जुरे गोरुका जोडीबीच पालैपालोको घम्साघम्सी। आकर्षणको केन्द्र बनेका छन् गोरुहरू। कुन गोरुले कसरी जोस र कला देखाएर जुध्यो, सबैको चासो त्यसमै। निकै नै मनोरञ्जनप्रद छ उत्सवस्थल। हजारौँ दर्शक वरिपरि झुम्मिएका छन्। हम्मेहम्मे परेको छ प्रहरी र स्वयंसेवकहरूलाई उपस्थित रमिते दर्शकको भीड व्यवस्थापन गर्न।
माघे सङ्क्रान्तिको दिन मध्याह्न गोरू जुधाउने उत्सव हेर्न वेत्रावती पुग्दा बेग्लै अनुभूति भयो। ओहो, यी सब दृश्य केका लागि? मनोरञ्जन त छँदैछ, इतिहासको महत्त्वपूर्ण एक दिनको सम्झना गर्न पनि हो रे यहाँको गोरु जुधाइ उत्सवको औचित्य। यो सुन्दा ममा झन् उत्सुकता बढेको थियो उत्सवस्थल पुग्नुअघि नै ।
यस वर्षको माघे सङ्क्रान्तिमा वेत्रावती जाने कुराको निधो अघिल्लो दिन बेलुका मात्र भएको थियो। विभिन्न स्थानमा हुने गरेका गोरु जुधाउने उत्सवबारे पत्रपत्रिकामा समाचार पढे पनि प्रत्यक्ष अवलोकन गर्न पहिलो चोटि वेत्रावती पुग्ने मौका मिल्न लागेकोले आयोजकको आग्रह नाइँनास्ति गर्न सकिनँ।
हाम्रो यात्राको संयोजन रसुवाकै पर्यटन व्यवसायी शिव लामिछानेले गर्नुभएको थियो । उहाँसँगको सल्लाह अनुसार नै माघ १ गते बिहान ८ बजे कलङ्की चोकमा भेटेर वेत्रावतीतिर लाग्यौँ। साथमा विज्ञान बिटमा पत्रकारिता गर्नुहुने लक्ष्मण डङ्गोल पनि हुनुहुन्थ्यो। उहाँजस्ता अध्ययनशील युवासँगको यात्रा स्मरणीय नहुने कुरै रहेन।
कुराकानीका क्रममा शिवजीले वेत्रावतीको गोरु जुधाउने चलनका बारेमा पनि रोचक प्रसङ्ग सुनाउनुभयो। उहाँका अनुसार वि. सं. १८४९ मा तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धि भएपछि खुसियालीमा गोरु जुधाएर रमाइलो गर्ने चलन थालनी भएको रहेछ। भोटतिब्बत र नेपालको युद्धका कारण युद्धग्रस्त क्षेत्रको अनुभव भोगेका यहाँका बासिन्दाले युद्ध समाप्त भएको खुसियालीमा गोरु जुधाउएर उत्सव मनाउँन थालेको प्रसङ्ग रुचिकर लाग्यो। सन्धिको प्रसङ्गमा इतिहासमा लेखिए पनि त्यस बेलादेखि नै गोरु जुधाउने उत्सव सुरु भएको कुराको अभिलेख चाहिँ अहिलेसम्म फेला परेको छैन। उहाँले पनि यो प्रसङ्ग श्रुतिस्मृति परम्पराबाट नै अघिल्ला पुस्ताबाट सुन्दै आउनुभएको रहेछ। त्यसैले किम्बदन्तीमय लाग्छ सुन्नेलाई। वेत्रावतीका सांस्कृतिक, धार्मिक र प्राकृतिक पाटोबारे केही थाहा पाएको भए पनि यो प्रसङ्ग चाहिँ पहिलो चाटि सुनेँ मैले उहाँबाट।
इतिहास सम्झाउने यस्ता उत्सवको महत्त्व विशेष लाग्छ। यसका साथै किसानहरूको पौरख प्रतिबिम्बित गर्ने प्रतिष्ठाका रूपमा कसको गोरू बलियो भनेर प्रदर्शन गर्ने कुरा त छदैँछ। कृषिसंस्कृतिसँग जोडिएको एउटा सशक्त बिम्ब पनि हो यो।
यात्रा सुविधायुक्त नै थियो। बाटोमा कुनै सडक अवरोध झेल्नु परेन। नौबिसे बजार नजिकैको तामाङ्नी दिदीको होटलमा बिहानको खाजा खाएर गल्छी हुँदै नुवाकोटको देवीघाट पुग्दा बिहानको साढे १० बज्दै थियो। त्यहाँ पृथ्वीनारायणको सालिकअघि एक छिन रोकियौँ। नेपालका सानासाना राज्यलाई एउटैमा मिलाई आधुनिक नेपालको जन्मदिने राष्ट्रनायकप्रति हाम्रो मनको श्रद्धा कहाँ घटेको छ र? उनको सालिकलाई श्रद्धापूर्वक नमन गर्यौ र सालिकसँगै उभिएर तस्बिर पनि खिच्यौँ।
डाँडाकाँडा, हरियाली, नदीनाला हेर्दै यात्रा गर्नुको मज्जा बेग्लै हुन्छ। प्रकृतिका यस्ता कलाकारिता खुबै मन पर्छ मलाई पनि।लाग्छ, प्रकृतिभन्दा ठूलो स्रष्टा त अरू कोही हुनै सक्दैन। यस्तै सौन्दर्यबोध गर्दै वेत्रावती पुगियो। छोटो समय खानपिनको लागि छुट्याएपछि बिलम्ब नगरी उत्सवस्थल पुग्दा गोरु जुधाउन सुरु भइसकेको थियो। भव्य जमघटले घेरिएको थियो उत्सवस्थल।
नुवाकोट र रसुवा दुई जिल्लोको सङ्गमस्थल हो वेत्रावती। यहीँको फलाखु खोलाको किनारस्थित ठुलो मैदानमा उत्सवस्थल बनाइएको रहेछ। यस खोलाको पौराणिक नाम रुद्रगङ्गा बताइन्छ। भैरवकुण्डबाट बगेको यो खोला थोरै पर पुगेर गोसाईंकुण्डबाट निस्किएको त्रिशूली नदीमा मिसिन्छ। यस क्षेत्र उत्तरगया क्षेत्रका रूपमा पनि प्रसिद्ध छ। प्राकृतिक सौन्दर्यका दृष्टिले रमणीय लाग्छ यो स्थान।
गोसाईंकुण्ड युवा क्लवले वि.स. २०६२ देखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन वेत्रावतीमा गोरु जुधाइ उत्सव गर्दै आएको छ। यसअघि वेत्रावती सन्धिपछि गोरु जुधाएर रमाइलो गर्न थालिएको भनिए पनि बीचमा निरन्तरता पाउन नसकेको रहेछ। पछिल्लो समय यहाँका बासिन्दाको सक्रियतामा गोरु जुधाइ उतसवले निरन्तरता पाउँदै आएको छ।
रसुवा र नुवाकोटका १८ वटा गोरु यस वर्ष वेत्रावतीमा जुधाउन ल्याइए। नुवाकोटका हर्कपुर, साहुगाउँ, तुप्चे, फिकुरी, गेर्खुलगागतका गाउँहरू र रसुवाका लहरेपौवा, धुसेनी, बोगटीटार, कैडलेटारलगायतका गाउँका किसानहरू आआफ्ना जुरे गोरु लिएर उत्सवस्थल आएका थिए। गोरुको तौल र उमेरका आधारमा जोडी बनाएर जुधाउने गरिँदो रहेछ। प्रतिस्पर्धा एकएक जोडीबीच मात्र हुने। प्रथम हुने गोरुको लागि ३ हजार, दोस्रो हुने गोरू गोरुका लागि २ हजार ५ सय र सहभागी मात्र हुने गोरुका लागि १ हजार ५ सय प्रदान गरियो यसपालि। जुध्न नचाही फर्किने र ३ मिनेटभन्दा कम जुध्ने गोरुलाई सहभागी गोरु मानिँदो रहेछ। कार्यक्रम सकिएपछि गोरुको स्वास्थ्य अझै सबल होस् भनेर रसुवाको उत्तरगया गाउँपालिकाको पशुसेवा कार्यालयबाट केही भिटामिन पनि प्रदान गरियो।
नुवाकोटको तुप्चेबाट गोरु लिएर आएका किसान चतुरमान तामाङ आफ्नो गोरुले पहिलो पुरस्कार पाउँदा दङ्ग थिए। उनले भने, ‘मङ्सिरदेखि नै चामल, पिठो र कोदो खुवाएर गोरु पोसेको थिएँ, जितेरै देखायो।’
प्रतियोगितामा लानुअघि गाउँभरिका गोरुलाई आपसमा जुधाएर कुनले जित्छ त्यसैलाई मेलामा सहभागी गराउने पनि गर्दारहेछन् कुनैकुनै गाउँका किसानहरू चाहिँ। प्रतिस्पर्धामा आउने गोरु बलिया र लडाकु प्रवृत्तिका नै छानिने हुँदा जुधाइको रौनक हेर्न लायक बन्दो रहेछ।
जुधेर फर्किने बेलामा चाहिँ गोरु आक्रोशित मुद्रामा दौडिने हुँदा हेर्ने दर्शक सतर्क रहनुपर्ने रहेछ। त्यस्ता गोरुले हान्ने र दौडिँडा चेप्ने सम्भावना पनि हुन्छ। गोरुलाई उत्सवस्थल लैजान र फर्काउन स्वयंसेवकहरूलाई सास्ती परेको देखेँ। मेरै आँखा अघिल्तिर एक जना १२ वर्ष जतिका बालकलाई जुधेर फर्केको गोरुले ठक्कर दिएर लडायो। धन्न, खुट्टाले कुल्चिन भ्याएन र केही भएन! यस्ता खेल प्रदर्शन गर्दा विशेष सुरक्षा सतर्कता अपनाउनु पर्छ।
यसरी गोरु जुधाउँदा पशुअधिकारको पाटोप्रति पनि सचेत बन्न आवश्यक छ। जबर्जस्ती तालिम दिएर र लखेटेर जुध्न बाध्य पार्नु हुन्न। गोरुमा शारीरिक र मानसिक असर नपर्ने गरी चरिरहेको ठाउँमा जस्तै प्राकृतिक तरिकाले जुधाउन सक्नु पर्छ।
हुन त हाते ट्र्याक्टरको बढ्दो प्रयोगका कारण गाउँघरमा पनि पछिल्लो समय गोरु पाल्नेको सङ्ख्या चाहिँ कम हुँदै गएको देखिन्छ। यस्ता कार्यक्रमले गोरू संरक्षणका लागि थोरै भए पनि चासो चाहिँ बढ्ला कि?
गोरुलगायत पशुपालनबाट अर्ग्यानिक मल उत्पादन हुन्छ। यसले मानव स्थास्थ्यलाई असर पार्ने र दीर्घकालीन दृष्टिले हेर्दा जमिनलाई समेत बिगार्ने रासायनिक मललाई विस्थापन गराउँन सक्छ। बायो-ग्याँस उत्पादनका लागि समेत त्यत्तिकै उपयोगी हुन्छ।
‘स्वच्छ मनोरञ्जनात्मक खेलका रूपमा गोरु जुधाइ उत्सव आयोजना गरिएको हो’, गोसाईंकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले भने, ‘प्रत्येक वर्ष कार्यक्रमको आकर्षण बढ्दै छ र स्थानीयबाट उत्साहजनक सहभागिता हुँदै आएको छ।’
गोरु जुधाउने काम सकिएपछि लोकदोहोरी, स्थानीय साङ्गीतिक ब्यान्डको प्रस्तुति, बाल नृत्यजस्ता कार्यक्रमले उपस्थित दर्शकलाई थप मनोरञ्जन पनि दिइँदो रहेछ। यसले स्थानीस स्तरमा कलासङ्गीतको विकासमा टेवा पुगेको छ।
रसुवाकी युवा पर्यटनकर्मी ऋतु ग्याम्दान यस्ता कार्यक्रम गर्दा नयाँ पुस्तालाई पुरानो संस्कृति थाहा हुने, आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र यसबाट स्थानीयको आर्थिक उपार्जन बढ्ने बताउँछिन्।
ऐतिहासिक सन्धिस्थान, सांस्कृतिक केन्द्र र प्राकृतिक सौन्दर्यको सङ्गम वेत्रावती एउटा पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै गएको छनक पाइन्छ। पूर्वाधार विकास र प्रचारप्रसारमा ध्यान दिने हो भने यहाँको पर्टकीय सम्भावना प्रचुर छ।
हामी कार्यक्रम सकेर दिउँसो ५ बजे नै काठमाडौँ फर्कियौँ। फर्किन लाग्दा वि.स. १८४९ मा तिब्बत र नेपालबीच सन्धि भएको वेत्रावतीको एउटा फराकिलो ढुङ्गा पनि हेर्न भ्यायौँ। त्यस बेला त्यही फरातिलो ढुङ्गामाथि बसेर सन्धि गरिएको प्रसङ्ग यहाँका बासिन्दाबाट सुनिन्छ। हामी पुग्दा त्यस ढुङ्गामाथि किसानहरूले वरिपरिका खेतका परालका कुन्युहरू बनाएका राखेकादेख्यौँ। सानोसानो सभासम्मेलन नै गर्न मिल्ने गज्जबको ढुङ्गा रहेछ। यस ढुङ्गाछेउमा ऐतिहासिक वेत्रावती सन्धि सम्बन्धी संक्षिप्त जानकारी दिने अभिलेख राख्न सके अझ राम्रो हुन्छ ।
नेपाल र चीनबीचको सम्बन्ध धेरै पुरानो छ। दुई देशबीच मैत्रीपूर्ण सम्बन्धको औपचारिक सुरुवात वेत्रावती सन्धिबाट नै भएको बुझ्न सकिन्छ। यति महत्त्वपूर्ण सन्धि गरिएको ढुङ्गामाथि टेकेर इतिहास स्मरण गर्न पाइयो। लाग्यो, इतिहासको एउटा साक्षी हो यो विशाल ढुङ्गा पनि।
जाँदा गल्छीको बाटो गए पनि फर्किँदा शिवपुरीको बाटो फर्कियौँ। यताको बाटो केही छोटो पनि पर्दो रहेछ। साँढे ३ घन्टा जतिमा त काठमाडौँ फर्किन नै भ्यायौँ। बाटो निर्माणाधीन चरणमा नै रहेछ। राम्रो बनिसकेपछि त अझै सहज हुने छ। बिहान गएका हामी दिनभरि वेत्रावतीको उत्सव हेरेर बेलुका त आरामसाथ काठमाडौँस्थित आआफ्न निवासमा नै फर्किन भ्यायौँ।
बेलाबखत हुने सांस्कृतिक गतिविधि अवलोकन गर्न, ऐतिहासिक सन्धिस्थल हेर्न र प्राकृतिक सौन्दर्य हेरेर आनन्द लिन चाहने पर्यटकका लागि वेत्रावती राम्रो गन्तव्य बन्न सक्छ।
सबै तस्बिरहरूः निशा भण्डारी/सेतोपाटी