‘यो कालीगण्डकी देख्दा मात्र धमिलोजस्तो हो, पानी त सङ्लो नै हुन्छ नि,’ गाडीचालकले मेरो जिज्ञासा मेटाउँदै गर्दा बेनीबाट पोखरे बगरतिर हुइँकिँदै थियौं हामी।
पोखरे बगरबाट तीन दिन पदयात्रा गरेर पुग्नुपर्ने थियो खोपारा लेकभन्दा माथि खयर ताल।
पहिलो दिन पाउद्वार गाउँमा पुगेर बास बस्ने योजना थियो। अघिल्लो दिन काठमाडौंबाट बेनी पुगेका मित्र अमृत भादगाउँले र मसँगै बेनीबाट चार जना म्याग्देली युवा पत्रकार पनि घुमफिरमा जोडिँदा उत्साह अझै बढेको अनुभूति भयो।
प्रताप बानियाँ, राकेश शर्मा, सन्तोष गौतम र धिरन खत्री- यी चारै जना उत्तिकै रसिला र हँसिला। परिआए म्याग्दी जिल्लालाई नै जुरुक्कै उचालुँलाजस्ता जोसिला! यस्ता दमदार युवाका कुरामा जम्दा उमेर बिर्सिएका थियौं अमृतजी र मैले पनि।
उमेरलाई बिर्सिएर रम्नुको मज्जा छुट्टै हुन्छ नि, होइन र? यात्राभर यी गजबका ठिटाहरूले घटाइदिए हामी दुईको उमेर, कम्तीमा १० वर्ष। कुरा सुन्दा पनि छक्क पर्नु छैन त?
‘संगत गुनाको फल’ भन्थे बुढापाकाहरू। सुरू सुरूमा पत्रकार भादगाउँलेकै लहैलहैमा लागेर घुमियो केही ठाउँ। अब त लत नै लागिसकेछ कि के हो? अपत्यारिलो तरिकाले रूचि बढ्न थालेको छ मेरो पनि घुमफिरमा। औधी आनन्द मिल्छ बेलाबेला यसरी मनमौजी घुमिहिँड्दा। म्याग्दीको भूगोललाई पहिलोचोटि पढ्ने अवसर पनि उनै भादगाउँलेकै कारण जुरेको थियो। उनी लेख्नलाई जोस्याइरहन्छन्। भन्छन्, ‘रमाएर घुम्नुस् र मज्जाले लेख्नुस्।’
खोइ, कस्तो लेखाइलाई मज्जाको लेखाइ मान्छन् उनी। कनीकुथी नै भए पनि केही त लेख्छु भन्ने आँट जाग्छ कताकता र ‘हस्’ भनिदिन्छु। थाहा छ, लेखकीय चुनौतीको पहाड चढ्नु कम जोखिमपूर्ण छैन। तै पनि लेख्नुको विकल्प छैन भनेर लागेका कुरा नलेखी चाहिँ बस्न नसकिने रहेछ। एक प्रकारको आदत नै भनूँ कि यसलाई पनि?
यही सिलासिलामा सम्भव भएका अवस्थामा घुम्दै र लेख्दै आएको छु।
बेनीबाट पोखरे बगर जम्मा २० किलोमिटरको दुरीमा पर्छ। कच्ची सडक, त्यसमा पनि ठाउँठाउँ खहरे खोल्साका पानीले बिगारेको। ठ्याक्कै दुई घन्टा लाग्यो कालीको किनारै किनारको बाटो पोखरे बगर पुग्न।
‘यो पोखरे बगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र हो,’ पत्रकार मित्र सन्तोषले जानकारी गराए, ‘यसपटकको घुमफिरमा हामी घुम्ने सबै ठाउँ यही गाउँपालिकाभित्र पर्छ।’
अन्नपूर्णको नाम सुन्नेबित्तिकै मनमा छुट्टै रमाइलो अनुभव हुन्छ। कस्तो अचम्मसँग मोहनी लगाउँछन् है हाम्रा हिमालहरूले?
हामी पोखरे बगर पुग्दा हामीलाई नै पर्खेर बसेका रहेछन्, हाम्रा पथप्रदर्शक भाइ बुद्धि पुन। उनलाई पठाएका थिए, खोपारा क्षेत्रको पर्यटकीय सम्भावना उजागर गर्न झन्डै दशकदेखि समर्पित भएर लागेको बेलायती सेनाका रिटायर्ड लेफ्टिनेन्ट राजु पुनले, जो खोपारा लेकमा हामीलाई पर्खिंदै थिए।
माथि खयरतालसम्मको यात्राभरि नै यी समाजसेवी लाहुरेको साथ पाउनेवाला थियौं हामीले। यो हाम्रो लागि सुखद संयोग। सायद यसैलाई भनिन्छ, ‘ढुंगा खोज्दा देउता मिल्नु।’ कि कसो अमृतजी?
केही पसल र होटलहरू भेटिन्छन् पोखरे बगरमा। त्यहीँको एउटा होटलमा छिरेर पेट दह्रो बनाएर पाउद्वारतिर लाग्दा बिहानको १० बज्न लागिसकेको थियो। आ-आफ्ना झोलीतुम्बा भिरेर पदयात्रा सुरू गरियो यहीँबाट।
करिब पाँच मिनेट हिँडेपछि कालीगण्डकीमा मिसिन आएको घार खोला भेटिन्छ। घार खोलाको झोलुंगे पुल तरेर उकालोतिर लाग्दा नै चिटचिट पसिना निस्किसकेको थियो निधारमा। नेपानेको उकालो भनिँदो रहेछ यो ठाउँलाई।
पोखरे बगरबाट पाउद्वारसम्म कच्ची सडक बनाइएको भए पनि बर्खाको पानीले ठाउँठाउँमा पहिरो जाँदा सडकको नामोनिसान थिएन। कतैकतै बाँकी रहेको भग्नावशेष पछ्याउँदै हिँड्नुपर्ने थियो अलि माथितिरको बाटो नभेटिउन्जेलसम्म। दिगो विकासको अवधारणा र पर्यावरणीय पक्ष नबुझी जथाभाबी डोजर चलाउँदा यस्तै हालत भएको देख्छु अन्यत्रतिर घुम्दा पनि।
यी सबै स्थानीय जनप्रतिनिधिहरू, ठेकेदार र डोजर साहुहरूको मिलीभगतको परिणाम। लाग्छ, तुरुन्त रोकिनुपर्छ जुनसुकै गाउँठाउँमा विकासका नाममा हुने यस्ता विनाशलीला। आखिर कहिलेसम्म सहनु प्रकृतिले पनि आफूमाथिका यस्ता असह्य अतिक्रमण?
‘पोहोर एउटा गाडीका सबै यात्रुलाई पहिरोको ढुंगाले लागेको थियो यही नेपानेमा आइपुग्दा। यो वर्ष त गाडी नै चल्न नसक्ने गरी क्षतविक्षत भयो बाटो,’ हाम्रा गाइड भाइ बुद्धि दुखेसो पोख्दै थिए, ‘प्रकृतिले नै सताएर भएन यो हाम्रो ठाउँलाई।’
सहृदयी रहेछन् यी हाम्रा गाइड भाइ। रमाइलामा उस्तै रमाइला। कहिले मन छुने कुरा गरेर भावुक तुल्याउने, कहिले ठट्यौला कुराले हँसाउने। उनको साथले पनि केही सहजता थपिएको थियो यात्रामा।
‘म छोराको बाउ हुँ तर स्वास्नीको पोइचाहिँ होइन है,’ चिनजान क्रममा बुद्धि भाइले यसो भन्दा हँसाएझैँ लागेछ साथीहरूलाई। हाँसे सबै जना मज्जैले। कुरा बुझेपछि भने पछुतो भयो एकै छिनअघि हाँसेकोमा। उनको आफ्नै जीवन भोगाइको यथार्थ प्रतिछाया रहेछ यो अभिव्यक्तिमा।
वैदेशिक रोजगारीबाट फर्किँदा घरबार टुड्दाको पीडा छचल्किएका रहेछन् उनका शब्दभरि। विश्वास गरेको मान्छेबाटै आफ्नो पसिनाको कमाइ समेत बालुवामा पोखिँदा को बिलखबन्दमा नपर्ला र?
छिट्टै नयाँ घरजम गर्न धेरै आफन्तबाट सुझाव नपाएका होइनन् उनले। सबैलाई एउटै उत्तर हुन्छ यी ३१ वर्षे युवाको, ‘अब पाँच वर्ष म यत्तिकै स्वतन्त्र नै बस्छु। त्यसपछि विचार गर्नुपर्ला।’
नेपानेको भिरबाट तलतिर हेर्दा घार खोला र कालीगण्डकीको दोभान देखिन्छ । पारिपट्टि अजंग पहाडको भिर। जता हेर्यो उतै अचम्मलाग्दा दृश्य।
बाटोनजिकै एउटा रूख देखेँ मैले, पहिले कतै नदेखेको। सँगै रहेका बुद्घि भाइलाई उत्सुकता पोखेँ। उनले भने, ‘बाँदरे भन्छन् यता यसलाई। बाँदरले रुचाउने र आराम गर्ने भएर यसको नाम नै बाँदरे रहन गयो।’
‘ओहो, गजबकै रूख रहेछ त,’ अझै छक्क परेँ। वरिपरिका टुनी, उतिस, सल्ला, चिलाउने, अमला आदिका रूखहरू त मेरा लागि अपरिचित थिएनन्।
पहिरे भिर छिचोलेपछि दुईचार घर देखियो, बाटोनजिकै। यहीँ भेटिए एक जना जोसिला मान्छे पूर्णबहादुर पाइजा।
चार वर्ष वैदेशिक रोजगारीमा बिताएर गाउँ फर्केका यी तन्नेरी बाख्रापालन व्यवसायमा जमेर लागेका रहेछन्। ४५ वटा बाख्रा छ उनको गोठमा यति बेला। आफ्नो व्यवसायबाट निकै प्रसन्न देखिन्छन् उनी। हामीलाई उनले सगर्व सुनाए, ‘पहिले अरब, मलेसियातिर गएर पसिना बगाउँदाको भन्दा राम्रो छ आम्दानी।’
बाख्रापालनसँगै तरकारी खेतीबाट पनि मनग्गे आम्दानी रहेछ उनको। पौरख गर्नेले गाउँमै बसेर पनि राम्रो कमाइ गर्न सक्छ भन्ने दृष्टान्त हुन् यी युवा। सकारात्मक सोच भएका यस्ता कर्मशीलका कुरा सुन्दा छुट्टै उत्साहको सञ्चार हुन्छ मनमा।
नीलो आकाश नै ताकेर हिँडेजस्तो उकालै उकालो बाटो। ओखरेनीको चौतारोमा एकै छिन थकाइ मारेर उकालो लागियो। नाकाडाँडासम्मको करिब तीन घन्टाको बाटो त ठाडो उकालै मात्र। दिउँसो १ बजे नाकाडाँडा पुगेपछि पाउद्वार गाउँको केही भाग देखियो। बुद्धिले भने, ‘ऊ त्यही घर हो हामी आज गएर बस्ने।’
के आकर्षणले तान्यो कुिन्न, टाढैबाट भए पनि गाउँको दर्शन पाएपछि अझै छिटोछिटो चल्न थाले पाइलाहरू।
करिब दुई सय घर रहेको चिटिक्क परेको गाउँ। पुछार, बीच र सिरानतिर फैलिएको बस्ती। बाटो र आँगनभरि ढुंगा बिछ्याइएका। न हिलो, न धूलो। पहाडको काखमा चपक्क बसेको शान्त, सफा र सुन्दर गाउँ। साढे १ बजे पाउद्वार गाउँ पुग्दा छुट्टै रमाइलोले भरियो मन।
खोपारा क्षेत्रको पदयात्रामा आउनेजाने पर्यटकका लागि गाउँमै सुविधायुक्त होटल र लजहरू खुलेका रहेछन्। गाउँको बीचतिर रहेको बाराही गेस्ट हाउसमा खानेबस्ने व्यवस्था मिलाइएको थियो हाम्रो लागि। गाउँमै उत्पादित अर्गानिक खानपान। जति स्वादिस्ट, उत्तिकै स्वस्थकर।
खानाको स्वाद पहिले आँखाले, त्यसपछि नाकले अनि मात्र जिब्रोले महशुस गर्छ भन्ने राम्रै बुझेका मित्र भादगाउँलेले मन खोलेर प्रशंसा गरे खानाको। उनी भन्दै थिए, ‘साह्रै मीठो पो खुवाउनुभयो त। पाउद्वारी खानाको स्वाद जिब्रोले भुल्न नसक्ने भयो।’
‘चैत-वैशाख र असोज-कात्तिकमा धेरै पर्यटक आउँछन् खोपारा क्षेत्रको पदयात्रामा,’ बाराही गेस्ट हाउसकी हस्तमाया पुनले भनिन्, ‘अरू बेला पनि फाट्टफुट्ट आई नै रहेका हुन्छन्।’
सुन्दर गाउँ आइपुग्दा चुप लागेर त्यत्तिकै बस्न कहाँ सकिँदो रहेछ? हिँडेर उकालो चढ्दाको थकाइ कता हरायो कता!
दिउँसोको खाना खाएपछि केही बेर पाउद्वार वरपर चहारियो। गाउँलेहरू सिस्नोको पिठो बनाउँदै थिए, बेचेर आम्दानी गर्न। सिमी, भटमास, केराउ, आलु, इस्कुस लगायत सागबज्जी र कोदो, जौ, गहुँ, उवा, फापर, मकै आदि फल्ने उर्बर बारी छ गाउँ वरपर। खाएर नसकेको कृषि उत्पादन बेचेर आम्दानी गर्न कम्मर कसेर लागेका छन् गाउँले। पशुपालन त्यस्तै। गाई, भैंसी र भेडा पाल्न गाउँदेखि माथिमाथिका जंगल र खर्कहरूमा गोठ बनाएका छन्। घरका एक जनाले ती खर्कमा राखिएका गाई, भैंसी रेखदेख गर्ने पुरानो परम्परा पनि अझै धानिएको रहेछ।
गाउँनजिकै निकै पुराना दुई ठूला भाजोका रूखहरू हेर्नलायक भेटिए। ती विशालकाय रूख कम्तीमा चार सय वर्ष पुरानो हुनुपर्छ भनेर अनुमान गर्छन् गाउँका बुढापाका। यी रूखका फेदमा बसेर वरपरका डाँडाकाँडा नियाल्दा प्रकृतिको काखैमा भएको आनन्द मिल्छ।
‘यताका चौतारा, बिसौनी, पानीका धारा, हिँड्ने बाटो र उकालोका ढुंगे सिँढीहरू आफ्ना पितृपुर्खाहरूका सम्झनामा उनीहरूका सन्तानले गोजीका पैसा निकालेर बनाएका हुन्। पाउद्वारको भुमेथानको यो चौतारो एउटा नमूना हो,’ हामी एकैछिन सुस्ताएको चौतारो देखाउँदै यसै गाउँका भाइ बुद्धिले भने।
उनले अगाडि थपे, ‘तल कालीगण्डकीको तिरदेखि माथि हिमालको काखमा रहेको खयर तालसम्म धेरै ठाउँमा तपाईं यस्ता संरचना देख्न सक्नुहुन्छ।’
‘गाउँको विद्यालयको स्तरोन्नति र निजी शिक्षकको तलबको व्यवस्था गर्न माथि खोपारा लेकमा चौरीपालन र सामुदायिक होटल सञ्चालन गरिएको छ,’ स्थानीय जनप्रतिनिधि राजेश तिलिजाका कुरामा अर्कै ऊर्जा थियो।
गाउँको विकासमा जुटेका यस्ता युवाका कुरा सुनेर अघाइने भए पो!
बेलुकाको खाना खाएर केही बेर गफिँदै गर्दा गाउँका केही भाइबहिनी पनि हाम्रा पत्रकार साथीहरूसँग नजिकिए। कुरैकुरामा एक जना बहिनीले निकै प्रशंसा गरिन् आफूलाई मन पर्ने एक जना नेपाली हिरोको। चासो दिएर उनका कुरा सुन्दै गरेका मित्र भादगाउँलेले एकैछिनमा ती हिरोको मोबाइल नम्बर दिँदै कुरा गर्ने वातावरण बनाइदिएपछि ती बहिनी जिल्ल परिन्। उनले भनिन्, ‘पत्याऊँ कि नपत्याऊँ दोधारमा पो परेँ म त।’
हामी गीत गाउँछौं र नाच्छौं पनि भन्दै दोहोरी गीत गाउने प्रस्ताव राखे तीन जना बहिनीहरूले। लेखन सामग्री बटुल्न हिँडेका साथीहरूलाई परेन फसाद!
सुरूमा त लजाए पनि। झट्ट गीत गाउँछौं भनिहाल्न सकेनन्। तर गाउनैपर्ने चुनौती आइलागेपछि अघि सरे प्रताप। धिरन र सन्तोषले अलिअलि स्वर थपिदिए। अमृतजीले मुसुमुसु हाँसेर मेहफिलको रस लिए।
गीति सवालजवाफ राम्रै जम्यो। केही बेरपछि गीत बजाएर नाच्ने कार्यक्रम पनि थपिन थाल्यो। राम्रैसँग कम्मर भाँचेर देखाए राकेशले। गीतमा प्रताप र नाचमा राकेशको लुकेको प्रतिभा प्रस्फुटन भयो। गाउँका बहिनीहरू अस्मिता, सीमा र मेनुका नाच्ने र गाउने दुवै कलामा माहिर।
रात छिप्पिन लागेको पत्तै भएन नाचगानको रौनक थपिँदै जाँदा। नसोचेको आत्मीयता आभास गरायो यसपटक पत्रकार साथीहरूलाई पाउद्वार गाउँले।
गाउँको यो आत्मीयतालाई मीठो बिम्ब बनाएर पस्कने सुर कसेका पत्रकार मित्र भादगाउँलेले सुत्न जाने बेला हाँस्दै भने, ‘ल है पाउद्वारी माया सबैलाई।’