धरान उप-महानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडामाथि धरान-७ का महिलाहरूले आइतबार कार्यकक्षमै आक्रमण गरेका छन्।
धरान-१३ मा बिहे गरेर गएकी रेणु तामाङको नाता प्रमाणित नगरिदिएको भन्दै उनका माइतीपक्ष धरान-७ का महिलाहरूले अधिकृत खतिवडामाथि आक्रमण गरेका हुन्। आक्रमणबाट खतिवडाको कार्याकक्ष तोडफोड भएको छ भने उनको घाँटीको पछिल्तिरको भाग, दाहिने हातलगायतका सामान्य चोट लागेको छ।
उनको चश्मा पूर्ण रुपमा फुटेको छ भने कार्यालयमा राखिएका अन्य सामग्रीहरूसमेत तोडफोड भएको छ। आक्रमणमा संलग्न आठ महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउसमेत गरेको छ। उनीहरूलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए।
अधिकृत खतिवडालेसमेत उनीहरूको नाममा किटानी जाहेरी दिइसकेका छन्। ‘नाता प्रमाणित नगरिदिएको भन्दै एक्कासि हातपात गरे,’ अधिकृत खतिवडाले भने, ‘आफूले बिहे दर्ता र श्रीमानको नागरिकतासमेत नभएकाले गर्न नमिल्ने बताएको थिएँ।’
आक्रमणमा संलग्न धरान–७ का प्रेमा तामाङ, सोही स्थानकी रिना राई, रेबिका राई, सिन्धु सुब्बा, शान्ता आलेमगर, बिन्दु लिम्बू, सुश्मा लिम्बू र रेणु तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
खतिवडाको घाउजाँचसमेत भइसकेको छ। घटनालगत्तै नेपाल नगरपालिका कर्मचारी एसोशिएनस इकाई समितिले विज्ञप्ति जारी गर्दै प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउन माग गरेको छ। आक्रमणलगत्तै सांकेतिक रुपमा अपराह्न १ बजेपछि कार्यालयसमेत बन्द गरिएको छ।
धरान उप-महानगरका कार्यकारी अधिकृत टिकादत्त राईले कर्मचारीमाथि कार्याकक्षमै हातपात हुनु खेदपूर्ण रहेको बताए।