गण्डकी प्रदेशमा रहेका ८५ वटा पालिकामा नेपाली कांग्रेसले ३६, नेकपा एमालेले ३५, नेकपा माओवादी केन्द्रले ११ र जनमोर्चाले २ वटा पालिका जितेका छन्।
अब परिणाम आउन बाँकी पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीले जित्ने लगभग पक्का देखिएको छ।
२०७४ को स्थानीय निर्वाचनको परिणाम हेर्दा नेपाली कांग्रेसले ८ वटा पालिका गुमाउन पुगेको छ। उक्त निर्वाचनमा ४२ वटा पालिका जितेर कांग्रेस पहिलो शक्ति बनेको थियो। अहिलेको निर्वाचनमा ८ वटा पालिका गुमाए पनि कांग्रेस पहिलो शक्तिमा यथावत् देखिएको छ।
नेकपा एमालेले अघिल्लो निर्वाचनमा पनि ३५ वटै पालिका प्रमुख जितेको थियो। अघिल्लो निर्वाचन र यस निर्वाचनको सिट संख्यामा धेरै हेरफेर नदेखिए पनि एमालेले यसपटक धक्का बेहोर्न पुगेको छ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा महानगरमा अघिल्लो निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित दुई तिहाइ जनप्रतिनिधि जितेका थिए।
प्रदेशमै एकमात्र महानगर पोखराका ३३ वटा वडामध्ये एमाले एक्लैले २२ वटा वडा जितेको थियो भने कांग्रेस ११ वटा वडामा सीमित भएको थियो। यसपालि पोखरा महानगरका वडामा पनि कांग्रेसले उल्ट्याएको छ।
पोखरा महानगरसहित कास्कीमा रहेका चार वटा गाउँपालिकामध्ये अघिल्लो निर्वाचनमा एमालेले तीन वटा गाउँपालिका जितेको थियो। कास्कीका एमालेले २ वटा जितेको छ भने कांग्रेसले पनि २ वटा गाउँपालिका जितेको छ।
२०७४ को निर्वाचनमा ५ वटा पालिकामात्र जितेको नेकपा माओवादी केन्द्रले यसपटक सुधार गरेको छ। अघिल्लो सिट संख्याभन्दा दोब्बर बनाएर माओवादीले यसपटक ११ वटा पालिका जितेको छ।
माओवादी केन्द्रले गोरखामा मात्रै ९ वटा, तनहुँको आँबुखैरेनी र बागलुङको ताराखोला गाउँपालिका जितेको छ।
राष्ट्रिय जनमोर्चाले अघिल्लो पटक बागलुङका २ पालिका जितेको थियो। यसपटक पनि २ पालिकामै सीमित रह्यो। बागलुङमा ५ दलीय गठबन्धन गरेर जनमोर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा जित हासिल गरेको छ।
२०७४ मा मुस्ताङका ५ पालिकामध्ये तीन वटा पालिकामा जित हात पारेको थियो। यसपालि मुस्ताङका ४ वटा पालिका एमालेले जित्यो भने कांग्रेस एउटा पालिकामा सीमित हुन पुग्यो।
म्याग्दीमा पनि कांग्रेस खुम्चिएको छ। जिल्लाका ६ वटा पालिकामध्ये एमालेले ४ वटा पालिका जितेको छ भने कांग्रेस २ वटा पालिकामा सीमित भएको छ। २०७४ मा म्याग्दीका कांग्रेसले ४ वटा पालिका जितेको थियो।
उता, बागलुङमा भने एमालेले क्षति व्यहोर्न पुगेको छ। जिल्लाका १० पालिकामध्ये एमालेले ढोरपाटन नगरमा मात्र सीमित भएको छ।
२०७४ मा एमालेले बागलुङका पाँच वटा पालिका जित्न सफल भएको थियो।
यसपटकको निर्वाचनमा अघिल्लो सिट संख्याभन्दा थप २ पालिका थपेर कांग्रेसले ६ वटा पालिका प्रमुख जित्न सफल भएको छ भने जनमोर्चाले २, माओवादीले १ र एमालेले १ वटा पालिका जितेको छ।
यस्तै, पवर्तमा पनि कांग्रेसले यसपटक सुधार गरेको छ। २०७४ को निर्वाचनमा ३ वटा पालिका जितेको कांग्रेसले यसपटक ५ वटा पुर्याएको छ। ७ वटा पालिका रहेको पर्वतमा बाँकी २ वटा पालिका एमालेले जितेको छ। अघिल्लो निर्वाचनमा पर्वतका ४ वटा पालिका एमालेले जितेको थियो।
११ वटा पालिका रहेको स्याङ्जामा यसपटक एमालेले एउटा पालिका गुमाउन पुग्यो। २०७४ मा एमलोले स्याङ्जाका ७ वटा पालिका जितेको थियो भने कांग्रेसले ४ वटा पालिका जितेको थियो।
यसपटक कांग्रेसले एउटा पालिका थपेर ५ वटा पुर्याएको छ भने एमालेले ६ वटा पालिका जित्न सफल भएको छ। स्याङ्जा सदरमुकाम रहेको पुतली बजार नगरपालिका एमालेको हातबाट यसपटक कांग्रेसले खोसेको छ भने वालिङ नगरपालिका कांग्रेसको हातबाट एमालेले खोसेको छ।
तनहुँका १० वटा पालिकामध्ये २०७४ मा कांग्रेसले ६ वटा र एमालेले ३ वटा र माओवादीले एउटा पालिका जितेको थियो।
यसपटक कांग्रेसले ५ वटा, एमालेले ४ वटा र माओवादी केन्द्रले एउटा पालिका जितेको छ।
हिमालपारि मनाङका ४ वटा पालिकामा कांग्रेस र एमालेले २/२ पालिका बाँडेका छन्। अघिल्लो निर्वाचनमा पनि मनाङमा कांग्रेस र एमाले २/२ पालिकामै बाँडिएका थिए।
कांग्रेसलाई गण्डकीमा सबभन्दा ठूलो क्षति गोरखामा भएको छ। अघिल्लो निर्वाचन जितेको गोरखामा मात्र कांग्रेसले ७ वटा पालिका गुमाउनुपरेको छ।
गोरखाका ११ पालिकामध्ये २०७४ मा ९ वटा पालिका जितेकोमा यसपटक ९ वटा पालिका माओवादी केन्द्रले खोसेको छ।
अघिल्लो पटक २ वटा पालिकामा सीमित माओवादीले यसपटक कांग्रेसलाई २ सिटमा सीमित पारिदिएको छ।
लमजुङका ८ वटा पालिकामध्ये कांग्रेसले ४ वटा र एमालेले ४ वटा पालिका जितेको छ।
२०७४ मा लमजुङमा एमालेले ५ वटा, कांग्रेसले २ र माओवादीले एउटा पालिका जितेको थियो। यसपटक लमजुङमा ४/४ पालिका कांग्रेस र एमालेले बाँड्दा माओवादी केन्द्रले भने एउटै पालिका जित्न सकेन।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको गृहजिल्ला नवलपुरमा यसपटक एमालेले सुधार गरेको छ।
२०७४ मा नवलपुरका ८ वटा पालिकामध्ये ६ वटा पालिका जितेको कांग्रेस यसपालि २ वटामा सीमित भएको छ।
२०७४ मा नवलपुरका २ वटा पालिका जितेको एमाले अहिले ६ वटा पालिकामा जित निकालेको छ। कांग्रेसले गोरखापछि धेरै क्षति बेहोर्न परेको जिल्ला नवलपुर बनेको छ।
गठबन्धनको औचित्यमा प्रश्न
प्रदेशभरका चुनावी परिणाम हेर्दा नगरपालिकामा कांग्रेस अगाडि र गाउँपालिकामा एमाले अगाडि देखिएको छ।
गण्डकीका दुई तिहाइ नगरपालिका कांग्रेसको पोल्टामा पुगेको छ भने गाउँपालिका एमालेको पोल्टामा पुगेको छ।
सत्तारूढ नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र जनता समाजवादी पार्टी गठबन्धन गरेर चुनावमा होमिएको थियो भने अर्कोतिर नेकपा एमालेको नेतृत्वमा राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल लगायतले गठबन्धन गरेका थिए।
यी दुबै गठबन्धन कसिलो हुन नसकेको नेताहरूले प्रतिक्रिया दिएका छन्।
नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले माओवादीलाई साथमा लिएर हिँड्न नसक्दा समस्या पैदा भएको बताए।
उनले कतिपय ठाउँमा माओवादीले एमालेलाई मतदान गरेको दाबीसमेत गरे।
‘माओवादीलाई साथमा लिएर जान सकिएन, एमालेसँग मिल्न गयो,’ उनले भने, ‘प्रष्ट नीतिको अभावमा गठबन्धन बलियो देखिएन।’
गठबन्धन बलियो बनाउन प्रदेशबाट गरेको सिफारिस पनि लागू नगरेको र केन्द्रबाट पनि उचित वातावरण नबनाइदिएको शर्माको भनाइ छ।
‘गठबन्धन गर्न केन्द्रबाट पनि वातावरण भएन, तल स्थानीय स्तरमा पनि पूरा भरोसा लिन सकिएन,’ उनले भने।
मत परिणाम हेर्दा उत्साहपूर्ण नै रहेको शर्माले बताए। दुई तिहाइ नगरपालिका जितेको भन्दै उनले आगामी दिनमा गठबन्धन बलियो बनाएर लैजान आवश्यक रहेको बताए।
‘गठबन्धन बलियो बनाउन आवश्यक छ, आगामी दिनमा,’ उनले भने, ‘अहिलेको जस्तै गर्ने हो भने गठबन्धन नगरे पनि हुन्छ।’
नेकपा एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले पार्टीप्रतिको जनविश्वास कायमै रहेको दाबी गरे।
‘समग्रमा मत हेर्दा पार्टीप्रति जनविश्वास बढेकै छ,’ उनले भने, ‘पाँच दलीय गठबन्धन एकातिर हुँदा पनि जनताको विश्वास टुटेको देखिएन।’
एमालेका लागि पोखरा महानगरसहित कास्कीका गाउँपालिका र बागलुङका पालिकामा बेहोर्न पुगेको क्षति गम्भीर भएको उनले बताए। अन्य जिल्लामा एकाध पालिका गुमाउने र थपिने कुरा स्वाभाविक भएको उनको टिप्पणी छ।
राप्रपा र राप्रपा नेपालसँग एकाध ठाउँमा गठबन्धन गरे पनि परिणाम नदेखिएको दवाडीले बताए।
‘एमालेले राप्रपासँग एकाध ठाउँमा गरेको गठबन्धन उपलब्धीपूर्ण देखिएन,’ उनले भने, ‘ती पार्टीसँग गठबन्धन गर्नुको औचित्य पुष्टि भएन।’