राम्रो ठाउँमा जत्ति पटक पुगे पनि नअघाउने। धेरै पटक पुगेको छु दोलखाको शैलुङ ग्रेटवाल।
तर पनि साथी-भाइले शैलुङ जाने प्रस्ताव गर्ने बित्तिकै नाइँ भन्दिनँ। किनकी शैलुङमा जाँदा शैलुङ ग्रेटवालले मेरो मन पटक-पटक तानिरहन्छ। मैले चीनको ग्रेट वालको बारेमा पढेको र सुनेको मात्र हो। अहिले शैलुङको यही ग्रेटवालले मलाई चीनको ग्रेटवालको झल्को दिएको छ।
दोलखामा धेरै पर्यटकीय गन्तव्य छन्। तर शैलुङको ग्रेटवाल प्रमुख पर्यटकीय गन्तव्य बन्न थालेको छ।
२०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालको कार्यकालमा निर्माण गरिएको थियो। यस गाउँपालिकाको धेरै विकास निर्माण कार्यमध्ये शैलुङ ग्रेटवाल जिल्लाकै शानको रुपमा चर्चामा छ अहिले।
यही ग्रेटवालमा फोटो, भिडिओ, रिल्सका लागि युवादेखि ज्येष्ठ नागरिकहरू समेत पुग्ने गरेका छन्। यो ग्रेटवाल कालापानीदेखि लगभग ४५० मिटर लामो छ। यस ग्रेटवाल करिब २९०० मिटर उचाइमा रहेको हुनाले यहाँबाट दोलखाको अधिकांश भूभाग पनि सजिलै नियाल्न सकिन्छ। गौरीशंकर हिमाल लगायत दर्जनौं हिमालहरू यही ग्रेटवालबाट नियाल्न सकिन्छ।
ग्रेटवालको वरिपरि लालीगुराँस, चिमाल, धुपी, विभिन्न प्रजातिको बोटविरुवा, सिजनल फूल, जडिबुटीहरूले थकाई, प्यासको महसुस नै हुँदैन। ग्रेटवाल पूर्ण रूपमा सञ्चालनमा आइसकेको भने छैन। यहाँ अझै केही निर्माण काम हुँदैछ।
चरिकोटबाट २ घण्टा गाडीमा ग्रेटवाल भएको स्थानसम्म पुग्न सकिन्छ। गाडीबाट ओर्लेर ५ मिनेट हिँडेपछि ग्रेटवालको अनुभव लिन सकिने भएकाले धेरैको रोजाई बन्नु स्वभाविक हो।