यात्रामा जीवनका विविध बिम्ब देख्न सकिन्छ। पढ्न पाइन्छ प्रकृतिलाई नजिकैबाट। रोचकता त छँदैछ। जगतको जीवन्त अध्ययन हुन्छ, घुमफिर गर्दा।
कात्तिक १३ र १४ गते दैलेखको पञ्चकोशी तीर्थ क्षेत्र घुम्ने संयोग मिल्यो। यात्राको योजना जति आकस्मिक थियो, त्यत्तिकै रमाइलो र उल्लेखनीय भयो। अनेक पौराणिक प्रसङ्ग जोडिएका रहेछन् यस तीर्थ क्षेत्रसँग।
सल्लाह भए अनुसार कात्तिक १३ गते बिहान ७ बजे त्रिभुवन विमानस्थलमा भेट भयौँ मित्र अमृत भादगाउँले र म। बिहान ८ बजे बुद्ध एअरबाट यात्रा आरम्भ गरियो। हामीले सोचेजस्तै थियो मौसम। सफा र उज्यालो आकाश। उडेको केही बेरमै झलझलाउँदा हिमाली श्रृङ्खला देखिए। आँखा डुलिरहेँ विमानको झ्यालबाहिर। त्यति लामो हिमाली श्रृङ्खला पहिलो चोटि देख्दै थिएँ। पुलकित भयो मन। रोमाञ्चमय तबरले बित्यो १ घण्टा १० मिनेट। बिहान ९:१५ मा ओर्लियौँ सुर्खेत।
हामीलाई लिन दैलेखबाट युवा उद्यमी मित्र रूपक थापाले स्कार्पियो जिप पठाइसक्नु भएको रहेछ सुर्खेत । हामी विमानबाट ओर्लिने बित्तिकै गाडी चालकले सम्पर्क गरे। विलम्ब नगरी दैलेखतिर लाग्यौँ। चालक रसिला र जोसिला परेछन्। रसिक गफ गर्न सुरु गरे। यात्रामा रङ थपिन्छ मीठामीठा गफले पनि।
हरियाली सडकमा सर्रसर्र हुइँकियो जिप। अलिमाथि पुगेपछि देखियो सुर्खेतको गढी।
‘सुर्खेतको पुरानो सदरमुकाम यही गढी हो,’ चालकले गढीको चिनारी गराउँदै भने, ‘पहिले पहिले औलो लाग्ने डरले तलतिरका भूभागमा बस्न डराउँथे रे मान्छे।’
लादे, रातानाङ्गलाजस्ता स्थान कटेपछि रानीमत्ता भन्ने स्थान आइपुग्यो। हाम्रा चालकले स्थानीय बासिन्दाबाट सुने अनुसार रानीमत्ता नामकरण हुनुसँग रमाइलो प्रसङ्ग जोडिएको रहेछ। मोटरबाटो बन्नुअघिको कुरा, राजारानी भ्रमणमा निस्केको बेला त्यहाँ पुगेपछि त्यहाँको प्राकृतिको सौन्दर्य र अन्य कारणले रानीलाई निकै नै उन्मादित तुल्याएछ रे। सायद कुनै विकल्पबाट कामक्रीडा त्यहीँ सम्पन्न भयो होला। पछि यो ठाउँको नाम नै रहन गएछ, रानीमत्ता। सुर्खेतबाट उभो लाग्ने क्रममा यहीँबाट दैलेख जिल्लाको भौगोलिक सीमा सुरु हुन्छ।
गुराँस नै गुराँसका रूखले ढाकिएका पाखापखेराबीच सानो बजार भेटिन्छ, गुराँसे। हामी गुराँसे पुग्दा बिहानको साँढे १० बजिसकेको थियो। त्यहीँ रोकियौँ केही बेर। देवी होटलमा खाना खायौ। गाउँमै उत्पादित अन्न, तरकारी र सलाद। निकै मीठा परिकार। स्वाद र स्वस्थ्य दुबै दृष्टिले उत्तम। अचेल सहरतिर यस्ता होटेल भेटाउन मुस्किल छ।
गुराँसेको खानाको प्रशंसामा केही शब्द खर्चंदै हामी गन्तव्यतिर गतिशील भयौँ।
‘गुराँस फुल्ने समयमा पनि आउनुहोला,’ गाडीका गुरुजी कुरा गर्ने सिलसिला जोड्दै थिए, ‘ढकमक्क गुराँस फुलेको देखिन्छ जता हेरे पनि।’ अमृतजीले गुराँस फुल्ने बेला पनि यात्रा गरिसक्नुभएको रहेछ यो बाटो। उहाँले गुरुजीको कुरामा सही थाप्नुभयो।
स्वच्छ आकाश। हरियाली परिदृश्य। पाखा, पखेरा र पहाड। प्रकृतिको सुन्दर कलाकारिता हेर्दै यात्रा गर्दा सायद सबैलाई मज्जा लाग्छ होला। पूरापुर मज्जा लिन्छु म पनि यस्तो यात्रामा। पहाडमै जन्मिएर हुर्केकोले पनि हुनसक्छ, निकै मन पर्छ मलाई पहाडी पर्यावरण।
गाइबान्ना, घोडाबास , तालपोखरीजस्ता ठाउँहरू पार गर्दै हामी मध्याह्नमा जिरो पोइन्ट भन्ने ठाउँ पुग्छौँ। त्यहीँ अडिनुपर्ने भयो केही बेर। हामीलाई लिनकै लागि आउँदै हुनुहुन्थ्यो दैलेखबाट मित्र रूपक थापा। त्यहीँ भेटेर केही बेर घुम्ने अनि दैलेख बजार पुगेर बास बस्ने सल्लाह भएको थियो। दुई दिनमा पञ्चकोशी क्षेत्र घुमेर फर्किने हाम्रो कार्यक्रमको पथप्रदर्शक र प्रमुख सहयोगी उहाँ नै हुनुहुन्थ्यो।
जिरो पोइन्टमा रहेछ ‘शाही होटेल’ लेखिएको एउटा सानो होटेल। पर्खनु थियो केही बेर, चिया पिउने बहानामा बस्यौँ त्यहीँ एक छिन। नजिकैको गाउँ लाटेका दुई जना टेकबहादुर नामधारी भेटिए होटेलमा। एउटै नाम दुबैका, थर मात्र फरक। एक जना बुढा, अर्का भण्डारी। कुराकानी गर्ने क्रममा थाहा भयो उनीहरूका गाउँमा खानेपानीको दुख रहेछ। ५० भन्दा धेरै घरधुरी रहेको गाउँमा एउटै मात्र धारो छ रे। स्थानीय सरकारले पनि नहेरेकोमा आक्रोश जनाए। लाग्यो, यस्ता दूरदराजका पीडा बुझ्ने सरकार चाहिँ कहिले पाउला देशले?
केही बेरको प्रतीक्षापछि आइपुग्नुभयो रूपकजी। उहाँसँगै दैलेखी युवा पत्रकारद्वय गोविन्द केसी र विशाल सुनार पनि यात्रामा जोडिनुभयो। अभिवादन आदानप्रदानको सामान्य औपचारिकता पछि ढिलासुस्ती नगरी रूपकजीले हामीलाई लैजानुभयो तल्लो डुङ्गेश्वरतिर। यहीबाट सुरू भयो हाम्रो पञ्चकोशी तीर्थ क्षेत्रको यात्रा। लोहोरे खोला र कर्णाली नदीको दोभानमा पुगेर रौकियौँ। निकै रमणीय ठाउँ। यहीँ रहेछ महादेवको मन्दिर।
यस मन्दिरमा सानो बालक चढाउने चलन रहेछ, जसलाई देउकेटा भनिन्छ। देउकेटा नै बन्छ मन्दिरको पुजारी। उमेर १६ वर्ष कटेपछि देउकेटा फेरिँदो रहेछ। हालका पुजारी देउकेटा जीवन गिरीलाई हामीले भेट्यौँ। आफूहरू बाजेबराजुका पालादेखि नै यस मन्दिरको पुजारी रहँदै आएको उनले सुनाए। उनी दुल्लुको विजय माध्यमिक विद्यालयमा पढ्दै पनि रहेछन्। पढाइ नछाडे भविष्यका अन्य बाटा पनि त छन् यिनका अघि।
यहीँ मन्दिरको प्राङ्गणमा भेटिए दुल्लुकै नयाँ बस्तीका बादी समुदायका बालबालिका। १०/ ११ वर्षका पदम बादी, सुनिल बादी र विशाल बादीले सुरिलो स्वरमा गीत गाएर सुनाए। गीत सुनाएपछि पैसा माग्दा रहेछन्।अलिअलि दियौँ हामीले पनि।
मन्दिर नजिकैबाट बगेको छ कर्णाली नदी। नदी बगेतिर पनि गइयो एकैछिन र कर्णालीको पानीलाई पहिलो चोटि स्पर्श गरियो। नजिकै केही पसल र होटल पनि रहेछन्। दिउँसोको खाजा त्यहीँ खाने मेसो मिल्यो।
कुराकानीका क्रममा थाहा पाइयो, पञ्चकोशी तीर्थ क्षेत्रको प्रसङ्ग बुझ्न पुराणसम्म पुग्नुपर्ने रहेछ। आफ्नी पहिली पत्नी सतीदेवीको निधन हुँदा विक्षिप्त बनेका थिए रे महादेव। उनले प्रिय पत्नी सतीदेवीको शवलाई गलेर नझरुन्जेल नछोडी बोकेर डुलिहिँडेको कुरा पुराणमा आउँछ। सतीदेवीको शव गलिसकेपछि यही पञ्चकोशी क्षेत्रका विभिन्न स्थानहरूमा खसेको कथन छ। शिर खसेको ठाउँमा शिरस्थान मन्दिर, छातीको भाग खसेको ठाउँमा कोटिला मन्दिर, नाइटो खसेको ठाउँमा नाभिस्थान मन्दिर, पाउ खसेको ठाउँमा पादुका मन्दिर र बाँकी रहेको धुलोमैलो खसेको ठाउँमा धुलेश्वर मन्दिर बनाइएको बताइन्छ।
पौराणिक प्रसङ्गसँग जोडिएको दैलेख जिल्लामा पर्ने पञ्चकोशी तीर्थ क्षेत्र घुम्न नै हामी त्यहाँ पुगेका थियौँ। डुङ्गेश्वरबाट डेढ घण्टाको मोटर यात्रापछि हामी कोटिला मन्दिर पुग्यौँ। सुरम्य प्राकृतिक वातावरण। मन्दिर नजिकै मठाधीश र पुजारीको वासस्थान। त्यहाँ पुग्दा ५ जना वृद्ध महिलाहरू सन्त भेषमा देखिए। यस मन्दिरमा मठाधीश र पुजारीहरू सबै महिला मात्र रहने परम्परा रहेछ। मन्दिरका मठाधीश शिव गिरी र अन्य पुजारीहरू रमण गिरी, शान्ता गिरी, नारद गिरी र नारायण गिरी रहेछन्। ४ जनाको त नाम नै पुरुषका जस्ता तर नझुक्निनुहोस् उनीहरू सबै महिला हुन्।
यो कोटिला मन्दिर क्षेत्र दधीचि ऋषिले तपस्या गरेको ठाउँ पनि हो भन्न्ने बताइन् मन्दिरकी मठाधीशले। अति परोपकारी र त्यागीका रूपमा यी ऋषि चिनिन्छन्।
यहाँको प्राकृतिक सौन्दर्यले हामी सबैलाई मोहित तुल्याएछ। निकै बेर बितेको पत्तै भएन। समय घट्किसकेकोले यहाँबाट सिधै दैलेख हानियौँ।
दैलेख बजार पुग्दा झम्के साँझ खस्नै लागेको थियो। रूपकजीको आत्मीय आतिथ्य पाएका थियौँ। केही कुराको कमी थिएन। आरामसँग रात बिताइयो।
कात्तिक १४ गते बिहान। ब्युँझने बित्तिकै झ्यालको पर्दा स्वार्र सारेँ। आहा, दैलेखी दृश्यहरू! डाँडामाथि अर्को डाँडा, पहाडमाथि अर्को पहाड। लहरलहरमा उभिएका पहाडी सौन्दर्य। पहाडको फेदीतिर झुन्डझुन्डमा छरिँदै गरेका कुहिरोसँग लुकामारी खेल्दै थिए घामका कलिला किरणहरू। नित्य कार्य सकेर बिहान खाजा खाने बित्तिकै पञ्चकोशी तीर्थ क्षेत्रतिर लागियो।
रूपकजी आफैंले जिप चलाउनुभयो। साथमा गोविन्द र विशाल। दुबै युवा जोसिला र रसिला। अमृतजी र म त घुमन्ते भइहाल्यौँ, घुम्नकै लागि जन्मिएका जस्ता। हामी लाग्यौँ पञ्चकोशीकै एक धाम धुलेश्वरतिर। राउतकोट, महतारागाउँ आदि गाउँ हेर्दै गयौँ। दैलेख घुम्दा थरसँग जोडिएका गाउँका नाम सुनेर अनौठो नमान्नुहोला। यहाँ त ३२ वटा थरसँग जोडिएका गाउँ देख्न सक्नुहुन्छ। समाजशास्त्रका पाटाहरू घुमफिरसँग पनि जोडिन्छन् नि, कि कसो?
दुल्लु नगरपालिकामा पर्ने धुलेश्वर मन्दिर पुग्दा मन्दिर प्राङ्गणमा नै भेटिए महन्त टीकाराम वन। सतीदेवीको शवको अन्तिम धुलो यहीँ झरेको भन्ने पौराणिक प्रसङ्ग छ।पहाडको माथिल्लो भाग। चरैतिर सुन्दर दृश्य देखिन्छन्। परिवेश रमणीय लाग्यो।
धुलेश्वरबाट पादुका मन्दिर पुग्दा बिहानको १० बजिसकेको थियो। सतीदेवीको पाउ खसेको विश्वास गरिन्छ यस धाममा। पादुका खोलाको किनार नजिक छ मन्दिर। आकर्षक स्थान। विभिन्न देवीदेवताका कलात्मक ढुङ्गे मूर्तिहरू यत्रतत्र छन्। मूर्तिकला अवलोकन र अध्ययन गर्न चाहनेहरूका लागि त झन् उदाहरणीय छ पादुका। महावीर, बुद्ध, दुर्गा, गणेश आदिका मूर्तिहरू एकै स्थानमा देख्न सकिन्छ। लाग्छ, धार्मिक सहिष्णुताको सन्देश पनि छ यहाँ।
पादुकाका पुजारी जीवनाथ योगीका अनुसार वि. सं. १२२१ को अभिलेख पनि छ मन्दिरमा। अभिलेखका अध्येताहरू पुगून्। के लेखिएको रहेछ, उनीहरूले हामीलाई पनि बुझाऊन्।
हामी पञ्चकोशी क्षेत्रमा पुगेको थाहा पाउनुभएपछि चमुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले हामीलाई स्वागत गर्न चाहनुभयो। हामी नगरपालिकाको कार्यालय रहेको जम्बुकाँध पुग्यौँ। परिचयसँगै अनुभूति आदानप्रदान गरियो। मेयर शाहीजीले आफू गाडी नचढेर त्यो रकमले गाउँलेका लागि एम्बुलेन्स किनिदिनुभएको रहेछ । जैविकमैत्री हरियाली सडकका रूपमा सडकका दायाँबायाँ एक हजार वरपीपलको बोट लगाउने, कृषिसुधारका लागि एक वडा एक नर्सरी बनाउनेलगायतका उहाँका प्रयासहरू राम्रा लागे।
हाम्रा लागि १४ गते बिहानको भोजनको प्रबन्ध पनि मिलाइसक्नु भएको रहेछ मिष्टभाषी मेयर शाहीजीले। गुणे धानको चामल, सिस्नो, अचार र तरकारीका किसिम। सबै स्थानीय। खाना खायौँ उहाँसँगै। अर्गानिक स्वाद मीठो नहुने कुरै थिएन। अझै मीठो लाग्यो उहाँको आत्मीयता।
मध्याह्नपछि जम्बुकाँधबाट हाम्रो घुमफिर अभियान अघि बढ्यो। बीचमा एकैछिन रोकिएर दुल्लुको पौवामा पस्यौँ। जसबाबु काजीद्वारा निर्मित २ सय वर्ष पुरानो यो पौवामा अहिले दुल्लु सांस्कृतिक सङ्ग्रहालय रहेछ। अलि पर पुगे पछि नेपाली भाषाको प्राचीन अभिलेख रहेको दुल्लुदरबार क्षेत्र देखियो। प्राचीन सिञ्जा साम्राज्यका सम्राटले शीतकालीन समयमा यहीँ आएर आराम गर्ने र राजकाज चलाउने दरबार रहेछ यो। सिञ्जामा जाडो मौसममा हिउँ पर्ने र यहाँ न्यानो हुने हुँदा उनले त्यो समयमा यहाँको दरबार प्रयोग गर्थे भन्ने इतिहासका कुरा थाहा पाइयो। अहिले दरबारको भग्नावशेष मात्र बाँकी छ। बाटोमै ऐतिहासिक पाथर नाउने (पानीको कुवा) पनि देख्यौँ। प्राचीन समयमा पदयात्रीहरूका लागि पानी पिउन बनाइएको यो कुवा ढुङ्गैढुङ्गाको गारो र छानोभित्र छ।
नाभिस्थान मन्दिर पुग्दा दिउँसोको ४ बजिसकेको थियो। पौराणिक कथनअनुसार महादेवले सतीदेवीको शव बोक्दै यहाँ आइपुग्दा नाइटो पतन भएको ठाउँ। मन्दिर परिसरमा विशालकाय समीको रूखको शीतल छायाँमा पुग्दा आनन्दको अनुभूति भयो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार योगी र मन्दिरका महन्त इन्द्रनाथ योगीले हामीलाई फूलको माला र टीका लगाइदिनुभयो। स्वागतमा आत्मीयताको सुगन्ध मिसिएको थियो।
नाभिस्थान मन्दिरमा जमिनमुनिबाट निस्किएका दुई वटा ज्वाला नित्यनिरन्तर बलिरहेको देख्न सकिन्छ। यी दुई ज्वालाको नाम इन्द्रज्वाला र बडीज्वाला रहेछ। महन्त इन्द्रनाथले भने, ‘यी ज्वाला दैविक कालदेखि नै यसैगरी बलिरहेका छन्।’
पञ्चकोशी तीर्थ क्षेत्र घुम्ने क्रमको अन्तमा हामी पुग्यौ शिरस्थान मन्दिर। नजिकै स्वच्छ पानी कलकल बग्ने खोला। चारैतिर हरियाली। प्रकृतिको काखमै छ यो मन्दिर पनि। पुराणको प्रसङ्गमा यहाँ सतीदेवीको शिर पतन भएको उल्लेख छ। मन्दिर वरपर ३ वटा ज्वाला बल्दै गरेको देख्न सकिन्छ, ज्वालादेवी, काली ज्वाला र सीता ज्वाला। मन्दिरका पुजारी लक्ष्मीनाथ योगीले बताएअनुसार यी ज्वालाहरू सत्ययुगदेखि नै यहाँ बलिरहेका छन्। प्रकृतिका गर्भबाट निस्किएका यी ज्वालाबारे भूगर्भशास्त्रीय कोणबाट पनि अध्ययन, अनुसन्धान गर्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
हाम्रो दुई दिने घुमफिर कार्यक्रम योजनाअनुसार नै सकियो। यसको श्रेयको भागीदार रूपकजी हुनुहुन्छ। उहाँ नै हुनुहुन्थ्यो यात्राको सारथि र संयोजक।
दैलेख बजार पुग्यौँ साँझ। अघिल्लो दिनकै आत्मीय र आरामदायी आतिथ्यको निरन्तरता थियो रूपकजीकहाँ।
१५ गते बिहान ‘होटल पार्क इन’ अघिल्तिर दैलेखी साथीहरूसित सामूहिक तस्बिर खिच्यौँ र बिदाबारी भई हामी घुमन्ते दुई भाइ काठमाडौँतिर फर्कियौँ।
यतिखेर दैलेखमा सुनेको एउटा लोकगीत मनमा गुन्जिँदै छ -
‘दुल्लु राम्रो ती कीर्ति खम्बा
दैलेख राम्रो गढी
काँ पुगेर के खान्छेस्
भन्दे मैना चरी’
केही थप तस्बिर