जनकपुरधाममा मनोज साह नेपाली कांग्रेसबाट विद्रोह गरेर मेयर निर्वाचित हुने तेस्रो व्यक्ति भएका छन्।
२०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट बागी भएर चुनाव लडेका वृषेशचन्द्र लाल मेयरमा विजयी भएका थिए। त्यति बेला कांग्रेसबाट दिगम्बर राय र लालकिशोर मेयरका आकांक्षी दिए। पार्टीले रायलाई टिकट दियो। लाल बागी उम्मेदवारी दिएर विजयी भएका थिए।
२०५४ को स्थानीय निर्वाचनमा कांग्रेसबाट दामोदरप्रसाद उपाध्याय र बजरंगप्रसाद साह आकांक्षी थिए। उपाध्यायले टिकट पाएपछि साहले बागी उम्मेदवारी दिए। पञ्चायतकालमा दुई पटक प्रधानपञ्च बनेका उपाध्यायलाई पराजित गरी बागी बजरंग मेयर निर्वाचित भएका थिए।
आज तीस वर्षपछि पनि जनकपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवारलाई नै त्यहाँका जनताले मेयर छानेका छन्।
निरन्तर ३४ वर्ष पार्टीमा खटेका जनकपुरधाम उपमहानगरपालिकाका कांग्रेस सभापति साह स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशनविपरीत 'स्वतन्त्र बागी' भएर मेयर पदको प्रतिस्पर्धामा उत्रिए। अन्ततः उनी गठबन्धनका उम्मेदवारलाई पराजित गरेर मेयर निर्वाचित भए।
सत्तारूढ गठबन्धनमा जनकपुरधाम उपमहानगरको मेयरको उम्मेदवारी जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति भएपछि साहले पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए।
साह पार्टीलाई सच्याउन विद्रोह गरेको र यसबाट आफूलाई कुनै असहज महसुस नभएको बताउँछन्।
निर्वाचित भइसकेपछि साहले सेतोपाटीसँग कुराकानी गर्दै भने, 'पञ्चीसवटै वडाका सभापति र कांग्रेसका उम्मेदवार मसँग भएपछि पार्टी छोड्न गाह्रो हुने कुरै भएन। मैले आफूले एउटा वडामा पनि उम्मेदवार उठाइनँ। कांग्रेसबाट वडामा उठेका सबै उम्मेदवार मेरै हुन्, मलाई अप्ठ्यारो हुँदैन।'
उनले आफू कांग्रेसलाई सच्याउने आन्दोलन बनेको र आफू नै आधिकारिक कांग्रेस रहेको दाबी गरे।
साहले आफूले पार्टी नेतृत्वलाई निर्णय सच्याउन पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएकाले स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताए।
पार्टी नेतृत्वले केन्द्रको निर्णय इमानदारीपूर्वक पालन गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको थियो। साह पार्टी छाडेर अघि बढे पनि मतदाताले उनलाई पत्याए। निकट प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हीरालाई पराजित गर्दै साह मेयरमा निर्वाचित भए।
कांग्रेसमा साहको साढे तीन दशक
२०४४ सालमा एसएलसी परीक्षा दिएपछि गाउँकै साथी गणेश झासँग साहको संगत भयो। नेपाल विद्यार्थी संघ (नेविसंघ) सदस्य रहेका झा साहभन्दा एक वर्ष अग्रज थिए। रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा झा नेविसंघमा आबद्ध थिए।
राजनीति बुझ्दै गएपछि २०४५ सालमा साह पनि नेविसंघमा लागे। बहुदलका लागि कांग्रेसले आन्दोलनको तयारी थालेको थियो। त्यही बेला झाले साहलाई कांग्रेस नेता विमलेन्द्र निधिसँग भेट गराए। निधिले उनलाई प्रशिक्षण दिए।
२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापनाका लागि भएको आन्दोलनमा साह सक्रिय थिए। तत्कालीन जनकपुर नगरपालिका वडा नम्बर १५ को जनआन्दोलन परिचालन समितिको संयोजक भएर काम गरे। निधि र झाबाटै पाएको प्रशिक्षणले आफूलाई आन्दोलन र राजनीतिमा आउने प्रेरणा मिलेको साहको भनाइ छ।
आन्दोलन सफल भएपछि २०४८ सालमा आमनिर्वाचन भयो। त्यति बेला निर्वाचनमा खटेका साह नेता महेन्द्रनारायण निधिको मतदान प्रतिनिधि बसेका थिए। २०४९ सालमा जनकपुर नगरपालिकामा मेयरका उम्मेदवार दिगम्बर रायको समेत उनी मतदान प्रतिनिधि थिए।
त्यसपछि साह कांग्रेसको वडा समिति सदस्य भए। २०५४ सालमा भएको कांग्रेस अधिवेशनमा उनी वडा सभापति चयन भए। २०५९ सालको अधिवेशनमा उनी नगर सदस्य भए। २०६४ सालको अधिवेशनमा नगरसचिव चयन भए।
यतिन्जेलमा साह संगठन निर्माणमा माहिर र प्रखर वक्ताका रूपमा स्थापित भए। उनी २०७२ सालमा भएको कांग्रेसको अधिवेशनमा नगर सभापति भए।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले उनलाई जनकपुरधाम उपमहानगरको मेयरको उम्मेदवार बनायो। उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार लालकिशोर साहसित १० हजारभन्दा बढी मतान्तरले पराजित भए। त्यो बेला मधेस आन्दोलनको रापताप निकै चर्को थियो।
२०७८ मा भएको कांग्रेस अधिवेशनमा दोस्रोपटक उनी नगरसभापति चुनिए। कांग्रेसका पूर्वउपसभापति निधि निकट साहले फेरि पनि मेयरको टिकटका लागि केन्द्रीय नेतृत्वसामु प्रयास गरे। केही नचलेपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए।
पार्टीभित्र लोकतन्त्र समाप्त हुन थालेपछि सच्याउन आफूले विद्रोह गरेको साहको तर्क छ।
'हामीले लोकतन्त्र र गणतन्त्रका लागि आन्दोलन गर्यौं, पार्टीमै त्यसकै कमी भयो। देशमा विकेन्द्रीकरण लागू भइसकेपछि त्यो फर्मूला पार्टीमा पनि लागू गर्नुपर्यो,' उनी भन्छन्, 'जनकपुरधाम उपमहानगरमा गठबन्धन गर्नु हुँदैन भनेर जिल्ला कार्यसमितिले प्रदेशलाई लिखित रिपोर्ट पठायो। तर पार्टीको विधानविपरीत निर्णय भएपछि मैले विद्रोह गरेँ।'
पार्टी सच्याउन आफूले विद्रोह गरेर आन्दोलन गरिरहेको र यसमा कांग्रेसका कार्यकर्ताले राम्रो साथ दिएको उनको भनाइ छ। पार्टीभित्रको लोकतन्त्र रक्षा गर्न आफूले लडाइँ गरेको उनको जिकिर छ।
'नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी हो। यसबाट पथभ्रष्ट हुनुभएन। कांग्रेसले कम्युनिस्ट पार्टीहरूसँग गठबन्धन गर्दा पार्टीको दिशा बिग्रेको छ,' साह भन्छन्, 'कांग्रेसका कार्यकर्ताले मधेस प्रदेशमा पार्टी र डेमोक्रेसी बाँच्छ भनेर मेरो चेहरा हेरेर भोट दिनुभयो।'
अब जनकपुरका समस्या समाधानमा केन्द्रित हुने साहले बताए। जनकपुरको सबभन्दा ठूलो समस्या बनेको फोहोर एक वर्षभित्रै व्यवस्थापन हुने दाबी पनि उनले गरेका छन्।
फोहोर व्यवस्थापन निम्ति उनले ल्यान्डफिल साइट बनाउने योजना बुनेका छन्। सरसफाइका लागि आवश्यक सबै उपाय र प्रविधि प्रयोग गर्ने उनको भनाइ छ।
'फोहोर व्यवस्थापनबारे अहिले नै सबै कुरा भन्नु हतार हुन्छ। असम्भव केही छैन। नगरपालिकाको केन्द्रीकृत प्रणाली गलत छ,' साहले भने, 'हामी २५ वटै वडामा ससाना संकलन केन्द्र बनाउँछौं र फोहोर व्यवस्थापन प्रणाली विकेन्द्रीत गर्छौं।'
उनले फोहोर प्रशोधन गर्ने पनि बताए।
साहले अस्तव्यस्त जनकपुरधाम सहर व्यवस्थित गर्न पाँच वर्षभित्र बाहिरी चक्रपथ बनाउने महत्वाकांक्षी योजना पनि सुनाए। प्रदेश र संघीय सरकारसँग समन्वय गरेर ३० मिटर चौडाइको बाहिरी चक्रपथ योजना पूरा गर्ने उनले बताए।
'यो कनेक्टिभिटीको सबभन्दा ठूलो आधार हो। रामवाण दबाइ पनि हो। यसबाट जनकपुरको अव्यवस्थित सहरीकरण र जग्गाको मूल्य वृद्धि नियन्त्रण हुनसक्छ,' साह भन्छन्, 'यो मेरो दीर्घकालीन योजना हो। ट्राफिक व्यवस्थापनको उपचार पनि बाहिरी चक्रपथ नै हो।'
तत्काल ट्राफिक व्यवस्थापनका लागि सबै क्षेत्रमा सवारी बिसौनी बनाउने र फुटपाथ बजार व्यवस्थित गर्ने उनले बताए।
शिक्षा क्षेत्र सुधारका लागि सबभन्दा पहिले पूर्वमेयर लालकिशोरले बनाएको त्रुटिपूर्ण कानुन सच्याउनुपर्ने साहको भनाइ छ। त्रुटिपूर्ण कानुनका कारण दरबन्दी मिलान र शिक्षक व्यवस्थापन हुन नसकेको उनको भनाइ छ।
'विषयगत शिक्षक भएपछि गुणस्तरीय शिक्षा कल्पना गर्न सक्छौं। निजी स्रोतबाट पनि शिक्षक राख्छौं,' साहले भने, 'प्रत्येक विद्यालयले पढाइसँगै विद्यार्थीलाई खेलाउनुपर्ने व्यवस्था पनि गर्छौं।'
उपचारका लागि प्रादेशिक अस्पतालमा मात्रै निर्भर हुनुपरेकाले जनताले सास्ती खेप्नुपरेको साहको भनाइ छ। स्वास्थ्य क्षेत्रमा सुधारका लागि उपमहानगरपालिकाले कानुन बनाएर सबै वडामा स्वास्थ्य चौकी व्यवस्थित गरिने उनले बताए। भएका बर्थिङ सेन्टर पनि व्यवस्थित गर्ने र नभएका ठाउँमा निर्माण गर्ने उनको भनाइ छ।
उपमहानगरपालिकाले पाँच वर्षमा बनाउन नसकेको कृषिसम्बन्धी कानुन बनाउने र किसानलाई सिँचाइ, मलखाद र बीउबिजन उपलब्ध गराउने आफ्नो योजना रहेको साहले बताए। बेरोजगारी समस्या समाधान गर्न युवा, महिला र दलित लक्षित कार्यक्रम ल्याउने पनि बताए।
साहले भने, 'कृषिजन्य घरेलु उद्योग खोल्छौं। कृषि बजार व्यवस्था गर्छौं। व्यापार संघ र चेम्बर अफ कमर्ससँग औद्योगिक र धार्मिक पर्यटकीय नगरी बनाउन समन्वय गर्छौं।'
५२ कुटी र ७२ पोखरीको सौन्दर्यीकरण गरेर पर्यटकीय नगरी बनाउने उनको योजना छ। सबै काममा विज्ञको सुझावअनुसार योजना बनाएर अघि बढ्ने उनले बताए। पारदर्शिता र सुशासनका लागि सञ्चारकर्मीका निम्ति सूचना डेस्क राख्ने उनको भनाइ छ।
यस्ता काममा ठूलो चुनौती नरहेको साहको भनाइ छ।
'खाने मुखलाई जुँगाले छेक्दैन। चुनाव जित्नु ठूलो चुनौती थियो,' साहले भने 'तर असहज भएन। मेरा लागि काम नै चुनौती हो।'
जनकपुरधाम उपमहानगरमा राम्रो काम भएन भन्ने स्थानीयवासीको गुनासो रहेको र सबै गुनासो सम्बोधन गरेर आफू जनाताको काममा खट्ने नवनिर्वाचित मेयर साहको भनाइ छ।