स्थानीय तह निर्वाचन, २०७९ बाट कर्णालीका दुई जना महिलाले पालिका हाँक्ने जिम्मेवारी पाएका छन्।
प्रदेशका ७९ वटा पालिकामध्ये दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व महिलाले पाएका हुन्।
भैरवीमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी रिता शाही र वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेकी मोहनमाया भण्डारी निर्वाचित भए। उनीहरूले पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण समेत गरेका छन्। वीरेन्द्रनगरकी मेयर भण्डारी यसअघि उपमेयर थिइन्।
स्थानीय तह निर्वाचन, २०७४ बाट पनि कर्णालीका एक गाउँपालिका र एक नगरपालिकामा महिलाले नेतृत्व पाएका थिए। जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा कांग्रेसकी कान्तिका सेजुवाल र सल्यानको कुमाख गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रकी दिलमाया बुढामगर निर्वाचित भएका थिए।
पहिले महिलाको नेतृत्व भएका यी दुवै पालिका पुरूषको हातमा पुगेका छन्। कुमाखमा अध्यक्ष र उपाध्यक्ष दुवैमा पुरूष निर्वाचित भए। चन्दननाथमा मेयर पुरूष र उपमेयर महिला निर्वाचित भए।
नगरको नेतृत्व सम्हालेपछि वीरेन्द्रनगर नगरपालिकाकी मेयर भण्डारीले महिला आन्दोलनको एउटा महत्वपूर्ण मुद्दा कार्यान्वयन भएको महसुस गरेकी छन्।
‘म महिला आन्दोलनबाट अगाडि बढेको हो। महिला आन्दोलनको एउटा मुद्दा महिला र पुरूषबीच व्यवहारमा समानता स्थापित गर्नु थियो,’ उनले भनिन्, ‘यसलाई पार्टीले कार्यान्वयन गर्यो, नगरवासीले सम्मान गर्नुभयो। महिलाहरू प्रमुख भएर काम गर्न बाधा छैन भन्ने सन्देश समाजमा गएको महसुस गरेकी छु।’
तीव्र गतिमा सहरीकरण बढ्दै गरेको वीरेन्द्रनगरको सरसफाइ, ढल निकास, यातायात व्यवस्थापन, फोहर व्यवस्थापनजस्ता पक्ष आफ्नो विशेष प्राथमिकतामा रहेको भण्डारीले बताइन्।
आफू उपमेयर हुँदा पनि इमानदार भएर क्षमताले भ्याएसम्म काम गर्ने प्रयास गरेको उनको जिकिर छ।
पहिलो कार्यकालमा सुरू गरेका र गर्न नसकेका काम अब पूरा गर्ने उनको योजना छ।
नगरवासीले विश्वास गरेर आफूलाई प्रमुख भएर काम गर्ने जिम्मेवारी दिएकोले विश्वासमा कमी आउन नदिने उनले बताइन्।
उनले भनिन्, ‘नगरको समृद्धि र विकासका लागि काम गर्छु।’
वीरेन्द्रनगरमा नगरबस चलाउने भण्डारीको योजना छ।
‘यहाँ पहिलेदेखि नै नगरबसको कुरा उठेको थियो, यसअघिको नगरसभाबाट नीतिगत रूपमा पास गरेका थियौं,’ उनले भनिन्, ‘यसलाई हामीले अहिले प्रतिबद्धता पत्रमा पनि राखेका थियौं। यो योजना मेरो कार्यकालमा पूरा हुन्छ।’
वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान, विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारजस्ता काममा ध्यान दिने उनले बताइन्।
वडा र नगर तहबाट दिइने सेवाहरू शीघ्र, सहज बनाउने र प्रविधिअनुकूल बनाउने उनको योजना छ।
करको दर सीमित राखेर दायरा बढाउने उनले बताइन्।
वीरेन्द्रनगरलाई आफ्नै पालमा उपमहानगर बनाउने भण्डारीको महत्वाकांक्षा छ।
भण्डारी २०५५ सालबाट विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेकी हुन्। उनी २०५६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुर्खेतको सहसचिव भइन्।
अखिल नेपाल महिला संघको जिल्ला हुँदै प्रदेश तहसम्म काम गरेकी भण्डारी अहिले नेकपा एमालेको केन्द्रीय सदस्य छिन्। उनी अखिल नेपाल महिला संघको सचिवालय सदस्य पनि हुन्।
भण्डारीले राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी छन्।
भैरवी गाउँपालिकाकी अध्यक्ष शाहीले यसअघिका जनप्रतिनिधिले सुरू गरेर पूरा हुन नसकेका काम प्राथमिकतामा राखेकी छन्।
आफ्नो कार्यकालमा ग्रामीण क्षेत्रमा खानेपानी र सडक पूर्वाधार विशेष योजनाका रूपमा अघि बढाउने उनले बताइन्।
‘पहिलाका योजना पूरा गर्ने र जनजीवन उकास्ने योजना अगाडि बढाउनु छ। महिला, दलित, सीमान्तकृत जस्ता पछाडि परेका वर्गलाई समेटेर उनीहरूको जीवनस्तर उकास्ने गरी योजना बनाएर कार्यान्वयन गर्नु छ,’ शाहीले भनिन्, ‘महिला नै अध्यक्ष भएकाले पछाडि परेका महिलाको अपेक्षा अझ बढी हुन्छ।’
शिक्षाको पूर्वाधार विकास र गुणस्तरमा ध्यान दिने तथा स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउने उनको योजना छ।
शाही नेपाली कांग्रेसको दैलेख जिल्ला कार्यसमितिकी उपसभापति हुन्।
यसपालिको स्थानीय तह निर्वाचनमा कार्णाली प्रदेशमा नेतृत्व लिने प्रतिस्पर्धामा अन्य महिला उम्मेदवार पनि थिए।
सबैजसो दलले केही ठाउँमा महिलालाई नगर प्रमुख तथा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएका थिए तर उनीहरू विजयी भएनन्।