निर्वाचन पोस्टमर्ट शृंखला-४
पाँच वर्ष अघिको स्थानीय चुनावमा माओवादी केन्द्रले मधेश प्रदेशमा राम्रो परिणाम ल्याएको थियो। उसले जितेका जम्मा १०६ मध्ये मधेश प्रदेशबाट मात्रै २१ वटा थिए। त्यो बेला माओवादी केन्द्रले मधेशमा एमालेले भन्दा धेरै मत जितेको थियो।
यसपालि भने माओवादी केन्द्रले मधेशमा ठूलो धक्का खाएको छ।
मधेशका १३६ पालिकामध्ये माओवादीले यसपालि ९९ स्थानमा कसैसँग गठबन्धन नगरी एकल उम्मेदवारी दिएको थियो। तीमध्ये जम्मा ७ पालिका प्रमुख मात्रै माओवादीले जितेको छ। गठबन्धन गरेर थप २ पालिका जितेको छ। जबकि पाँच वर्ष अघि एक्लै लडेर माओवादीले २१ पालिका जितेको थियो।
२०७४ सालको तुलनामा आधाभन्दा कम पालिका जितेर माओवादी केन्द्र मधेश प्रदेशमा खुम्चिएको छ।
माओवादी केन्द्रले सिराहाको मिर्चैया नगरपालिका, धनुषाको सबैला नगरपालिका, रौतहटको दुर्गाभगवती गाउँपालिका, सर्लाहीको बलरा नगरपालिका, सर्लाहीकै बागमती नगरपालिका, सर्लाहीको रामनगर गाउँपालिका र सर्लाहीकै हरिवन नगरपालिका प्रमुख एक्लै जितेको छ।
माओवादीले मधेशका आठवटै जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाहीका विभिन्न पालिकामा एकल उम्मेदवारी दिएको थियो।
मधेशका बाँकी ३७ पालिकामा माओवादीले सत्ता गठबन्धनसँग मिलेर उम्मेदवारी दिएकोमा जम्मा दुई पालिका जितेको छ।
सप्तरी र बारामा एक-एक पालिका जितेको हो। बाराको जितपुर सिमरा उपमहानगरपालिका मेयर र सप्तरीको खड्क नगरपालिका मेयर माओवादीले जितेको छ।
माओवादीले हारेका केही पालिका यसपालि नेकपा एमालेले जितेको छ। ०७४ मा माओवादीबाट उम्मेदवार भई जितेका कतिपय पालिका प्रमुखहरू अहिले एमालेबाट उम्मेदवार भई जितेका छन्। नेकपा फुटेपछि प्रभु साहलगायत माओवादीका कतिपय नेताहरूले एमाले प्रवेश गरेका थिए। त्यसले पनि एमालेलाई माओवादीको मत खोस्न सजिलो देखिएको छ।
रौतहटको मौलापुर नगरपालिका मेयरमा रीनाकुमारी साह निर्वाचित भएकी छन्। उनी माओवादीबाट एमालेमा प्रवेश गरेकी थिइन्।
यस्तै धनुषाको विदेह नगरपालिकाको मेयरमा वेचन दास तत्मा निर्वाचित भए। उनी ०७४ मा माओवादीबाट मेयर जितेका थिए।
यसपालि मधेशमा एमालेले ३० पालिका जितेको छ। ०७४ मा मधेशमा एमालेले जम्मा १८ पालिका जितेको थियो। यसरी माओवादीले मधेशमा १२ वटा पालिका गुमाउँदा एमालेले त्यतिमै संख्यामा पालिका थपेको छ।
मधेशमा कांग्रेसले पनि यसपालि पालिका थपेको छ। ०७४ मा कांग्रेसले मधेशमा जम्मा ४० पालिका जितेको थियो, यसपालि ४६ वटा जितेको छ।
मधेशमा जसपाले ०७४ भन्दा एक सिट कम ल्याउँदै अहिले २५ पालिका प्रमुख जितेको छ। लोसपाले भने अहिले १४ पालिका जितेको छ।
मधेशमा नेकपा एकीकृत समाजवादीले ६ पालिका प्रमुख जितेको छ। जनमत पार्टीले दुई, तमलोपाले एक, विवेकशील साझाले एक, स्वतन्त्रबाट दुई पालिका प्रमुख जितेका छन्।
यसरी हेर्दा मधेशमा सबैभन्दा ठूलो क्षति माओवादी केन्द्रले व्यहोरेको छ। उसले पालिकाका सिटहरू मात्र होइन मधेशमा ‘पपुलर मत’ पनि गुमाएको छ।
माओवादीले २०७४ सालमा र यसपालि पनि एक्लै लडेर ९९ पालिकामा पाएको मत तुलना गर्दा उसको पपुलर मत धेरै घटेको देखिन्छ।
०७४ मा माओवादीले मधेशका यी पालिकामा दुई लाख ३८ हजार पाँच सय ६४ मत ल्याएकोमा अहिले दुई लाख १९ हजार पाँच सय ७९ मत मात्रै ल्याएको छ। अर्थात् पाँच वर्ष अघिको तुलनामा झन्डै ८ प्रतिशत मत घटेको देखिन्छ।
यसपालि माओवादीको मत १८ हजार ९ सय ८५ ले घटेको छ। जबकि यसपालि पाँच वर्ष अघिको दाँजोमा देशैभर मतदाता थपिएका छन्। हामीसँग यी ९९ पालिकामा यसपालि कति धेरै वा थोरै मत खसेको थियो भन्ने यकिन तथ्यांक छैन।
देशैभर यसपालि २५.९ प्रतिशत मतदाता बढेका छन्। यी ९९ पालिकामा पनि यही अनुपातमा मतदता बढेको र मत खसेको मान्ने हो भने मधेशमा माओवादीको पपुलर मत झन्डै एकतिहाइले घटेको मान्नुपर्ने हुन्छ।
यी पनि पढ्नुस्: