पश्चिम क्षेत्रको प्रमुख व्यापार केन्द्र बुटवलमा नेपाली कांग्रेसले तीन दशक पछि ‘कमब्याक’ गरेको छ।
यसअघि २०४९ सालमा सूर्यप्रसाद प्रधानको नेतृत्वमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वटा वडा जितेको थियो। त्यतिबेला १५ वटा वडा रहेको बुटवलमा एमालेले भने जम्मा तीन वडा मात्रै जितेको थियो।
२०५४ सालमा भएको नगरपालिकाको चुनावमा एमालेले कांग्रेसको सत्ता उल्ट्याइदियो। एमालेले नगर प्रमुखमा भोजप्रसाद श्रेष्ठ, उपप्रमुखमा विमलबहादुर शाक्य र १२ वटा वडा जितेको थियो।
नगरपालिकामा त्यसयता २०७४ सालमा मात्रै निर्वाचन भए पनि २०५६ सालको संघीय निर्वाचनबाहेक २०६४ र २०७० सालका संविधानसभा र २०७४ सालका संघ र प्रदेश सभा निर्वाचनमा एमालेले एकछत्र विजयको किल्ला गाडेको थियो। २०५६ सालको संसदीय निर्वाचनमा भने कांग्रेसका सुर्यप्रसाद प्रधान निर्वाचित भएका थिए।
२५ वर्षपछि अहिले नेपाली कांग्रेसले एमालेको गढ भनिएको बुटवलमा आफ्नो विजयको झण्डा गाड्न सफल भएको छ।
सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेयले बुटवलको मेयर जितेका छन्।
अन्तिम मतपरिणामअनुसार पाण्डेयले ३० हजार १ सय ३० मत पाएर विजयी भएका छन् भने एमले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत पाएका छन्।
को हुन् पाण्डेय?
पाण्डेय नेपाली कांग्रेसको बुटवल उपमहानगर समिति सभापति हुन्। अहिले उनी तेस्रो पटक नगर सभापति भएका हुन्। यसअघि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा उनले नेपाली कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको राजनीतिक संयन्त्रमा रही स्थानीय निकायको काम बुझ्ने मौका पाए।
२०२६ साल फागुन ५ गते स्याङ्जाको साविक आलमदेवी २ (हाल कालिगण्डकी २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरका बासिन्दा हुन्।
१३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरू गरे पनि विद्यार्थी संगठनमा आवद्ध भई स्याङ्जाबाटै राजनीतिक यात्रा सुरू गरेका थिए।
आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डेय २०४० सालमा पाल्पाको जेभिटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए।
त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव भए।
विद्यार्थी राजनीतिपछि तरूण दलमा आबद्ध भएका पाण्डे २०५९ सालमा नेपाल तरूण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरूण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए।
२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन्।
श्रीमती सीता भट्टराई पाण्डे र एक छोराका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन्।
किन हार्यो एमाले?
नेकपा एमाले रूपन्देहीका सचिवालय सदस्य तथा बुटवल उपमहानगरसमितिका निवर्तमान नगर अध्यक्ष बाबुराम पन्थी बुटवलमा एमालेको संगठन कमजोर भएर चुनाव हारेको नभई पाँच दलीय गठबन्धन, नेकपा विभाजन, दुई तिहाइको जनमत जोगाउन नसक्नु, लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सर्नु र यसअघिको नेतृत्वले गरेका राम्रा कामहरूलाई पनि व्यवस्थित रूपमा जनताबीचमा लैजान नसक्नु हारका प्रमुख कारणहरू रहेको दाबी गर्छन्।
पन्थीले अघिल्लो निर्वाचनमा दुई तिहाइको बहुमत दिएका जनताको विश्वासलाई जोगाउन नसक्दा अहिलेको परिणाम आएको बताउँछन्।
‘जनताले नेकपा विभाजनलाई स्वीकार गर्न सकेका रहेनछन् भन्ने अहिलेको परिणामले पनि पुष्टि गरेको छ,’ उनले भने।
पन्थीले प्रदेशको राजधानी बुटवलबाट दाङ सर्नु र पार्टीले जनतालाई सही सूचना दिन नसक्नु पनि बुटवलमा एमालेले हार्नुको अर्को कारण रहेको बताए। ‘राजधानी कहाँ राख्ने भन्ने विषय एउटा पार्टीको विषय नभई प्रदेश सभाको विषय हो भन्ने कुरा जनतालाई बुझाउन सकिएन,’ पन्थीले भने।
उनले एमालेले गरेका राम्रा का जनतासम्म पुर्याउन नसकिएको बताए।
‘यीसँगै यसअघिका जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचारलाई व्यवस्थित गर्न सकिएन। विपक्षी पार्टीले राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक, ज्योतिनगर पहिरो, तिनाउ दानव कोरिडोर र मोतिपुर औद्योगिक क्षेत्रको विषयमा जनतालाई अनावश्यक रूपमा भड्काउँदै गर्दा हामीले त्यसलाई चिर्न पार्टी र संगठनलाई जसरी व्यवस्थित र परिचालित गर्नुपर्थ्यो त्यो गर्न सकिएन,’ पन्थीले भने।
उम्मेदवार चयन गर्दा र जिम्मेवारी दिंदा भुगोलमा उसको अवस्था नहेरी माथिबाटै जिम्मेवारी दिने गर्दा पनि अहिलेको परिणाम आएको उनको भनाइ छ।
बुटवलमा एमाले हार्नुमा पन्थीले भनेजस्तै कतिपय कारण रहे पनि नेपाली कांग्रेसले जित्नुमा राप्रपाले एमालेको भोट काट्नु र खेलराज पाण्डेयको व्यक्तिगत स्वभाव पनि मुख्य कारण हुन्।
अघिल्लो निर्वाचनमा एमालेका शिवराज सुवेदीसग २ हजार ३ सय ९८ मतले हार व्यहोरेका पाण्डेय पछिल्लो पाँच वर्ष अहिलेको चुनावलाई केन्द्रित गरेर जनताको बीचमा पुगिरहे।
सरल स्वभाव र सामान्य जीवनशैलीमा देखिने पाण्डेय दिनहुँजसो जनताकै बीचमा रहिरहे। निर्वाचित जनप्रतिनिधि सत्तामा केन्द्रित हुँदा उनी भने जनताका दु:खसुखमा सहभागी हुन्थे। वर्षौसम्म अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या, अस्तव्यस्त बनेको सडकको धुलो, धुवाँले आजित बनेका बुटवलवासीलाई धुलो धुवाँमुक्त गर्ने, साना व्यवसायीलाई व्यापार/व्यवसायमा प्रोत्साहित गर्दै करको भारबाट मुक्ति दिलाउने प्रतिवद्धता बोकेर घरघरमा पुगे।
त्यो सँगै पार्टीका नेता कार्यकर्तामात्र होइन सर्वसाधारण जसले निमन्त्रणा गरे पनि विवाह, ब्रतबन्ध, पारिवारिक शुभकार्य, भोजभतेर तथा मृत्यु संस्कारमा समेत उनी सहभागी हुन्थे। आफूले चिने जानेका र भेटघाट भएकाहरूलाई विवाह उत्सव र जन्मदिनको अवसरमा समेत भेटेर, टेलिफोन गरेर वा सामाजिक सञ्जालमार्फत् भए पनि शुभकामना दिएर उनले धेरैको मन जितेका थिए।
अघिल्लो निर्वाचनमा पराजित भएर पनि निर्वाचित भएका शिवराज सुवेदीलाई अविर र फूल माला लगाइदिएर बधाई दिएका पाण्डेयले त्यतिबेला नै धेरैको प्रशंसा र सहानुभूति बटुलेका थिए।
बुटवलमा एमाले हारेर नेपाली कांग्रेसले जित्नुको अर्को कारण राप्रपाको उम्मेदवारी पनि हो। राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले प्राप्त गरेको धेरै मत अघिल्लो पटक एमालेले प्राप्त गरेको मत हो। उनले कांग्रेस र एमाले दुबै प्रमुख दलबाट मत ताने पनि कांग्रेसको तुलनामा एमालेको मत धेरै काटेको देखिन्छ।
चुनावको दस दिनअघि सेतोपाटीले बुटवलका विभिन्न ठाउँका मतदातासँग गरेको कुराकानीमा पनि राप्रपालाई मत दिन्छु भन्नेमा अघिल्लो चुनावमा कांग्रेसलाई मत दिएका भन्दा एमालेलाई मत दिएका धेरै थिए।