दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका टीकाराम खड्का निर्वाचित भएका छन्।
देशभरिका ११ मध्ये सबैभन्दा पछि नतिजा सार्वजनिक भएको तुलसीपुरमा हो। बुधबार दिउँसो आएको अन्तिम नतिजा खड्काका लागि मात्रै होइन एमाले पार्टी पंक्तिका लागि पनि महत्वपूर्ण जित हो। यसअघि दाङकै घोराही उपमहानगरमा सत्तारूढ गठबन्धनलाई मेयर र उपमेयरमा हराएको एमालेले खड्काको जितसँगै दाङमा आफ्नो विरासत जोगाएको छ।
तुलसीपुरको मेयर चुनिएका खड्का सुकुम्बासी हुन्। उनको घर तुलसीपुर-१८ अक्कासी भन्ने ठाउँमा छ। तर अहिलेसम्म उनी र उनको परिवारको नाममा कतै पनि जमिन छैन।
‘मैले मेरो बासस्थान वरिपरिको पाँच कठ्ठा सार्वजनिक जग्गा भोगचलन गर्दै आएको छु,’ खड्काले भने, ‘त्योबाहेक म र मेरो परिवारका सदस्यको नाममा एक टुक्रा जग्गा वा सम्पत्ति छैन।’
गरिब भएकै कारण र गरिब सर्वहारा वर्गको हित कम्युनिष्टले गर्छ भन्ने सुनेरै आफू कम्युनिष्ट पार्टीमा लागेको खड्का बताउँछन्।
खर्च कसरी चल्छ? भन्ने प्रश्नमा उनले पारिवारको जीविकोपार्जन श्रीमती झुमा खड्काको कमाइबाट हुँदै आएको जवाफ दिए। झुमा स्थानीय प्रावि मनिकापुरमा पढाउँछिन्।
‘मेरो श्रीमतीको मासिक तलब ३० हजार हुन्छ र त्यहीबाट हाम्रो जिविकोपार्जन हुँदै आएको छ,’ खड्काले भने।
उनीहरूका दुई छोरा २८ र २५ वर्षका सुशील र अनिल काठमाडौंमा पढ्छन्।
खड्काको जन्म तत्कालीन सल्यान जिल्लाको चाँचला भन्ने ठाउँमा २०२३ मंसिरमा भएको हो। चाँचला अहिले दाङमा पर्छ।
खड्काकी आमा उनी एक वर्ष नहुँदै बितेकी थिइन्। उनी ८ कक्षामा पढ्दा बुवा पनि बिते।
२०५१ सालमा पार्टीले नै टीकाराम र झुमाको जनवादी विवाह गराइदिएको थियो।
‘तुलसीपुरस्थित अरनिको मैदानमा स्वर्गीय श्रीमणि कमरेडको उपस्थितिमा हाम्रो विवाह भएको हो,’ खड्काले भने, ‘हामीले लगाएको एकसरो कपडाबाहेक अरू केही किनमेल गरेका थिएनौं।’
समोसा र मिठाइ खाँदा दुई सय पचास रुपैयाँमा विवाह सकिएको खड्काले बताए।
खड्काका अनुसार २०४९ सालमै अक्कासीमा एउटा झुपडी बनाएका थिए। घरमा अन्नपात केही थिएन। राजनीतिमा पूर्णकालीन कार्यकर्ता भइसकेको हुँदा उनी घरमा पनि बसेनन्।
विवाह गरे पनि खान र बस्न समस्या हुने भएकोले उनले झुमालाई आफ्नो घर लगेनन्। अक्कासी गाउँमै बस्ने माइला बाजेका नाति खड्गबहादुर खड्काले टीकाराम र झुमालाई भित्र्याए। एक महिनासम्म उनीहरू त्यहीँ बसे। आफ्नो घरको मर्मत-सम्भार गरी बस्न योग्य बनाए। पार्टीकै सहयोग र सापटीबाट खानेकुराको जोहो भएपछि आफ्नै झुपडीमा सरे।
खड्काको सुरूको घर रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ४ मा थियो। जहाँ उनी आफन्त भीमबहादुर खड्काको घरमा बसेर पढ्ने गर्थे। बुवाको निधनपछि कक्षा ८ पढ्दै गर्दा उनी दाङको अक्कासी आए। त्यसपछि दाङ पढे।
‘घरमा खानेकुरा केही हुन्न थियो,’ खड्काले भने, ‘पार्टीमा लागे सबै व्यवस्थापन हुने हुँदा मेरो घर नै पार्टी बन्यो।’
क्रान्तिकारी भएपछि जनताको घरमा जाँदा उनीहरूले नै खानाका प्रबन्ध गर्ने हुँदा खानाको समस्या नहुने उनले बताए।
राजनीतिक यात्रा
खड्का २०३५/०३६ सालको जनमत संग्रह र त्यस अघिपछिको राजनीतिमा अनेरास्ववियुको भूमिका नियाल्दै अगाडि बढे। ०३९ सालदेखि अनेरास्ववियुमा काम गरे। त्यतिबेला लुकिछिपी (भूमिगत रूपमा) राजनीति गर्नुपर्ने बाध्यता थियो। त्यही क्रममा खड्का ०४२ सालमा अनेरास्ववियु दाङको सहसचिव भए। ०४४ मा पार्टीको पूर्णकालीन कार्यकर्ता बने। त्यही क्रममा उनी ०४५ असोजमा पक्राउ परे। दाङको घोराही कारागारमा असोजदेखि चैतसम्म जेल बसे।
उनले ०४६ सालको संयुक्त जनआन्दोलन संघर्ष समितिको सदस्य भएर काम गरे। दाङमा अपेक्षाकृत रूपमा आन्दोलनको राप र ताप उठेन। उनी रोल्पातर्फ लागे।
‘अरू जिल्लाको राप र तापले दाङमा आन्दोलनको उभार ल्याउँथ्यो,’ खड्काले भने, ‘मलाई जहाँबाट आन्दोलनको राप र ताप आउँथ्यो त्यही जान मन लाग्यो अनि म रोल्पा गएँ।’
२०४७ वैशाखमा खड्का एमाले रोल्पाको उपसचिव भए। त्यतिखेर एमालेमा सचिव प्रमुख रहने पद्दति थियो। यज्ञराज बास्तोला सचिव थिए। खड्का२०४९ सालमा पार्टीको प्रमुख अर्थात् सचिव भए। ०५६ सालसम्म उनले प्रमुखकै जिम्मेवारीमा रहेर रोल्पामा एमाले विस्तार गरे।
‘त्यतिखेर हामीले व्यक्ति-व्यक्तिलाई भेटेर पार्टी निर्माण गर्नुपर्ने अवस्था थियो,’ खड्काले भने।
०४८ सालको निर्वाचनमा रोल्पामा संयुक्त वाममोर्चा बन्यो। जसले गर्दा मशालका कृष्णबहादुर महरा र ब्रमण बुढा सांसद निर्वाचित भए। खड्काकै पालामा रोल्पामा ०५४ सालमा जनमोर्चाका झक्कुप्रसाद सुवेदी र एमालेका मानबहादुर बाँठा उपसभापति जिल्ला समन्वय समितिमा निर्वाचित भए। साबिकका डुर्बिङ, नुवागाँउ, जुँगार, झेनाम, तालाबाङ लगाएतका गाविसमा एमालेले जितेको थियो।
२०५७ मा खड्का फेरि दाङ झरे। दाङ जिल्ला कमिटी सदस्य भएर काम गरे। उनी २०६३ मा तत्कालीन राप्ती अञ्चल कमिटी सदस्य भए।
२०७२ मा दाङ जिल्ला अध्यक्ष भएका उनी अहिले लुम्बिनी पदेश कमिटी सदस्य छन्।
कुनैबेला खड्का एमालेमा वामदेव गौतमको नजिक थिए। त्यसपछि उनी माधवकुमार नेपालको निकट भए। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले ‘प्रतिगमन’ विरोधी आन्दोलनमा पनि सहभागी भएका थिए। कुनै समय एमाले महासचिव शंकर पोखरेलको विरोधी गुटका मानिने खड्कालाई अन्त्यमा आफ्नै गृह नगरमा तिनै पोखरेलले मेयरको एकलौटी उम्मेदवार बनाएका हुन्। लुम्बिनीको मुख्य मन्त्री छँदाको अन्तिम आन्तरिक किचलो व्यवस्थापन गर्न पोखरेलले खड्कालाई सकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष बनाएपछि उनीहरू बीचमा सम्बन्धमा सुधार आएको जानकारहरू बताउँछन्।
‘जनताको जित’
तुलसीपुर उपमहागनरपालिकाको मेयरमा निर्वाचित भएपछि टीकाराम खड्काले आफ्नो जितलाई जनताको जितको रूपमा लिएको बताए।
‘मलाई जनताले गरेको जुन विश्वास छ, त्यसमा म कदापी कमी हुन दिने छैन,’ खड्काले भने, ‘अब म सबै नगरवासीको हक हितका लागि समर्पित भएर काम गर्ने छु।’
आफू सुकुम्बासी भएको हुँदा पहिलो काम सुकुम्बासीहरूको लगत संकलन गरी त्यो विवरणअनुसार जग्गा धनी पूर्जा वितरणका लागि प्रयास गर्ने योजना सुनाए। खड्का एमालेको सरकार छँदा सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष पनि थिए।
‘म तीन महिना अध्यक्ष भएर काम गरेको छु,’ उनले भने, ‘अब त्यसलाई सार्थकता दिने चाहना छ।’
सबै पार्टी र संघ संगठनसँग सुमधुर सम्बन्ध राख्दै सहकार्य गरेर आफू अगाडि बढ्ने मेयर खड्काले बताए।
तुलसीपुरस्थित दाङको एकमात्र टरिगाउँ एयरपोर्टको स्तरोन्नतिको काम चुनौतीको रूपमा रहेको भन्दै त्यसका लागि पहल गर्ने खड्काले जोड दिए।
त्यस्तै खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा सर्वसाधारण जनताको पहुँच पुग्ने गरी काम गर्ने उनले दृढता व्यक्त गरे।
‘म पनि विपन्न वर्गको मान्छे हो र मैले त्यो वर्गलाई राहत तथा लाभ पुग्ने गरी काम गर्नेछु,’ उनले भने, ‘समतामूलक समाज निर्माणका लागि र नगरबासीको सुख, शान्तिका लागि मेहनत गर्ने छु।’
आममान्छेको जीवन स्तर कसरी उठाउन सकिन्छ र जनताको आवश्यकताको परिपूर्ति कसरी गर्न सकिन्छ? त्यसमा आफ्नो ध्यान केन्द्रित रहने उनले बताए।
‘म ठूला र नहुने सपना देखाउँदिन,’ उनले भने, ‘आमजनताको जीवन सहज र सरल बनाउन उनीहरूको आवश्यकतालाई मध्यनजर गरी काम गर्ने छु।’