सानो छँदा धेरै सुनेका थियौं– फलानो काशी गएर पण्डित भएर आयो। फलानो वनारस पढ्न गयो।
तिनताक नेपालीका लागि ज्ञान आर्जन गर्ने मुख्य थलो थियो वनारस। संसारकै संरक्षक मानिने विश्वनाथको दर्शन गर्ने पूण्यभूमि पनि हो वनारस। जीवनमा एकपटक वनारस पुग्नैपर्छ र गंगा नुहाउनैपर्छ भन्ने हिन्दुहरूको मान्यता छ।
मभित्र पनि वनारस यात्रा गर्ने रहर थियो, सानैदेखि।
टिभी, इन्टरनेट र तस्बीरमा वनारसको गंगा आरती, विश्वनाथ दर्शन, खानपिन, संस्कृति, रहनसहन, गल्ली र भीडभाड देख्दा पुगिहालौं जस्तो लाग्थ्यो। वनारस हिन्दु विश्वविद्यालयमा संस्कृत पढ्दै गरेका साथीहरू र अग्रजले सुनाउने काशीगाथाबाट पनि लोभिएको थिएँ।
यी सबै कहावत र लिखतले बनाएको कोलाज मस्तिष्कमा बोकेर वनारस पुग्नु एउटा विचित्र अनुभव सँगाल्नु रहेछ।
मध्य असारको गर्मीबीच हामी चार जना पत्रकार (हरिबहादुर थापा, अमृत भादगाउँले, अच्यूत पुरी र म) बुद्ध एयरको प्याकेजमा वनारस पुग्यौं।
एक घन्टाको हवाई यात्रापछि वनारसको लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल ओर्लंदा बाहिरको तापक्रम ३० डिग्री थियो।
भोलिपल्ट बिहान ५ बजेबाट हाम्रो धार्मिक यात्रा सुरू भयो।
हाम्रो पहिलो यात्रा थियो गंगा सयर।
अर्जुन साहनीले हामीलाई गंगा डुलाए। वनारस सहरलाई चन्द्राकार घेरेको गंगा किनारका साना ठूला ८४ वटै घाटको परिचय दिए। करिब दुई घन्टा गंगामा डुलाए।
अाशी घाटदेखि राजघाटसम्म पैदल या नौका बिहार गरी घुम्नुको बेग्लै मजा हुँदो रहेछ। गंगा नदी किनारमा आँखाले भ्याउन्जेल घाटहरू देख्यौं। त्यसमध्ये ललिता घाटमा पशुपतिनाथजस्तै मन्दिर देखियो। रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरासुन्दरीले त्यो मन्दिर बनाउन लगाएकी रहिछिन्। उनैले बनाएको घाट भएकाले ललिता घाट भनिएको रहेछ।
त्यहाँका ८४ घाटमध्ये हरिश्चन्द्र, दशाश्वमेघ, मणिकर्णिका, आशी, चेतसिंह, त्रिपुरामुखी, मनमन्दिर, सिम्दिया घाट लगायतबारे अर्जुनले हामीलाई जानकारी गराए।
सबै घाटको आ–आफ्नै महत्व छ। हरिश्चन्द्र घाटलाई मुख्य मनिँदोरहेछ। प्राचीन कथाअनुसार महर्षी विश्वामित्रलाई महाराजा हरिश्चन्द्रले सबै दान दिएर देहत्याग गरेकाले हरिश्चन्द्र घाट भनिएको रहेछ।
पाँच तीर्थस्थलमध्ये पर्ने आशीघाट, दशाश्वमेघ, मणिकर्णिका, पन्चगंगा र बरुण संगममा राजा दिवोदासले अश्वमेघ यज्ञ गरेका रहेछन्।
मणिकर्णिका घाट भने काशीको मुक्तिक्षेत्र मानिँदो रहेछ। यहाँ जसको अन्तिम संस्कार हुन्छ, उसले स्वर्गमा बास पाउँछ भनी भगवान् शिवले विष्णुलाई बचन दिएका रहेछन्। त्यसैले पनि टाढा–टाढाबाट अन्तिम संस्कारका लागि यहीँ मृत शरीर ल्याउने प्रथा रहेछ।
एकपटक भगवान् शिव र पार्वती यही नदी किनारमा नुहाउँदा शिवको मस्तक (निधार) को मणि र पार्वतीको कानको झुम्का हराएकाले यस घाटको नाम मणिकर्णिका रहेको कथन छ।
साँझको गंगा आरती वनारसको अर्को विशेषता हो। अध्यात्म र संगीतको अनुपम संगम गंगा किनारमा छल्किन्छ। करिब एक घन्टाको आरती हेर्न हजारौं भेला हुँदा रहेछन्। डुंगावालाहरू पैसामा मोलमोलाइ गर्दै डुंगामा चढेर आरती हेर्न आग्रह गरिरहेका हुन्छन्।
***
काठमाडौंजस्तै वनारस पनि मन्दिरै-मन्दिरको सहर हो। असनका जस्तै गल्ली छन्। जताततै फूल र प्रसाद बेच्न बसेका बिक्रेता। सबैको निधारमा चन्दन र रातो टीका। सबैतिर साकाहारी भोजन। जताततै घण्टीको निरन्तर टङटङ आवाजले वातावरण आध्यात्मिक सुनिन्छ।
घाटबाट केहीबेर गल्ली हिँडेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी भेटिए। विश्वनाथ मन्दिरको सुरक्षाका लागि ती परिचालित भएका रहेछन्। केही समयअघि मन्दिर तोडेर मस्जिद बनाएदेखि यहाँ सुरक्षाकर्मी बढाइएको रहेछ।
विश्वनाथ मन्दिरमा पाँचपटक आरती र विशेष पूजा हुन्छ। मन्दिरको व्यवस्थापन विश्वनाथ विकास कोषले गर्छ। मन्दिर बिहान २ बजेदेखि राति ११ बजेसम्म खुल्छ। राति ११ बजे भगवानको भव्य शयन आरतीसमेत हुँदो रहेछ। मन्दिरमा गएर विशेष पूजा गर्नेले तीन सय रूपैयाँको टिकट काट्नुपर्छ।
इन्दौरकी महारानी अहल्याबाईले सन् १७८० मा मन्दिरलाई अहिलेको रुप दिएकी हुन्। मन्दिरका दुई छतमा पञ्जाबका महाराजा रणजित सिंहले सन् १७८५ मा सुनका पत्थर लगाएका रहेछन्। यसको गर्भगृहमा चाँदीको शिवलिंग छ।
यहाँ ठगको बिगबिगी हुन्छ। मन्दिर प्रवेश गर्नेबित्तिकै एक जना आएर हामीलाई डोहोर्याउन थाले। हामीले मन्दिरकै स्वयंसेवक होलान् भन्ठायौं। उनले मन्दिरको वर्णन गर्दै डुलाए र अन्तिममा ब्राम्हण दक्षिणा भन्दै भारु २ सय ५१ मागे।
विश्वनाथ दर्शन गरेर बाहिरपट्टि सँगै रहेको माता अन्नपूर्णाको दर्शन गर्यौं।
***
वनारसको पुरानो नाउँ वाराणसी हो। अचेल पुरानै नाउँ पुकारिन्छ।
काशी अर्थात् वनारसका बजारहरू प्राचीन स्वरुप जोगाउँदै आधुनिकतामा रम्न खोजेको भान हुन्छ।
धूलो मनग्गे रहेछ। बजार यत्रतत्र धुलाम्मे देखिन्छ। ट्राफिक व्यवस्थापन कम छ। जहाँतहीँ जाम। टेम्पु, रिक्सा र गाडाहरू भरमार चल्तीमा छन्। ट्याक्सी र कारको व्यवस्थापन नगन्य छ। बिहान चोकचोकमा मट्का चिया पाइन्छ। माटोको सानो भाँडोमा सुरुप-सुरुप!
वनारसका गल्ली निकै अनौठा छन्। नागबेली परेका थुप्रै गल्ली। छाडा गाई–गोरुको साम्राज्य छ। साँघुरा गल्लीमा बग्रेल्ती मान्छे हिँडिरहन्छन्। त्यहीँ मोटरबाइक हुइँकिन्छन्। गाई–गोरुको मलमूत्र छरपष्ट छ। विभिन्न खालका पसल अटाई-नअटाई बाटो ढुकेर बसेका छन्। साहुजीहरू व्यापार गर्न माहिर छन्।
वनारसका गल्ली हेरेर भन्न सकिन्छ, वनारस वनारसजस्तै छ। यहाँका गल्लीमा प्राचीनता झल्किन्छ। सबभन्दा अनौठो त यहाँ साँढेका ठूल्ठूला शालिक सडकमा देखिन्छन्। धेरै गल्ली र बाटा भएकाले दर्शनार्थी नझुक्किऊन् भनेर यस्तो शालिक बनाइएको रहेछ। साँढेको मुख जता फर्किएको हुन्छ त्यही बाटो सिधा गए बाबा विश्वनाथको मन्दिर पुगिन्छ।
***
वनारस हिन्दु विश्वविद्यालय (बिएचयू) यहाँको सबभन्दा महत्वपूर्ण थलो हो।
मदनमोहन मालवीयले सन् १९१६ मा यो विश्वविद्यालय स्थापना गरेका हुन्। एक हजार तीन सय एकड क्षेत्रफलमा फैलिएको एसियाकै ठूलो आवासीय विश्वविद्यालय हिन्दु सभ्यताको खोज र अनुसन्धानका लागि संसारमै प्रसिद्ध छ। नेपालसहित संसारभरका विद्यार्थी यहाँ अध्ययन गर्न आउँदा रहेछन्।
बिएचयूभित्रै रहेको नयाँ विश्वनाथ मन्दिर पनि हामी घुम्यौं। विश्विवद्यालय परिसर शुक्रबार र सार्वजनिक विदाका दिन बन्द हुन्छ।
वनारसको मुख्य सहरबाट १४ किलोमिटर टाढा गंगाको पूर्वी किनारमा रामनगर किल्ला छ। राजा बलवन्त सिंहले निर्माण गरेको दरबारलाई संग्रहालयमा परिणत गरिएको रहेछ। ५० रूपैयाँको टिकट काटेर संग्रहालय पस्यौं। त्यहाँ राजसी ठाँटका तमाम चिज संग्रहित रहेछन्। अंग्रेज शासन बेला चढ्ने गाडी, गहना, कपडा तथा विभिन्न अस्त्रको विशाल संग्रह।
नेपालका पुराना दरबारहरूकै झल्को दिने संग्रहालयमा हाम्रा पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, राजा महेन्द्रका पनि तस्बिर छन्।
त्यसपछि सुरूङजस्तै भर्याङ ओर्लिएर गंगा किनार पुग्यौं। सायद यिनै भर्याङ ओर्लिएर राजपरिवार गंगामा स्नान गरी मन्दिरमा पूजा गर्थे ! मन्दिरबाट गंगामा तैरिएका डुंगा र पारि विश्वविद्यालयका रमणीय दृश्य सुन्दर लाग्छन्।
***
यात्राको तेस्रो दिन बिहान खाजा खाएर हामी वाराणसीभन्दा ३०० किमी टाढा बोधगयाका लागि निस्कियौं।
भगवान गौतम बुद्धले वुद्धत्व प्राप्त गरेको यो भूमि बिहार राज्यमा पर्छ। गाडी चालक साह्रै रमाइला रहेछन्। उनलाई नेपाल–भारत मात्र होइन चीन, कोरिया, अमेरिका र रसियाका तथा उत्तर कोरियाका पछिल्ला सबै राजनीतिक घटनाक्रमबारे जानकारी रहेछ।
नेपालमा नाकाबन्दीपछि भारतले गरेको सम्बन्ध सुधारको प्रयासदेखि नेपाल र नेपालीको बयान गर्न पछि परेनन्। धेरैपटक काठमाडौं आएका उनले पशुपतिनाथ, पोखरा, नगरकोट लगायत ठाउँ घुमेका रहेछन्।
यात्रामै हामीले वनारसी पान, वनारसी आँप, वनारसी बिर्यानी र लस्सी खायौं।
फराकिला सडकमा गाडी कहीँ जाम परेन। करिब ६ घन्टाको यात्रापछि बोधगया पुग्यौं।
मुख्य राजमार्गबाट डोभ भन्ने स्थानमा छुट्टिनु पर्दोरहेछ। त्यहाँबाट २२ किलोमिटर अगाडि बढेपछि बोधगया पुगियो। लुम्बिनीकै झल्को दिने बोधगयामा हाम्रो लुम्बिनीमा जस्तै विभिन्न देशका बिहार छन्।
वातावरण शान्त थियो। अलौकिक। कोही ध्यानमा थिए त कोही फोटो खिच्न। भीड भए पनि सफा थियो। प्रवेशद्वारमा लुम्बिनीकै जस्तो ठूलो सुनौलो रंगको गेट छ। त्यहाँबाट २ किलोमिटरसम्म गाडी लैजान पाइन्छ। त्यसपछि अटो रिक्सामा डुल्नुपर्छ। भारु दुई सय रुपैयाँ तिरेपछि रिक्साले घुमाइदिन्छ।
सबभन्दा महत्वपूर्ण स्थान महाबोधी मन्दिर प्रवेश गर्दा मोबाइल लिएर जान पाइँदैन। गेटमै मोबाइल राख्ने ठाउँ छ। क्यामराको शुल्क तिर्नुपर्छ। सुरक्षा जाँचपछि प्रवेश गर्न पाइन्छ। बिहान ५ बजेदेखि राति १२ बजेसम्म मन्दिर खुला रहन्छ।
महाबोधी मन्दिरसँगै विष्णुपद मन्दिर, बोधि वृक्ष, दुर्गेश्वरी गुफा मन्दिर यहाँका प्रमुख आकर्षण हुन्। साथमै रहेको जामे मस्जिदले मुस्लिम धर्मावलम्बीलाई पनि बोधगया तान्छ। त्यहाँ हिन्दुको जगन्नाथ मन्दिर पनि छ।
यहाँ बुद्धको ८० फिट अग्लो प्रतिमा छ। साथै पोखरी, बुद्ध कुण्ड, चिनियाँ मन्दिर, बर्मेली मन्दिर, भुटानी बौद्ध मठ, राजायत्न, ब्रह्मयोनी, अन्तर्रा्ष्ट्रिय बौद्ध हाउस तथा जापानी मन्दिर, थाई मन्दिर, तिब्बती मठ र एक पुरातात्विक संग्रहालय, बंगालदेशी मन्दिर थप आकर्षण हुन्।
***
अर्को दिन बिहानै हामी बोधगयाबाट १२ किलोमिटर दूरीमा रहेको गया पुग्यौं। त्यहाँ पुगेर मैले पितृ सम्झिएँ।
बिहारको उत्तरपट्टि फाल्गु नदी अनि विष्णु-पद्मा मन्दिरमा श्राद्ध गरेपछि पितृको बैकुण्ठ बास हुन्छ भन्ने भनाइ छ। यो नदीमा पानी छैन। बालुवा खोस्रिएपछि मात्र पानी निस्कँदोरहेछ।
भगवान विष्णुको पदचिह्नमा निर्माण भएको विष्णुपद मन्दिर बिहारकै एउटा महत्वपूर्ण तीर्थस्थल हो।
गयामा पितृ सम्झेर विष्णु भगवानको दर्शनपछि हामी वाराणसीतर्फ लाग्यौं। उही ८ लेन फराकिलो सडकमा रमाइला-रमाइला गफ गर्दै।
वनारसमा राती घुम्न रमाइलो हुन्छ। त्यहाँ मठमन्दिर मात्र होइन धेरै पार्क, होटल तथा सपिङ मल पनि छन्। नेहरू पार्क, सन्त रविदास स्मारक पार्क, मछोदरी पार्क, हिरन पार्क तथा आनन्द पार्क छन्।
***
यात्राको अन्तिम दिन शुक्रबार बिहानै अमृत दाइ र म फेरि विश्वनाथ पुग्यौं। त्यहाँ हामीले पहिलो नेपाली मूलका पूजारी टेकनारायण उपाध्यायलाई भेट्यौं।
मन्दिरमा २१ जना पूजारी छन् तर मुख्य गर्भगृहमा पूजा गर्ने अनुमति ९ जनालाई मात्रै छ। तिनैमध्ये एक हुन् वागलुङ भीमपोखराका उपाध्याय। उनैले हामीलाई विशेष पूजा व्यवस्था मिलाइदिए। त्यसपछि घर लगेर प्रसाद खुवाए, कोसेली दिएर पठाए।
सारनाथ घुम्नै बाँकी थियो। सारनाथ त्यही भूमि हो जहाँ बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलोपटक शिष्यहरुलाई उपदेश दिएका थिए।
सारनाथमा विभिन्न गुम्बा, बिहार, चैत्य छन्। धमेक स्तूप सारनाथको पहिचान हो। ४३.६ मिटर अग्लो स्तुप इँट्टा र ढुंगाबाट बनेको छ। यसमा बुद्धको अस्तु राखिएको विश्वास छ। स्तुप क्षेत्रमा लुम्बिनीको मायादेवी मन्दिर परिसरका भग्नावशेष झल्काउने दृश्य देखिन्छ।
त्यहीँ नजिक बुद्धको आधुनिक मन्दिर महाबोधी सोसाइटीले बनाइदिएको छ। सारनाथ संग्रहालयमा अशोक स्तम्भ छ। साथै त्यहाँ बुद्धसम्बन्धी धेरै दुर्लभ सामग्री संरक्षित छन्।
सारनाथमा पनि विभिन्न देशले आफ्नो पहिचान झल्काउने गरी स्तूप र बिहार बनाएका छन्।
यात्राको पाँचौ दिन साँझ हामी काठमाडौं फर्कियौं। वाराणसी यात्रा ज्ञान, धर्म र अध्यात्मका हिसाबले सार्थक भयो। हामीले बुढेसकालमा होइन, उमेरमै तीर्थ घुम्न पर्ने रहेछ।
***
कसरी जाने?
काठमाडौंबाट हवाइमार्ग भएर सिधै वाराणसी जान सकिन्छ। बुद्ध एयरले साताको दुई दिन शुक्रबार र सोमबार नियमित सेवा सुरू गरेको छ। दुईतर्फी १४ हजार रूपैयाँ भाडादर छ।
होलिडे प्याकेज २५ हजारदेखि ३५ हजारसम्मको किन्न सकिन्छ। प्याकेजमा होटल, बेक्रफास्ट, यात्रा अवधिभर एसी गाडी, एक पटकका लागि डुंगा सयर र साइट सिइङ सुविधा हुन्छ। यात्रामा कोzली, धार्मिक तथा ऐतिहासिक स्थानमा लाग्ने प्रवेश शुल्कको रकम भने यात्रु आफैंले तिर्नुपर्छ।
यो पनि हेर्नुहोस्
तस्बिरमा बनारस यात्रा