पाँच दलीय गठबन्धनबाट बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेय विजयी हुँदा उपप्रमुखमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल विजयी भएकी छन्।
नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी अर्यालले गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार बनेका एकीकृत समाजवादीका चिनबहादुर गुरूङलाई पराजित गर्दै विजयी भएकी हुन्।
उपप्रमुखमा विजयी अर्यालले २४ हजार ९ सय ४ मत ल्याउँदा गुरूङले १६ हजार ९ सय ८० मत ल्याएका छन्। अर्याल र गुरूङको घर समेत वडा नं. ३ ज्योतिनगरमा छ।
बाबु नेत्रप्रसाद आचार्य र आमा दिलकुमारी आचार्यको कोखबाट पाल्पाको कुशुमखोलामा जन्मिएकी सावित्रा विष्णुप्रसाद अर्यालसँग विवाह भएपछि बुटवलमा बस्दै आएकी थिइन्। एक छोरा र एक छोरीकी आमा अर्यालले प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छन्।
२०३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी अर्यालले २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहँदै आएकी छन्।
हाल नेकपा एमाले केन्द्रीय सदस्य रहेकी अर्याल २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनीत भएकी थिइन् भने २०५४ सालमा निर्वाचित वडा सदस्य भएर जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै आएकी थिइन्।
२०६२/६३ मा भएको जनआन्दोलनमा घाइते समेत भएकी अर्याल बुटवल महिला जेसिजबाट लेडी अफ द इयर २००८ बाट सम्मानित भएकी थिइन्।
बुटवलमा महिला समाजसेवीको सशक्त पहिचान बनाएकी अर्यालले बाल्यकालमा विद्यालय जान नपाएका आमाहरूका लागि महिला विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा अभियान चलाएकी थिइन्।
उनकै अध्यक्षतामा स्थापना भएको साधना महिला विद्यालयमा अहिले पनि १५ वर्षदेखि ७० वर्ष उमेरसम्मका १ सयभन्दा बढी महिलाहरू अध्ययनरत छन्।
शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभूषित समेत भइसकेकी छन्।
अर्याल शिक्षासँगै सञ्चार क्षेत्रमा पनि निरन्तर क्रियाशील छन्।
बुटवलमा महिलाहरू मात्रैले स्थापना गरेको रेडियो मुक्तिको पूर्वअध्यक्ष, रेडियो मदन पोखराको संस्थापक सदस्य, लुम्बिनी टेलिभिजनको संस्थापक सदस्य रहेकी अर्याल जीवराज आश्रित स्मृति प्रतिष्ठान र मदन आश्रित अक्षयकोषकी पनि संस्थापक सदस्य रहेर काम गर्दै आएकी थिइन्।
विभिन्न सामाजिक क्षेत्रका काममा सक्रिय रहँदा बुटवलवासीसँग नजिक रहेकी अर्यालले पाँच दलीय गठबन्धनबाट नगर प्रमुख र उपप्रमुख दुबै पदमा पुरूष उम्मेदवार भएपछि त्यसको फाइदा लिन सकिन्। यसअघिको निर्वाचनमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्र दुबै दलबाट नगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरूष उम्मेदवार बनेपछि एमालेकी गोमादेवी आचार्य झण्डै १० हजार मत अन्तरले निर्वाचित भएकी थिइन्।