काठमाडौं महानगरपालिकाको उपमेयर पदमा मात्रै ३६ हजार भन्दा धेरै मत बदर भएको छ।
काठमाडौं महानगरपालिकाले अहिलेसम्म १ लाख ६ हजार ५१६ मत गणना गरेको छ। तर अहिलेसम्म उपमेयरका सबै उम्मेदवारले जम्मा ६९ हजार ८८६ मत मात्र प्राप्त गरेका छन्।
सबैभन्दा धेरै मत प्राप्त गर्ने नेकपा एमालेकी सुनिता डंगोलले उपमेयरमा ३८ हजार ३५१ मत प्राप्त गरेकी छिन्। त्यसपछि दोस्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन्।
राप्रपाकी बिनिता मगैयाले ७ हजार २३, विवेकशील साझाकी कीर्ति कंसाकारले १ हजार ६७५, नेमकिपाकी सविता श्रेष्ठले ११२ मत प्राप्त गरेका छन्। दुई स्वतन्त्र उम्मेद्वार लौरोका बेन्जी सिंह महर्जनले ४ हजार ८ र आँखिझ्यालकी उम्मेदवार विद्या श्रेष्ठ महर्जनले ४ हजार ५१४ मत पाएका छन्। त्यसबाहेक अन्य स्वतन्त्र उम्मेदवारले पाएको कुल मत ७७२ मात्र छ।
काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांक केलाउने हो भने उपमेयर पदमा मात्र हालसम्म ३६ हजार ६३० मत बदर भएको देखिन्छ।
काठमाडौं महानगरमा १ लाख ९१ हजार मत खसेको छ। यसरी हेर्ने हो भने बदर मत संख्या अझै बढ्ने देखिन्छ। काठमाडौंमा अहिलेसम्म १४ वटा वडाको मतगणना सम्पन्न भएको छ। ३२ वटा वडा रहेको काठमाडौंमा अहिले ९ वटा वडाको मतगणना जारी छ। ९ वटा वडाको अहिलेसम्म मतपेटिका खोलिएको छैन।
काठमाडौं महानगरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले धेरै मत बदर हुनुको पछाडि काठमाडौं मतपत्रको डिजाइन प्रमुख समस्या भएको बताइन्।
'मैले मतगणना हुँदा मेरो पनि धेरै मत नआएको र अरूको पनि नआएको देखेपछि कहाँ गयो भनेर चासो लागेर मतगणना भएको ठाउँमा पुगेकी थिएँ', सुनिताले सेतोपाटीसँग भनिन्, 'आंशिक बदर धेरै भएको रहेछ। सम्पूर्ण मतपत्र बदर हैन कि उपमेयरको मात्र बदर धेरै छ।'
उनले मतपत्रकै कारण मानिसहरू दुविधामा परेको बताइन्। ‘अहिले दुई वटा कोलमको मतपत्रमा बनाइयो। मानिसहरू मतदानका बेला त्यसै पनि नभर्स हुन्छन्,’ सुनिताले भनिन्, ‘एउटा कोलममा दिने अनि अर्को कोलममा पनि हालेको धेरै देखियो।’
मत बदर हुनुमा प्राविधिक कारण धेरै भएको उनले बताइन्। 'म मतगणनामा अघिअघि छु तर सँगसँगै दुःख लागेको छ १ लाख ६ हजार मतगणनामा पनि ३८ हजार मत मात्र छ,’ सुनिताले भनिन्, 'यो भनेको ४० प्रतिशत पनि भएन। त्यो त हुनै नपर्ने हो। मलाई पनि कत्ति चित्त बुझेको छैन।'
सुनिताले आफूले अन्य प्रतिस्पर्धी भन्दा धेरै मत पाए पनि मतपत्रको डिजाइनकै कारण अझ धेरै मत ल्याउन नसकेको बताइन्।
तर गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले धेरै मत बदर भएका कारण आफू मतगणनामा पछि परेको बताए।
'बदर भएका सबै मत हाम्रो हो,’ रामेश्वरले भने, 'रूखमा पनि छाप लगाएको छ। अनि कलममा पनि छाप लगाएको छ। अनि रूखमा लाइनका लाइन भोट दिएको छ।'
रामेश्वरले रूख र कलममा पनि मत दिने मतदाताको संख्या झण्डै ५० प्रतिशत रहेको दाबी गरे। 'मतपत्रमा दुई वटा लाइनमा चुनाव चिन्ह राखिएका कारण धेरै मत उपमेयरमा बदर भएको छ। अन्यमा खासै छैन,’ रामेश्वरले भने, 'रूखै रूखमा दिएको मत पनि धेरै छ।'
उनले सुनितासँग आफ्नो मतान्तर धेरै हुनुको कारण पनि बदर मत भएको बताए। 'मैले पाएको भोट र सुनिताले पाएको भोट भन्दा बदर मत धेरै हुने देखिएको छ,' रामेश्वरले भने, 'निर्वाचन आयोगले उम्मेदवार नभएको ठाउँमा पहिला निर्वाचन चिन्ह नराख्ने भन्यो। पछि राखेर मतपत्र पठायो। त्यसको परिणाम हो यो।'
रामेश्वरले रूख र कलममा दिइएको मत दिएको अवस्थामा रूखमा उम्मेदवार नभएकाले कलममा आफूलाई प्राप्त मतलाई सदर मान्नुपर्ने बताए। 'म निर्वाचन कार्यालयलाई निवेदन दिने सोचिराखेको छु,' उनले भने, ‘रूखमा पनि हानेर मलाई पनि दिएको मत त मैले पाउनु पर्यो नि। रूखमा त उम्मेदवार छैन।’
रूखकै लहरमा दिइएको मतलाई आफू बदर मत मान्न तयार रहेको उनले बताए। 'तर रूखलाई पनि मलाई पनि दिएको मत त स्वत मेरो हुनुपर्छ', उनले भने, 'अहिले त्यसलाई बदरमा जोडिएको छ।'
रामेश्वरले निर्वाचन अधिकृतसँग आफूले कुराकानी गरे पनि दुई वटा चिन्हमा मत दिएपछि बदर हुने जवाफ दिएको बताए।
'हामीलाई निर्वाचन आयोगबाट दुई वटामा मत दिँदा बदर भनेर पत्र आएको छ भनेर उहाँहरूले जवाफ दिनुहुन्छ,' रामेश्वरले भने, 'तै पनि म निवेदन दिने सोचमा छु।'
कतिपयले किन भोट कम आएको भनेर सोधेको प्रश्नमा जवाफ दिन समेत समस्या परेको उनले बताए। 'रामेश्वरको भोट सबै बदर भएको छ,' उनले भने, 'बदर मत जोड्यो भने सुनिताको भन्दा कहाँ हो कहाँ हाम्रो भोट आउँछ। किनभने उनले पाएकै बराबर मत बदर भएको छ।'
उनले बदर भएको मध्ये ५० प्रतिशत भन्दा धेरै आफ्नो चिन्हमा छाप आएको उनले बताए। 'रूखमा पनि मत दिएको छ। कलममा पनि आएको छ', उनले भने, ‘प्रचार गर्दा रूखमा पनि हाल। तल कलममा पनि हाल भनियो। त्यसले गर्दा कलममा पनि ढकाढक मत दिएका कारण बदर भएको छ।'