गोधूलिअघि नै पुगिएला कि भनेर लमकलमक पाइला लम्काए पनि हामी पुग्दा झम्के साँझले छोपिसकेको थियो टुटेपानी गाउँलाई। बत्तीको उज्यालोमा होमस्टेको गेटमा जम्मा भए गाउँले। निधारमा टीका र गलामा फूलमाला लगाइदिएर स्वागत गरे हामी पाहुनालाई। बत्तीको उज्यालोभन्दा उनीहरूका मुहारमा झल्किएको आत्मीयताको उज्यालो झनै चम्किलो लाग्यो।
मज्जाले घन्किन्छ मादल, बज्छ बाँसुरीको मिठो धुन। चुट्का, पाङ्दुरे, सोरठीजस्ता मौलिक नृत्यको प्रस्तुति त्यस्तै बेजोड। यस्तो अनुपम आत्मीयतासहित स्वागत गरिँदा त्यहाँ पुग्ने कुन पाहुनाको मन खुसीले नउज्यालिएला र?
टुटेपानीसम्म नै कच्ची सडकबाट बसमा चढेर पुग्न सकिने विकल्प हुँदाहुँदै पनि हामीले त्यसो गरेका थिएनौं। दमौलीबाट बगुवासम्म ट्याक्सीमा जाने र त्यहाँबाट रिस्तीखोला तरेर तनहुँको टुटेपानी गाउँसम्म केही घण्टा पैदल हिँड्ने योजना बनायौँ।
कात्तिकको दोस्रो साता दमौली निवासी गीतकार सागर उदाससँगै कवि भूपिन, हेमन्त विवश र म चार जनाको टोली टुटेपानी घुम्न निस्किएका थियौं। उदासलाई भेट्न हामी ३ भाइ दमौली पुग्दा एकाक्सि तय भएको थियो यो घुमफिर। यात्रा जति आकस्मिक थियो, उत्तिकै उत्साहप्रद पनि।
दमौलीबाट ट्याक्सीमा कलेस्ती, दुलहीपानी, सत्रसय, सोतीपसलजस्ता रमणीय भूभाग पार गर्दै बगुवा पुग्न करिब १ घन्टा लाग्यो। धानका बाला झुलिरहेका थिए, सुनझैँ टल्किरहेका थिए वरपर खेतका फाँटहरूमा। हामी त्यहीँ ओर्लियौं। नजिकै बगिरहेको रिस्ती खोला तरेर तनहुँको बाहुनपोखराबेसी पुग्दा एउटा सानो घरमा वि.सं. २०१८ मा स्थापित सहिद धर्म पुस्तकालयको पुरानो साइनबोर्डमा आँखा टक्क अडिए। बुझ्न मन लाग्यो यो पुरानो पुस्तकालयबारे। गाउँका मान्छेलाई सोध्यौँ। खोइ किन हो अचेल यो पुस्तकालय सञ्चालनमा रहेनछ। लाग्यो, स्थानीय निकाय र यहाँका बुद्धिजीवीहरूले यो पुस्तकालय पुनर्सञ्चालनका लागि छिटो पहल गरिहाल्नु आवश्यक छ। कुनै पनि ठाउँको चेतनाको उचाइ र सभ्यताको विकास त्यहाँ स्थापित पुस्तकालयको स्तर र अवस्थाले पनि बताइरहेको हुन्छ।
खेतको ठूलो फाँट नजिकको यो गाउँ, रमाइलो नै छ। यहीँ एउटा पसल पनि देखियो, खाजा खाने र एक छिन आराम गर्ने विचारले रोकियौँ हामी। खाजा तयार हुनुअघि आफ्नै बारीको एउटा भोगटे पनि साँधेर दिए पसले प्रदीप मिश्रले। हरहर लागेको बेला, साँधेको भोगटे। के चाहियो अब, मज्जाले जिब्रो पड्काउँदै खाइयो।
बाहुनपोखराबेसीबाट उँभोतिर लाग्नुपर्ने हामी। प्राकृतिक सुन्दरताको भरपुर आनन्द मिल्छ जता हेरे पनि। केही डाँडा कटेपछि १२ सय ७५ मिटर उचाइमा अवस्थित छ टुटेपानी गाउँ। उकालैउकालो र घुम्तीहरू। हामी पदयात्रामा जुट्यौं। गफको तालमा ठाउँठाउँमा केही बेर अडिएजस्तो गरे पनि खासै रोकिएनौँ। फटाफट अगाडि बढी नै रहे पाइलाहरू। दायाँबायाँ हरियाली जङ्गल, वनबुट्यान हेर्दै नागबेली उकालो बाटोमा दुई घण्टा जति हिँडेपछि गाउँलेहरूले पानी खाने एउटा कुवा देखियो। यसलाई गाँडपानी कुवा भनिँदो रहेछ । त्यहाँबाट अझै करिब आधा घन्टा हिँडेपछि पुगियो गन्तव्यमा।
गुरुङ जातिको बसोवास रहेको टुटेपानीमा उनीहरूको संस्कृतिअनुसारको खानपिन र नाचगानबाट पाहुनाको सत्कार सुरु हुन्छ। स्थानीय लोकसंस्कृति र अर्ग्यानिक खानाका परिकारमा रम्न आउने पाहुनाहरूका लागि व्यवस्थित सामुदायिक होमस्टेको विकास गरिएको छ यहाँ।
तनहुँको भानु नगरपालिका, वडा नं.१३ मा पर्ने यस सुन्दर गाउँमा वि.स. २०७२ देखि होमस्टे सुरु गरिएको हो। मङ्सिरदेखि वैशाखसम्म धेरै पाहुनाहरू यहाँको प्रकृति र संस्कृतिमा रम्न आउने गरेको टुटेपानी होमस्टे व्यवस्थापन समितिका सचिव अमर गुरुङसँग कुरा गर्दा थाहा पाइयो। होमस्टेमा अहिलेसम्म एक पटकमा ८० जनासम्म पाहुनालाई सेवासत्कार गर्न पाइएको अनुभव सुनाए उनले।
दमौली र डुम्रे दुवैतिरबाट यो गाउँसम्म दैनिक बस सञ्चालन हुन्छन्। गाडीमा गए दुबै ठाउँबाट डेढ घण्टा लाग्छ पुग्न। दमौलीबाट लमजुङको कुन्छासम्म बसमा गई त्यहाँबाट रमणीय दृश्यावलोकन गर्दै २ घण्टा पदयात्रा गरेर पनि यहाँ पुग्न सकिन्छ।
स्वच्छ हावापानी, प्राकृतिक सौन्दर्य, अर्ग्यानिक खानेकुरा, स्थानीयको सौहार्दपूर्ण व्यवहार के छैन यहाँ? ताजगी महसुस हुन्छ यहाँ पुग्ने जो सुकै पर्यटकलाई।
पुगेर स्वादिष्ठ र स्वस्थकर स्थानीय परिकारका स्वाद लिँदै भोक र थकाइ मेट्ने क्रममा थियौँ हामी। परिकारहरू थपीथपी खान हौस्याउँदै थिए मीठो बोलीवचनका धनी दिदीबहिनीहरू। खानपिन सक्दै गर्दा हामी बसेको सामुदायिक भवनको सभाकक्ष अघिल्तिर स्वागत गीत सुरु भयो -
‘स्वागत छ, स्वागत छ सबैलाई
यो हाम्रो रमाइलो गाउँमा
****
चारैतिर हरियाली ठाउँ
प्रकृतिले हराभरा गाउँ
सबैसँग मीठो बोल्ने बानी
म त हजुर गुरुङ्सेनी नानी’
यो गीतमा छमछमी नाचे दुई युवती रितु गुरुङ र सीता गुरुङ। नृत्य आकर्षक लाग्यो। आहा, पाहुनाको स्वागतसँगै गाउँको परिचय र प्रवर्द्धन पनि गीतमा!
स्वागत नृत्यपछि गुन्जियो मादल। लोकगीत गाउँन र नाच्न जुटे दिदीबहिनीहरू। मीठो गाउँने रहेछन् गीत। नाच पनि त्यतिकै राम्रो। भाका थियो -
‘छिनको छिनैमा
भेट भो माया के भनी बोलाऊँ म पहिलो दिनैमा’
दिदीबहिनीहरूको गीतले जवाफ मागेको महसुस भयो। हाम्रा साथी हेमन्तजी र सागर दाइ लोक दोहोरीमा जुट्न अघि सरे, कवि भूपिन र मैले पनि स्वर थप्यौं। भूपिनजीको नाच जम्यो एक छिन मज्जैले। पहिलो चोटि देखेको यी कविजीको नाच, राम्रा नाच्दा रहेछन्। नाच्न नजान्ने मलाई पनि दिदीबहिनीहरूले कर गरे नाच्न। कथाले मागेपछि नाइँनास्ति गर्नु पनि कसरी? एक छिन जानीनजानी घुमेँ। खै, नाच त भयो कि भएन, रमाइलो चाहिँ महसुस गरेँ। त्यहाँका स्थानीयको नाचको त के कुरा गर्नु, निकै राम्रो। फूलको थुङ्गो घुमेजस्तो आकर्षक।
पहिले रौसिएर गीत गाउँन अघि सरेका हेमन्तजीलाई सवालजवाफ गर्न हम्मेहम्मे परेको देखेपछि पछिल्लो चरणमा सागर उदास लागिपरे दोहोरी तताउन। एक छिनमै माया, प्रेम, बिहे, घरजम, सुखद भविष्यका योजना सबै बुनिए गीतमा त।
‘सुनिरन मन लाग्छ मायालुको बोली
पर्खिराख्छु भञ्ज्याङमा आऊ है भेट्न भोलि’
अर्को भाकामा पुगेर गायन समापन गर्दा रात छिप्पिन लागिसकेको पत्तो नै भएन।
नाचगानपनछि टुटेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गुरुङले छोटो मन्तव्य मार्फत पाहुनाको स्वागत र नाचगानमा सहभागी सबैलाई धन्यवाद दिए।
पाहुनाहरूलाई सत्कार गर्ने, सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जस्ता प्रयोजनाका लागि वि.सं. २०७२ मा टुटेपानीका आमा समूहद्वारा सामुदायिक भवन बनाइएको रहेछ। त्यहाँबाट हामी विमला गुरुङको घरमा गएर एउटै ठूलो कोठाको ४ वटा लस्करै राखिएका घाटमा ४ भाइ आरामले सुत्यौं। बिहानचाहिं ५ बज्नु अघि नै गाउँभरिका कुखुराका भाले एकसाथ बासेपछि निद्रा खुल्यो। यति धेरै भाले एकसाथ ठूलो आवाजमा बासेको त्यसअघि कहिल्यै सुनेको थिइनँ मैले, गाउँ नै उचालुँला जस्तो आवाज। गाउँघरमा बिहान सबेरै कतै जानु छ भने भाले बास्ने बेला भन्ने गरेको सानोमा सुनेको त थिएँ। भाले नै बासेर निद्रा ब्युँझाएको चाहिँ नयाँ अनुभव भयो।
बिहान सबेरै हामी सहिदहरूको गाउँ पुलिमराङतिर लाग्यौं। ग्रामीण पर्यावरणमा रम्दै, गफिँदै करिब डेढ घन्टा हिँडेपछि पुलिमराङ गाउँको सहिदपार्क पुग्यौँ।
व्यास नगरपालिकाको वडा नं ८ मा रहेको पुलिमराङ गाउँलाई सहिदहरूको गाउँका रूपमा चिनिन्छ। एकै गाउँका ६ जना योद्धाले वि.सं. २००७ को क्रान्ति र वि.सं. २०१८ मा निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध लड्दा सहादत पाएका थिए। यिनै छ जना सहिदहरू लालध्वज गुरुङ, हस्तवीर गुरुङ, सर्वसिंह गुरुङ, धर्मध्वज गुरुङ, शम्शेरबहादुर गुरुङ र भरत गुरुङको प्रतिमा लहरै बनाइएका छन् यो पार्कमा। पार्कनिर्माणको भौतिक संरचना अधुरै छाडिएको रहेछ। बनमारा घारीले ढाकिएको यो सहिद पार्कको रेखदेख पुगेजस्तो लागेन। सहिदपार्कको नै यस्तो अवस्था देख्दा सहिदप्रति अपमान गरेजस्तो लाग्यो।
पुलिमराङका युवा समाजसेवी धनप्रसाद गुरुङजीसँग पुलिमराङको सहिदपार्कबाट सागर दाइले फोनमा कुरा गरे।लाउडस्पिकरबाट गरिएको संवाद हामीले पनि सुन्यौ।
‘सहिदहरूको सपना के थियो, आज के भइरहेको छ! राजनीति गर्नेहरू संवेदनशील देखिएनन्,’ युवा समाजसेवी गुरुङ भावुक भएर भन्दै थिए, ‘सहिदहरूप्रतिको अपमानलाई शब्दमा व्यक्त गर्न पनि सकिँदैन।’
सत्तामा पुगेको राजनीतिक नेतृत्वले आश मात्र देखाउँछन् गाउँलेलाई। काम गर्नुपर्यो भन्दा हुँदैन कसैले भन्दैनन् र गाउँका लागि काम पनि केही गर्दैनन्। यही गुनासो गर्छन् गाउँका अरू मान्छेहरू पनि। सबैको कुराको आशय एउटै छ, नेतृत्व गर्नेले अब बोलेरभन्दा काम गरेर देखाऊन्।
देशमा पटकपटक राजनीतिक व्यवस्थाहरू त परिवर्तन भए तर पुलिमराङजस्ता गाउँहरूको अवस्था अझै उस्तै छ। राज्यको नजरबाट कहिलेसम्म उपेक्षाको शिकार भइरहने होलान् हाम्रा गाउँहरू? लोकतन्त्रका लागि सहादत दिने सहिदहरूको गाउँको समेत यस्तो दुर्दशा देख्दा मन भक्कानिन्छ।
सागर दाइसँग परिचित पुलिमराङकी कृष्णमाया गुरुङ दिदीको घरमा बिहानको खाजा खाँदै गाउँका केही दाजुभाइ, दिदीबहिनीहरूसँग केही बेर कुराकानी गरियो। सहिदको गाउँ अहिले पातलिँदै छ। पुलिमराङमा पहिले १०० भन्दा धेरै घरहरू रहेकोमा अहिले ५५ घर मात्र बाँकी छन्। युवा उमेरका मान्छे भेटिँन गाह्रो छ। युवाहरू कोही पढाइ, कोही रोजगारीको खोजीका क्रममा गाउँभन्दा टाढा पुगेका छन्।
कुराकानीका क्रममा थाहा भयो, हरेक वर्ष पुस १५ मा मुख्य चाडका रूपमा ल्होसार मनाउने यहाँका गुरुङ समुदाय दसैँ, तिहार पनि त्यत्तिकै खुसियालीका साथ मनाउँदा रहेछन्। वैशाख पूर्णिमामा घाटु र माघफागुनमा सोरठीको रौनक छाउँछ गाउँमा।
माछापुच्छ्रे र अन्नपूर्ण हिमाल आँखा अघिल्तिर झलल टल्किरहेका थिए। यी हिमालय श्रृङ्खला अनि तल बेसीतिरका फराकिला फाँट हेर्दा मन त्यसैत्यसै उन्मादित बन्छ। पुलिमराङ निकै रमाइलो छ ।
कृष्णमाया दिदीको घरबाट बिदा माग्दै सागर दाइले एउटा गीत पनि गाएर सुनाए-
‘झुल्कियो घाम हिमालमा
आँसु खस्यो रुमालमा
यो गाउँ छोडी जाने बेलैमा’
पुलिमराङबाट पुनः टुटेपानी फर्कियौँ हामी। प्रस्ट खुलेको हिमाल, हरियालीयुक्त परिवेश, पहाडी सौन्दर्य र नीलो, कञ्चन आकाश। बाटोमा कहिले गफ छाँट्दै त कहिले गीत गुनगुनाउँदै, डेढ घण्टाजस्तो हिँडेर हामी टुटेपानी होमस्टे नै पुग्यौ खाना खान।
फर्कने बेला पनि स्वागत गर्दाको जस्तै सगुन खुवाएर, एकछिन नाचगान गरेर बिदा गर्ने चलन रहेछ। बेलुका गीत गाउने दिदीबहिनीहरू फेरि गीत गाउँन जुटे। बज्यो फेरि मादल। एक छिन नाँच्दै, गाउँदै त्यहाँबाट दिउँसो १ बजे बिदा भएर गाडीमा दमौलीतिर लाग्यौं हामी। छुट्ने बेलामा टुटेपानीका गुरुङ्सेनी दिदीबहिनीहरूले गुन्जाएका गीत निकै मन छुने थियो। लाग्छ, मनको कुनै कुनामा अझै ध्वनित भइरहेकै छ -
‘हाम्रो माया साथैमा लिए
होला भेट भाग्यले साथ दिए
सँगै ज्यूँला, सँगै मरूँला
पुगेपछि फोन गर हजुर
मनको कुरा फोनमा गरूँला’