आइतबार अपराह्नसम्म तुलसीपुर उपमहानगरपालिकामा आधाभन्दा धेरै मतगणना भइसक्दा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवार सत्ता गठबन्धनका उम्मेदवारभन्दा अगाडि थिए।
करिब ४० हजार मतगणना हुँदा मेयरमा एमालेका टीकाराम खड्का १ हजार २ सय ८७ मतले अगाडि पुगेका छन्।
खड्काले १७ हजार २ सय ७७ मत र गठबन्धनबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ९ सय ९० मत पाएका छन्।
त्यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरीले १६ हजार ५ सय ८८ र गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ११ हजार ७ सय ९३ मत पाएका छन्। चौधरी ४ हजार ७ सय ९५ मतले अगाडि छन्। चौधरीले सुरूदेखि नै अग्रता लिएकी हुन्।
मेयरमा भने वडा नम्बर १, २, ३, ४, ५, ६, ७ गणना गर्दासम्म बीचमा एकले अर्काेलाई उछिन्ने क्रम चल्यो। १९ वटा वडा रहेको तुलसीपुरमा यो समाचार तयार पार्दासम्म वडा नम्बर १० सम्मको नतिजा आइसकेको थियो।
वडा नम्बर १ र ४ माओवादीको भागमा परेको छ भने २, ३, ६, ८ र १० एमालेले जितेको छ। कांग्रेसले ५, ७ र ९ नम्बर वडा जितेको छ।
वडा नम्बर २ मा २०७४ सालमा कांग्रेसबाट जितेका राजु आचार्य यसपालि पनि वडाध्यक्ष उम्मेदवार थिए। उनी एमाले उम्मेदवारसँग पराजित भए।
८ नम्बर एमाले नेता तथा यसअघिका मेयर घनश्याम पाण्डेको वडा हो। नम्बर १० कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्का र नेता महादेव शाहको वडा हो। यसअघि यी वडा पनि कांग्रेसले जितेको थियो। एमालेले वडा नम्बर २, ८ र १० कांग्रेसबाट खोस्दै गर्दा कांग्रेसका मेयर उम्मेदवारको मत पनि उल्लेखनीय मात्रामा काटियो।
वडा नम्बर ३ र ६ भने पहिले पनि एमालेले नै जितेको थियो। वडा नम्बर ६ मा २०७४ सालमा पराजित उम्मेदवारलाई कांग्रेसले यसपालि पनि उभ्याएको थियो। यो लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटन विकासमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरीको वडा पनि हो। यही वडामा कांग्रेसका पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, कांग्रेस क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, नगर सभापति सुरेश हमाल लगायतको बसोबास छ।
बजारको मुख्य केन्द्र भाग वडा नम्बर ५ भने कांग्रेसका मेयर उम्मेदवार तथा केन्द्रीय सदस्य गिरीको वडा हो। यही वडामा कांग्रेसका अर्का केन्द्रीय सदस्य दीपक गिरीको पनि घर छ। उनीहरू नाताले दाजुभाइ पनि हुन्। त्यसैले पनि कांग्रेसलाई यो वडामा जीत सहज भयो। यो वडामा यसअघिकै वडाध्यक्षले जितेका छन्।
त्यस्तै वडा नम्बर ९ मा पनि २०७४ सालकै कांग्रेस वडाध्यक्षले झिनो मतान्तरले जिते।
यसअघिका कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको वडा नम्बर ४ माओवादीको हात लागेको छ।
२०७४ सालमा वडा नम्बर ११ कांग्रेसले जितेको थियो। यसपालि यहाँ कांग्रेसकै बागी उम्मेदवार छन्। त्यसैले यहाँ पनि एमालेकै उम्मेदवारले अग्रता लिइरहेका छन्।
अहिलेसम्मको गणनाअनुसार वडा नम्बर १२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रको अग्रता छ। यहाँ झिनो मतान्तरले माओवादीका उम्मेदवार अगाडि छन्। यो वडा पहिले एमालेले जितेको थियो।
वडा नम्बर १३ यसअघि कांग्रेसले जितेको थियो। एमालेकी उपमेयर उम्मेदवार स्यानी चौधरी यही वडाकी हुन्। हाल उनी ६ नम्बर वडामा बस्छिन्।
तुलसीपुरमा झन्डै ७५ हजार मत खसेको छ। २०७४ सालमा कांग्रेसले यहाँ १० वटा वडा र बाँकी ९ वटा एमालेले जितेको थियो।
वडामा भइरहेको मतगणनामा उतारचढाव चलिरहँदा तुलसीपुरका मेयर प्रतिस्पर्धीहरू एमालेका टीकाराम खड्का र कांग्रेसका गेहेन्द्र गिरी सँगै बसेर गफिरहेका हुन्छन्। अधिकांश समय उनीहरू तुलसीपुरस्थित सरकारी वकिलको कार्यालय परिसरमा चिया खाँदै रमाइलो गफगाफ गरेका देखिन्छन्।
एकअर्कालाई दाइभाइ सम्बोधन गर्दै उनीहरू 'आफू मेयर हुने' भनिरहेका थिए।
'गेहेन्द्र दाइले मलाई आफ्नै एरियामा पनि हराउन सक्नुभएन,' एमालेका खड्काले सेतोपाटीसँग भने, 'ग्वारखोला पारि पुगे त म दाइलाई भेटाउनै दिन्नँ।'
ग्वारखोला पश्चिम तुलसीपुरमा पर्छ भने ग्वारखोला पारि तुलसीपुरसँग मिलाइएका तीन साविकका गाविसहरू डुरुवा, मानपुर, बिजौरी पर्छन्। पछिल्लो सीमांकनको समयमा तुलसीपुर नगरलाई उपमहानगर बनाउँदा ती गाविस मिलाइएका हुन्।
२०७४ सालमा ग्वारखोला पारिका १४ र १७ नम्बर वडा कांग्रेसले जिते पनि १५, १६, १८ र १९ एमालेले जितेको थियो।
अहिले पनि आफ्नो पक्षमा त्यही रूपमा मत आउने एमालेको दाबी छ । एमाले तुलसीपुर नगर कमिटीका अध्यक्ष माधव वलीले पनि ग्वारखोला पारि पुग्नासाथ एमालेको पक्षमा ह्वात्तै मत बढेर जाने लख काटे। वली २०७४ सालमा वडा नम्बर १८ बाट निर्वाचित वडाध्यक्ष हुन् र अहिले पनि त्यही वडामा वडाध्यक्षका उम्मेदवार छन्।
'कांग्रेसका गेहेन्द्र गिरीले आफ्नो कोर एरियामा मत ल्याउन सक्नुभएन,' वलीले भने, 'अब ग्वारखोला पारि पुगे त हाम्रो लालकिल्ला सुरू भइहाल्छ। कांग्रेसलाई हामी धेरै पछाडि छोडेर अगाडि बढ्ने छौं।'
कांग्रेस वृत्तमा पनि यो कुरा चल्दै आएको छ। मेयर उम्मेदवार गिरी आफैं पनि यो कुरा नकार्दैनन्।
'अवश्य हो। हामीले ग्वारखोला वारितिर १५ सयदेखि दुई हजार मतले अग्रता लिएको भए जित्न सहज हुन्थ्यो,' गिरीले भने, 'अहिलेको अवस्था हेर्दा पहिलेजस्तो छैन। हामीले जितेका ठाउँमा हारेका छौं र पहिले उनीहरूले जितेकामा हामीले जितेको स्थिति छ।'
ग्वारखोला पारि पहिले नै कांग्रेसले दुई वडा जितेको हुँदा यसपालि थप वडा जित्ने सक्ने सम्भावना नकार्न नमिल्ने उनले बताए।
'एउटा वडाबाट दुई-अढाई सय मतले अगाडि बढे त जितिहाल्छौं नि,' उनले भने, 'मत बाकसभित्र रहेकाले अहिल्यै अन्दाज गर्न सकिँदैन।'
तर अहिलेकै स्थिति कायम रहे जित्न सहज नहुने उनी स्वीकार्छन्। उम्मेदवार गिरीले कांग्रेसकै ठूला नेताहरूको वडाबाट आफू हारेर आउनुपर्दा दुःख लागेको बताए।
'हार-जित सामान्य कुरा हो,' उनले भने, 'तर हाम्रै पकेट क्षेत्र मानिने पार्टीका ठूला नेताका वडाबाट हार बेहोर्नु पर्दा भने नमज्जा लाग्दो रहेछ।'
कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल पनि अब तुलसीपुरमा कांग्रेसले मेयर जित्न कठिन देख्छन्।
'हाम्रै पकड क्षेत्रमा हामीले अपेक्षा गरेअनुसार मत पाउन सकेनौं,' हमालले भने, 'हामीले यता २ हजारदेखि ३ हजार बढी मत ल्याएको भए ग्वारखोला पारि पुग्दा ब्यालेन्स हुन्थ्यो भन्ने हाम्रो बुझाइ छ। तर यस्तो भएको छैन। तै पनि गठबन्धनबाट सही रूपमा मत आए सम्भावना नकार्न मिल्दैन।'
किन यस्तो अवस्था आयो त?
हमालले कारण प्रष्ट्याउँदै भने, 'खासमा गठबन्धन नाममा मात्र सीमित रह्यो, भोटमा हुन सकेन। हाम्रै मतले वडा नम्बर १ र ४ मा माओवादीलाई जितायौं। वडा नम्बर १२ मा पनि कांग्रेसले माओवादीप्रति इमानदारी देखायो। तर अपेक्षाकृत सहयोग पाउन सकेनौं।'
उम्मेदवार छनोटमा अन्तिम चरणमा हुनु, बदर मत धेरै हुनुले पनि कांग्रेसले हार्ने स्थिति पैदा भएको उनको तर्क छ।
२०७४ को निर्वाचनमा पनि गेहेन्द्र गिरी मेयरमा पराजित भएका थिए। पूर्वमाननीय र १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गिरीले निर्वाचनको अन्तिम समयमा आएर मेयरमा उठ्ने आकांक्षा व्यक्त गरेका थिए। नाम सिफारिस भइसकेपछि उनको नाम थपेर नगरले पठाएको थियो।
त्यसअघि नगर सभापति हमाल, महाधिवेशन प्रतिनिधि विमल रिजाल, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, यसअघिका सभापति कीर्तिबहादुर खड्का, डा. नहकुल केसी लगायतको नाम मेयरका रूपमा चर्चामा थियो।