसमा अघि १०० युवान तिरेर खिचेको फोटो एल्बम हामीलाई दियो। यसो सरसर्ती हेरेँ। राम्रो लाग्यौ त्यो एल्बममा ग्रेटवालको इतिहासको बारेमा लेखेको रहेछ। अनि झोलामा राखेँ।
यो एल्बम चाहिँ प्राय: गरी यहाँ आउनेले किन्ने रहेछ। अब हाम्रो यात्रा बुलेट ट्रेन स्टेसनतर्फ अगाडि बढ्छ।
करिब डेढ घण्टाको यात्रापछि हामी बुलेट ट्रेन स्टेसनमा दिउँसो २:३० मा पुग्यौं।
गाइड म्याक्सले हामीलाई खानेकुरा खान लागि ४५ मिनेट भित्र खाएर ३:१५ मा बोर्ड नम्बर १२ बि मा भेट्ने कुरा गरे।
सोही अनुसार हामी स्टेसनको फूड कोर्टतिर गयौं। त्यहाँ केएफसी पनि रहेछ। छोरी अनुष्काले केएफसी खाइन्। हामी बाबा ममीले चाहिँ भेज खान खोज्दै खायौं। उनले भनेको समयमा नै हामी सबै जना ३:१५ मा भेट भयो र पासपोर्ट देखाउँदै र सेक्यरिटी चेकमा ब्याग लगेजहरू स्क्यान गरी हामी ट्रेनको बक्स नम्बर ७ भित्र गयौं।
टिकट अनुसार नै आआफ्नो सिटमा बसेर हाम्रो सांघाईको यात्रा सुरू भयो।
यो ट्रेनको गुड्ने समय तालिका निश्चित हुँदो रहेछ। हाम्रो त्यहाँबाट हिँड्ने समय ४ बजेको थियो। ठ्याक्कै ४ बजे नै गुड्यो। बिस्तारै बिस्तारै गुड्दै यो ट्रेन २५० प्रति घण्टा स्पिड मा कुद्ने रहेछ। धन्नै धन्नै जहाज जतिकै गतिमा कुद्ने , ट्रेनबाट हामीले विभिन्न दृश्यहरू हेर्दै गयौं।
बाटोमा हामीले त्यहाँको खेत बारीहरू देख्यौं। निकै ठूलो क्षेत्रफलमा चिनियाँहरूले खेती गरेका रहेछन्। यस बेला मकैको सिजन रहेछ, मकै बाली निकै ठूलो क्षेत्रफलमा गरेका रहेछन्। जंगलहरू पनि देखियो। सांघाईसम्म पुग्दा धेरै नै सुरूङ मार्गहरु पार गर्नुपर्ने रहेछ।
विकासको लागि त चीन धेरै अगाडि बढिसकेको रहेछ। केही साथीहरूले भन्दै थिए कि चीनको विकास युरोपभन्दा पनि अगाडि छ।
ट्रेनमा खानेकुराहरू बिक्री गर्न ल्याउने रहेछन्, आफूलाई मन लागेको चिजहरू जस्तै: चिया, कफी, खाना, फलफूलहरू किनेर खान पाइने रहेछ।
हामी चढेको ट्रेनको क्याबिन ९ मा चाहिँ रेस्टुरेन्ट पनि रहेछ। मानिसहरू त्यहाँ खरिद गरी आफ्नो सिटमा ल्याएर खाँदै गरेको देखिन्थ्यो। खाना खानको लागि जहाजको जस्तै सिटको अगाडि पट्टि एउटा स्ट्यान्ड हुँदो रहेछ।
त्यही राखेर जहाजमा जस्तै आरामले खानेकुराहरू खाना मिल्ने रहेछ र मानिसहरू खानाको मज्जा लिइरहेका देखिन्थे। करिब साढे ४ घण्टाको यात्रापछि हामी चीनको सांघाई स्टेसन पुगेको जानकारी माइकिङबाट भयो। ट्रेन बिस्तारै रोकियो। हामी सबै जना ओर्लिएर एक्जिट गेटतर्फ लाग्यौं। त्यहाँ लिन्डा नाम गरेकी महिला गाइडले हामीलाई कुरिरहेकी थिइन्।
उनीसँग भेट भयो र उनले होटल जानको लागि हामीलाई बस भएको ठाउँतिर लगिन्। रातको ९ बजिसकेको थियो, त्यहाँ ट्रेन स्टेसनमा नै, हाम्रो लगेजहरू बसमा राख्यौं। अनि बस होटलतर्फ अगाडि बढ्यौं। त्यहाँबाट होटल पुग्न १ घण्टाको समय लाग्ने रहेछ। होटल जाने बाटोमा रातको झिलिमिली बत्तीहरू हेर्दै गयौं। गाइड लिन्डाले हाम्रो धेरै ख्याल गरिन्। चाइनिजहरू अंग्रेजी भाषा नबोल्ने रहेछन्, सायद हामीलाई समस्या होला भनेर होला यति धेरै केयर गरेको, उनको केयरिङप्रति हामीले उनलाई हृदयदेखि नै धन्यवाद चाहिँ भन्नु नै पर्छ।
करिब १ घण्टापछि हामी होटलमा पुग्यौं। चेकइन गर्न एकछिन समय लाग्यो। रूम बुकिङमा समस्या रहेछ, आधा घण्टापछि हामीलाई रूमको साँचो उपलब्ध भो र हामी रेस्ट गर्न जान लाग्दा भोलिको घुम्न जाने कार्यक्रमको बारेमा केही जानकारी गराइन् गाइड लुइसले। हामीलाई पिकअप गर्ने गाइड लिन्डा थिइन् भने सिटी टुरको लागि लुइस रहेछ। आज समय धेरै नै बितिसकेकाले हामीलाई रेस्ट गर्न जानु, भोलि बिहान ८ बजे लबीमा भेट्ने सबै जना भन्दै लुइस गुड नाइट भन्दै होटलबाट निक्लिए। अनि हामी पनि साँचो लिएर रूमतिर लाग्यौं। रातको ११ नै बजिसकेको रहेछ दिनभरको थकान, ग्रेटवाल चढेको थकानले गर्दा रूममा पुगेर हल्का हात मुख धोएर सुत्यौं।
क्रमश:
यो पनि:
चीनको यात्रा: सांघाई अध्यागमनमा पाएको दु:ख!