दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा स्वतन्त्र उम्मेदवार शिवानन्द डिसी विजयी भएका छन्।
यो वडामा गठबन्धन दल नेकपा एकीकृत समाजवादीसहित सात जना वडाध्यक्षमा भिडेका थिए।
ती सबैलाई पराजित गरेर पुतली चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार डिसी निर्वाचित भएका हुन्।
तुलसीपुर–१६ को एक जना वडाध्यक्ष पदका लागि दाङ जिल्लामै सबभन्दा बढी उम्मेदवारी परेको थियो।
मंगलबार दिउँसो प्राप्त मत परिणाम अनुसार डिसीले १३४४ मत प्राप्त गरे।
वडाध्यक्षमा निर्वाचित डिसीले मतगणनाको सुरूदेखि नै अग्रता लिन सुरू गरेका थिए। उनले अन्तिमसम्म पनि कसैलाई भेट्टाउन वा उछिन्न दिएनन्।
४९ वर्षीय निर्वाचित डिसीले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमर खड्कालाई १८५ मतान्तरले पराजित गरेका हुन्। खड्काले ११५९ मत प्राप्त गरेका थिए।
२०७४ सालमा पनि डिसी नेकपा माओवादी केन्द्रबाट अध्यक्ष लडेका थिए। उतिखेर उनी १२२ मतले पराजित भएका थिए।
यो वडामा गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादीका भूपबहादुर केसी (कलम) ले ४६७, नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवार कलाधर आचार्य (हाँस) ले १९६, नेकपा एमालेका स्वतन्त्र उम्मेदवार पदमबहादुर केसी (धारा) ले १८३, मंगोल अर्गनाइजेसन पार्टीबाट लेखबहादुर कुमाल (कुखुराको भाले) ले ७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रितबहादुर बस्नेत (हलो) ले ५२ मत प्राप्त गरे।
यहाँ २०७४ सालको स्थानीय तह निर्वाचमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा झिनो मतान्तरले पराजित गणेश चौधरीसहित आठ जनाको उम्मेदवारी परेको थियो। तर, निर्वाचनको दुई दिन अगाडिमात्रै नेताहरूको आग्रहमा चौधरीले गठबन्धन दलका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। तै पनि चौधरीको लौरो चुनाव चिन्हमा ७ मत प्राप्त गरेका थिए।
२०७४ सालमा नेकपा एमालेबाट वडाध्यक्ष जितेका भूपबहादुर केसी पछिल्लो समयमा नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका थिए। त्यसैले समाजवादीले गठबन्धनले जित्ने आशासहित फेरि पनि केसीलाई नै उम्मेदवार बनाएको थियो।
स्वतन्त्र उम्मेदवार डिसी टिम नबनाएर आफूमात्रै अध्यक्षमा लडेका थिए।
यहाँ नेकपा एमालेबाट रिखा शर्मा पोखरेल १२९९ र पार्वता कामी १२४० निर्वाचित भए। त्यस्तै, गठबन्धन दलबाट नेपाली कांग्रेसका देवबहादुर चौधरी १३२५ र मोहनलाल थारू १२८७ मत प्राप्त गरी सदस्यमा निर्वाचित भएका छन्।
स्वतन्त्र उम्मेदवार डिसी निर्वाचित भएपछि समर्थकहरूले उनलाई अबिर मालाले रंगाउँदै पञ्चेबाजाको तालमा नाच्दै खुसीयाली साटेका थिए। तर, त्यति कुनै दलको झण्डा नभए पनि राष्ट्रिय झण्डा र उनको चुनाव चिन्ह पुतली अंकित झण्डाहरू भने फहराई रहेका देखिन्थे।
गठबन्धनका पात्रप्रति चित्त नबुझेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ – अध्यक्ष डिसी
स्वतन्त्रबाट निर्वाचित भएपछि अध्यक्ष शिवानन्द डिसीले आफू गठबन्धन दलको भावनाभन्दा बाहिर नरहे पनि उम्मेदवार बनाइएका व्यक्तिप्रति चित्त नबुझेकाले स्वतन्त्र उम्मेदवारी दिएको बताए।
‘मेरो पार्टीले कारबाही गर्छु भनेपछि राजीनामा दिएर म स्वतन्त्र उठेको हुँ,’ उनले भने, ‘वडाबासीले त उम्मेदवार बन्नैपर्छ भनेर ठूलो दबाब दिएका थिए।’
२०७४ सालमा माओवादीबाट अध्यक्षमा हारे पनि आफू निरन्तर वडाबासी सुखदुःखको बेलामा हातमा हात काँधमा काँध मिलाएर हिँडेको हुँदा आफूलाई वडाबासीले विजयी बनाएको डिसीले बताए।
‘मैले राम्रो तयारी गरेको थिएँ, तर गठबन्धनका कारण मैले टिकट पाउन अवस्था रहेन,’ उनले भने, ‘गठबन्धनका उम्मेदवारले चुनाव जित्दैनन् भन्ने मलाई राम्रोसँग थाहा थियो। वडाबासीले नै मलाई उम्मेदवार बनाए र उनीहरूले नै विजयी बनाए।’
उनले अबको पाँच वर्षसम्म कुनै पार्टीमा नजाने र स्वतन्त्र वडाध्यक्ष भएर जनताको काममा खटिने प्रतिबद्धता जाहेर गरे।
पहिलो काम शिक्षा र स्वास्थ्यको क्षेत्रमा गर्ने चाहना उनले व्यक्त गरे।
‘ग्रामीण भेगको मेरो वडाबासीलाई स्तरीय शिक्षा र स्वास्थ्यको पहुँचमा कसरी पुर्याउन सकिन्छ भन्ने अध्ययन गरेर काम अगाडि बढाउने छु,’ उनले भने, ‘दोस्रो काम वडाभर सिँचाइको राम्रो प्रबन्ध गरी कृषि क्रान्ति ल्याउने मेरो चाहना छ।’
तुलसीपुर – १६ व्यवसायिक तरकारी खेती तथा खाद्यान्न, तेलन तथा दलहन बाली अन्तरगत, धान, मकै, तोरी, मसुरो उत्पादनका दृष्टिकोणले निकै महत्वपूर्ण ठाउँका रूपमा लिने गरिन्छ।
‘हाम्रो वडा जिल्लाकै सबभन्दा उर्वर कृषि भूमि हो,’ वडाध्यक्ष डिसीले भने, ‘कसरी कृषि पेशा सम्मानित गराउने र कसरी बाह्रैमास सिँचाइको प्रबन्ध गर्ने भन्नेमा मेरो ध्यान केन्द्रित हुनेछ।’