युनेस्कोले विश्व हेरिटेज भनेर महत्व दिएका ठाउँ हुन्, एलोराका ३४ र अजन्ताका २९ वटा गुफा। इस्वी सम्बत सुरू हुनुभन्दा पहिलेदेखि नै मानिसले ताछेर मूर्ति बनाएका र बसोबास गरेका भारतस्थित गुफा हुन् दुवै।
अजन्ताका गुफा सन् १८१९ सम्म गुमनाम थिए। त्यहाँ गुफा छ र मूर्ति मात्र हैन आदिम सभ्यताका साक्षी भेटिन्छन्। बुद्ध सभ्यता सिकाउने चित्र बनाइएका छन् भन्ने कसैलाई थाहा थिएन। लामो समयसम्म बुद्ध ज्ञान प्राप्तिको मार्ग सिकाउने विश्व विद्यालयका रूपमा अजन्ताका गुफा प्रयोग भएका प्रमाण छन् त्यहाँ।
बुद्धका पुनर्जन्म, जातका दर्शन शिक्षा चित्र बनाएर व्याख्या गरिएका छन्। धेरै भिक्षुहरू, भान्तेहरू र विद्यार्थीहरू निर्वाणा प्राप्तिका लागि त्यहाँ दत्तचित्त भए होलान् भन्ने सहजै अनुमान लगाउन सकिन्छ। बुद्ध शिक्षा सिकाउने शुत्रहरूले भरिपूर्ण रहेछन् ती गुफा।
एलोराका ३४ गुफामा सभ्यता गुमनाम थिएन। त्यसैले त त्यहाँको अचम्मलाई किम्बदन्तीहरूले सजाएर राखिए। विविध कथाहरू कल्पिएर परपरसम्मका गाउँहरूमा हजुरआमाहरूले नातिनी र नातिहरूलाई सुनाए।
पन्ध्र सय वर्षभन्दा पहिलेको समयमा कुँदिएका मूर्तिका कारणले असम्भव लाग्ने थ्रिडी संरचनाका मूर्ति छन्। दायाँबायाँ, अगाडि, पछाडि जताबाट हेर्दा पनि हेर्नेलाई नै हेरिरहेको देखिन्छ कुँदिएको शिवको नटराज मूर्तिबाट।
कैलाश मन्दिर भनेर चिनिने चट्टानलाई ताछेर तथा खोपेर बनाइएका संरचना अपत्यारिला छन्। त्यसैले त कसैले भगवना स्वंले बनाएको आस्था र विश्वासले शिर निहुँराउँछन्। कसैले त्यस समयमा पृथ्वीका मानिसले कम्प्युटरको आविष्कार नै नहुँदै बनाउन सम्भव थिएन भन्छन्। त्यसैले कुनै अर्कै ग्रहबाट आएका विकसित प्राणी एवं एलियन्सले बनाएको अड्कल गरे।
जनविश्वास जे जस्तो भए पनि त्यो कला र संरचनाको महत्व मानिसले बुझे। संसारले बुझ्यो। जोगाउन पर्ने भनेर त्यहाँ पूजाका नाममा टीका एवं जल प्रसादले संरचनालाई नोक्सान गर्छ भनेर टीका, अक्षता, फूल प्रसाद चढाउन प्रतिबन्ध गरिएको छ। संरचनामा नोक्सान नहुने गरी प्रार्थना गर्न भने छुट छ।
एक सय किलोमिटरको बीचमा नै मानिसको सभ्यता अजन्ताका गुफाबाट गायब हुनु तर एलोरामा मानवीय पुहुँच नहुनु कसरी सम्भव छ?
यो प्रश्नले मलाई हुटहुटी पार्नमा एक विश्व विख्यात चित्रकारको भूमिका छ।
पहिलो गाँसमै ढुङ्गो लाग्यो। चित्रकार एमएफ हुसेनले गन्तब्य देखाएको एलोरा गुफा जाने झोला मिलाउँदै थिएँ। मोबाइलले नयाँ इमेल झर्यो भन्ने सङ्केत दियो।
भोलिपल्टको यात्राको तयारीको चार्ज गर्दै थिएँ। यात्रा तयारी स्वरूप चार्ज हुँदै थियो मोबाइल। तानेर हेरेँ। मैले समाउने भनेको फ्लाइट क्यान्सिल भएको सूचना पो रहेछ त्यो इमेल।
लौ फसाद! झोक उठ्यो मनमा।
पहिलाको साइत जुराउँदा जुराउँदै कोरोनाले बिथोल्यो। दुई वर्षपछि फेरि तयारी गरेँ। शिवपुरी बाबाका बाजेले ताराको गणना गरेझैँ गणना गरेर जुराउँदै गएँ। हवाईजहाजको टिकट कन्फर्म गर्नभन्दा पहिला अर्धाङ्गीनीको सल्लाह त लिनै पर्यो।
बडो उत्साहका साथ भान्सामा पसेँ। हल्का आगो पारेर भुट्दै गरेको आलु-परवलको तरकारीको बासनाले नाकभित्र पसेर मस्तिष्कमा धक्का दियो। त्यही मौका समाइहालेँ। उत्साह साथ 'मेरो एलोरा जाने साइत जुर्यो नि' भनेर मिति बताएँ।
उनले स्वादमा कमी नआओस् भन्ने सोचेर होला, तरकारी चलाउँदै मतिर हेर्दै नहेरी भनिन्- 'एकपटक त्यताको तापक्रम कति छ हेरेर कन्फर्म गर्नुस्।’
बहुतै उचित सल्लाह लाग्यो। मोबाइलमा हेर्नभन्दा कम्प्युटरको ठूलो स्क्रीनमा त्यहाँको मौसम हेर्न फर्किँए। तापक्रम देखियो ४२ सेल्सियस। शिवपुरी बाबाका बाजेको तारा गणना गर्दा बादलले आकाश ढाकेझैँ गर्मीले ढाक्यो मेरो साइत।
तैपनि एलोरा पुग्ने धोकोमा बादल मडारिन सकेन। मनभित्र हुटहुटी भएको भयै!
जनतन जाडो महिनाको शीतलहरीको सम्भावना टारेर जुराएको साइतमा इस्तानबुलको मौसमले बिगारेछ साइत। मौसमको खराबीको कारण फ्लाइट क्यान्सिल भएको हो भनेर इमेलमा लेखेको रहेछ। तर हुटहुटी त थियो नै! लागेँ उड्नको लागि वैकल्पिक जुक्ति खोज्न।
ग्याटविक एयरपोर्टबाट उड्ने फ्लाइट क्यान्सिल भएको थियो। हिथ्रो एयरपोर्टबाट उड्ने फ्लाइटले कनेक्टिङ पहिले योजनानुसारकै उडान भेट्ने परिवर्तन मिल्यो।
मलाई लाग्यो, पहरा फोरेर बाजेले गैरी खेतमा पानी झार्न कुलो बिराउँदाको भन्दा ठूलो उपलब्धि पो हात लाग्यो।
अझै समस्या पूरै टरेको थिएन, ग्याटविक एयरपोर्ट जाने ट्रेनको टिकट पनि रद्द गरेँ। पूरै पैसा फर्कियो। तर, बिहानै हिथ्रो पुग्ने जुक्ति अझै जुराउन थियो। मेरो हुटहुटी बुझेकी प्यारीले फोन घुमाएर प्रयास गर्दा सजिलै व्यवस्था मिलिहाल्यो।
बिहान एयरपोर्ट नजिकै काममा जाने संजोगको कारको सिट सित्तैमा मिल्यो। सित्तै त के भन्नु हिसाब नराखिने परिमोको ऋृण बोकियो। बिहानै थाहा भयो टर्कीमा ठूलो भूकम्प गयो। तै उडान भयो, मुम्बइमा ज्यान पुग्यो, सामान जहाजले बाटतिरै छाडिदिएछ।
पैँतिस वर्षपछि रेलको लामो यात्रा पनि जुर्यो। बम्बईदेखि औरङ्गाबाद ६ घण्टाको छुकछुक। तर उहिले कोइलाको कालो धुवाँमाथि फाल्ने र छ्वास्स गर्दै प्लेटफर्ममा सेतो बाफ छर्ने भए पो छुकछुक भन्नु। बिजुली तार र भुइँको फलामे लीकलाई साक्षी राखेर कोइलासँग पारपाचुके गरेको रहेछ।
फ्लाइटमा फुत्त उडेर औरङ्गाबाद पुगेको भए हेर्न छुट्ने पृथ्वी सतह देख्दा रेल यात्रा रोजेर ठिक गरेछु भन्ने लाग्यो। लौह पथगामिनी भकभक अड्डा (प्लेटफर्म) मै कुर्दा न्युयोर्कबाट मजस्तै अजन्ताको हुटहुटी बोकेको स्वेत पति र स्यामल पत्नीको जोडी भेटियो। यो रेल चढ्न दुस्साहस गर्ने म मात्र होइन रहेछु भन्ने लाग्यो।
प्लेटफर्ममा स्थानीय मुद्रा भारू ५ तिरेर पसेको चर्पी देख्दा अत्तालिएको मन रेलको बातानुकूलीत फोल्डिङ सिटमा अताल्लिएन। भलै रेलभित्रको पाइखानाको पूर्ण प्रयोग गर्ने हिम्मत आएन र पनि लघुशङ्का रोकिने वाला पनि थिएन, त्यसको लागि समस्या पनि लागेन।
बलिउडबाट उत्तर गुडेको रेलको झण्डै डेढ घण्टाको समयसम्म देखिएको भुइँ सतह उराठलाग्दो थियो। हलिउडको रूखा र सुक्खा डाँडाको नक्कल गरेका रहेछन्। फाट्टफुट्ट देखिने हाँगा र पातमा तेजिलो हरियाली बोक्न नसकेका बुट्यान र रूख उराठ लाग्दा। भद्दा स्वरूपका पहाड। स्वस्थानीका तारकासुर सम्झाउने उराठिला डाँडा।
त्यत्तिकैमा ‘चाय...’ भन्ने लेग्रो तान्दै डिब्बामा छिरेका व्यापारी देखेँ। झलझली उहिले रेल चढ्दा चिया खाएको माटाका कपको यादा आयो। रातो-रातोभन्दा नि गाढा पहेँलो रङमा कुमालेका औंलाले बान्की पारेका बुट्टाका माटाका ती कप अलप भएछन्।
कागजका कपमा चिया बाँड्न थालेछन्। उहिलेको त्यो कोइलाको रातो भुंग्रोमाथि भल्कँदै गरेको ठूलो कित्लीबाट दिने चियाको आगो फेरिएर ब्याट्रीवाल भाडोमा बोक्दा रहेछन्।
हातमा झुण्डाउने छाँट भने उस्तै रहेछ। कोइला झन् बलोस् भनेर पहिला हल्लाउँदै हिँड्थे। ब्याट्रीलाई हल्लाए नि के, नहल्लाए नि के!
कोइला गन्धको पुरानो सम्झना आयो। नेपाल सिमानापारि भारतका बजार पस्ना साथ भेटिने कोइला बालेको गन्ध कतै भेटिएन। प्लेटफर्ममा पानीका धारा नजिक 'हात धोनेका सफा मिट्टी' लेखेको नि देखिनँ।
हरेक प्लेट फर्ममा नीमको रूख भने बुढो ढालेर नयाँ हुर्काएका रहेछन्। बिहानमा नीमका दत्तिउन चबाउँदै गरेका मान्छेको आदत पनि फेरिएछ। बिहार र उत्तरप्रदेशमा पनि हरायो कि हराएन थाहा भएन तर अगाडि छेउमा लोटा राखेर एक हात गालामा राखेका मान्छेहरू पनि देखिएनन्।
करिब दुई घण्टा उत्तर गुडेको रेलको झ्यालबाट डाँडाका खोंचमा खेती देखिन थाल्यो। तर थुम्का तिरका बुट्यानमा रौनक भने फर्कन नसके जस्तो। त्यसको आधा घण्टापछिको खेतीको रौनक रहरलाग्दो रहेछ। त्यसको प्रमाण किसानका घरअगाडि उभिएका कारले दर्शाइरहेको भान भयो।
टिकट काटेँ र मूलद्वारबाट टोकन छुवाउँदा खुलेको गेटबाट भित्र गएँ। सिधा अगाडि १६ नम्बरको गुफा रहेछ। त्यतै जाँदै थिएँ। प्रहरीले ‘उता जान मिल्दैन भिड छ’ अरू गुफातिर जान पर्ने संकेत गर्दै १ नम्बर गुफा तिर जान सकिने जानकारी दिए।
तर मजस्तै यात्रुले हिलारी क्लीन्टन आएकोले अरूलाई त्यता जान नदिएको बताइन्। प्रहरीले आल्टाले कुराबाट टार्न भन्दा सही जानकारी दिएको भए हुन्थ्यो भनिदिएँ। तर गुफा हेर्ने हुटहुटी न थियो, त्यहाँ अडिनभन्दा लागेँ १ नम्बरको गुफा तिरको बाटोमा लम्कन।
गीत गाउने स्वरको धनी भैदिएको भए, 'लम्कलम्क हे नौजवान..' भन्दै गाउने थिएँ।
एक नम्बरको गुफाबाट थोरै पर रहेको मूल बाटोमा निस्कने गेट बन्द रहेछ। त्यहाँका चौकीदारले त्यो गेट सधैँ बन्द रहने र दर्शकहरू त्यताबाट हिँड्न नपाउने बताए।
त्यो गेट गुफा हेर्नेका लागि बाटो सजिलो पार्न लगायत निर्माण काममा सामान ल्याउनलैजान मात्र खुल्छ भन्ने थाहा भयो। त्यही गेटको पच्चीस मिटर जति वर तीन जना प्रहरी बसेका रहेछन्। त्यहीँबाट गुफा नम्बर ९ र १० माथिको थुम्कोमा महिला प्रहरीले बन्दुक ठडाएर उभिएकी रहिछन्।
मलाई भने शोले फ्लिममा डाकुँले हेमा मालिनीलाई जबरजस्ती लगेपछि बीरू र जयले त्यस्तै डाँडामा पहरा गरेका खाकी पहिरनका डाँकुलाई पुत्रुक्क झारेको सम्झना आयो।
त्यो चलचित्रको बनावटी दृष्य थियो, यो वास्तविक दृष्य। ती प्रहरीलाई यहाँ सुरक्षा यस्तै कडा हुन्छ भनेर प्रश्न तेर्साएँ। उनीहरूले बडो नम्र भावमा आज भिभिआइपी सवारी भएर हो भन्ने जवाफ दिए।
नभन्दै एकछिनपछि डाँडामाथिको बन्दुकवाली र उनीहरू पनि त्यहाँबाट अलप भए। हिलारी क्लिन्टनकै सवारी रहेछ भन्ने पुष्टि भयो भन्ने लाग्यो। अनि सम्झें रेलमा सँगै सिट परेका जीउ ज्यान हेर्दा पनि प्रहरी हाकिमजस्ता देखिने ती सहयात्रीलाई।
भन्न त उनको पनि औरङ्गाबादको पहिलो पटकको यात्रा भएको भनेका थिए। उनका फोनमा कुरा गराइ र एक दिनको मिटिङ सकेर फर्कन्छु भन्ने उनको भनाइ विषय र प्रसङ्ग जोडिँदै गएकोले उनको सम्झना ताजा गरायो।
म बसेको होटेलमा पनि म बिहान उठेर तल जान्छु भन्दा विशिष्ट फोर्सका तीन महिला, तीन पुरूषजस्ता देखिने प्रहरी पहिरनमा लिफ्ट कुर्दै गरेको देखेको थिएँ।
गुफा अवलोकन क्रम
गुफा हेर्न आउनेहरू पाँचथरीका हुँदा रहेछन्। एकथरी गुफाको महत्वको लागि भन्दा पनि त्यहाँ पुगेको फोटो, भिडिओ र टिकटक सामाजिक सञ्जालमा हालेर रवाफ देखाउने जुक्ति जुराउन आएका देखिए। अर्का थरी धार्मिक भावले त्यहाँ भएका मूर्तिको आशीर्वाद थाप्ने ध्यय राखेका हुँदारहेछन्।
अर्काथरी महत्वपूर्ण हेरिटेज साइट रहेछ हेर्न जान पर्छ भनेर पुग्दारहेछन्। कोही भने विश्व सभ्यताको कडी पैलाउने र आफ्नो अस्तित्व केहो भन्ने दर्शन भेटिन्छ कि भन्ने अनौपचारिक अध्ययनको भोक लिएर जाँदा रहेछन्।
औपचारिक शिक्षाको कडी समाएर जीवनमा सफलताको डोरी समाउन समाजशास्त्र, इतिहास, पुरातत्त्वजस्ता विषयको जानकारी बटुल्न पनि त्यता पुग्दारहेछन्। त्यसैमध्येका स्कुलबाट हुलै बाँधेर पुग्ने अधिकांश भने भारतकै विद्यार्थी थिए।