चुनावले ततायो बजार


साँझ पर्ने वित्तिकै होटेल रेस्टुरेन्टमा चहलपहल सुरु भइहाल्छ । दिनभरि घरघरमा भोट माग्दै हिँड्ने कार्यकर्ता साँझ परेपछि होटेल/भट्टी छिर्छन् । खाना र खाजासँगै मासुका परिकारको स्न्याक्स मगाउँछन्, अनि दारुको चुस्की लिन्छन् । होटेल सञ्चालकलाई पनि ग्राहकको सेवा गर्न भ्याइनभ्याइ देखिन्छ । स्थानीय तहको निर्वाचनले सामान्य अवस्थामा चलिरहेको होटेल तथा रेस्टुरेन्ट व्यवसाय गुल्जार बनाइदिएको छ । यो खबर आजको अन्नपूर्णमा उत्तम काप्री र नवीन अर्यालले लेखेका छन्।

मुलुकमा १९ वर्षपछिस्थानीय तहको निर्वाचन हुँदैछ । दुई चरणमा हुन लागेको निर्वाचले उम्मेदवारदेखि मतदातासम्म उत्साहित छन् । स्थानीय निर्वाचनले राजधानीदेखि ग्रामीण क्षेत्रका होटेल/रेस्टुरेन्टसम्म गुल्जार देखिन्छन् । पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन हुन लागेका ३, ४ र ६ नम्बर प्रदेशमा होटेलमात्र भरिभराउ छैनन्, सहर तथा गाउँ चुनावी प्रचार सामग्रीले रंगिएका छन् । दलका झन्डा, निर्वाचन चिन्ह र उम्मेदवारका प्रचार समग्री छरपष्ट देखिन्छन् ।

सामान्य समयको तुलनामा वैशाखयता तीन/चार गुनासम्म कारोबार बढेको स्थानीय होटेल व्यवसायी बताउँछन् । चुनावी सरगर्मी बढेपछि मासु र मदिराको बिक्री ह्वात्तै बढेको छ । सहर र गाउँका मदिरा पसल, रेस्टुरेन्ट र भट्टी पसलमा मदिराका ग्राहक भेटिन्छन् । साथै, होटेल रेस्टुरेन्टमा खाना/नास्ता पनि उत्तिकै बिक्री भइरहेको छ । ठूला होटेलका रेस्टुराँदेखि साना भट्टी पसलसम्म नेता र कार्यकर्ताको भीड देखिन्छ । चुनावको समयमा सबैभन्दा बढी बिक्री हुने मासु र मदिरा हो । उम्मेदवारले मतदाता रिझाउन खसी/बोका काटेर भोज भतेरसम्म गरिरहेको भेटिन्छ । खासगरी सहरी उम्मेदवारले रेस्टुरेन्टमा खर्च गर्छन्, ग्रामीण क्षेत्रका उम्मेदवारले खसी काटेर भोज नै खुवाउँछन् ।

निर्वाचले रेस्टुरेन्टको बिक्री त बढाएकै छ, सँगसँगै तैयारी खाद्यवस्तु, प्रिन्टिङ व्यवसाय, टिसर्ट, प्रिन्ट कपडा, इन्धनलगायतको कारोबार पनि उत्तिकै बढाएको छ । उम्मेदवारले अत्यधिक झन्डा बनाएपछि बुटवलमा चुनाव चिन्ह र झन्डा छाप्ने कपाडाकै अभाव देखियो । बुटवलमा दोस्रो चरणमा निर्वाचन हुने भए पनि प्रचार सामग्री छाप्ने काम अहिलेदेखि नै जारी छ । पहिलो चरणमा निर्वाचन हुन लागेका ३, ४ र ६ नम्बर प्रदेशमा झण्डा र निर्वाचन चिन्ह छाप्ने कपडा ‘ब्ल्याक’ मै बिक्री भइरहेको बताइन्छ ।

स्थानीय निर्वाचनले शहरदेखि गाउँसम्मको आर्थिक गतिविधि बढाएको छ । ‘सहरमा ‘फ्रिज’ भएर बसेको पैसा गाउँसम्म पुगेको छ’ पूर्वअर्थसचिव रामेश्वर खनाल भन्नुहुन्छ, ‘एक्कासी काठमाडौंमा रहेको पैसा देशभर वितरण हुँदा अर्थतन्त्र चलायमान भएको छ ।’ स्थानीय तहको निर्वाचन भएकोले सहरमा भन्दा धेरै चुनावकेन्द्रित आर्थिक गतिविधि गाउँमा बढी देखिएको छ । सहरका रेस्टुराँभन्दा बढी गाउँका साना होटेल र भट्टी पसल चम्किएका छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.