कपिलवस्तुको शिवराज नगरपालिकामा एमाले उम्मेदवार शिवकुमारी चौधरी उपमेयर निर्वाचित भएकी छन्। उनी ७९४४ मत ल्याएर विजयी भएकी हुन्। उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवारभन्दा १७६० मत बढी ल्याएकी छन्।
२८ वर्षीया शिवकुमारी यसअघि पनि यो नगरपालिकाकी उपमेयर थिइन्। पहिलो पटक उपमेयर निर्वाचित हुँदा शिवकुमारी मात्र २३ वर्षकी थिइन्।
सेतोपाटीले त्यो बेलै उनका बारेमा स्टोरी गरेको थियो।
शिवकुमारीकी आमा गाउँका अरू महिलाजस्तै गृहिणी थिइन्। खेतबारी धेरै थिएन, बुवा किराना पसल चलाउँथे। थारू गाउँमा धेरै छोरी घरधन्दा र चुलोचौकामा काममै लाग्थे।
उनका बुवाले भने छोरीलाई स्कुल पठाए। त्यही भएर मधेशका धेरै छोरीझैं शिवकुमारी घरभित्र खुम्चिन परेन। बरु समयसँगै उनको कर्मले पखेटा हाल्यो, सपनाले बाटो देखायो। त्यही बाटो हिँड्दै उनी दुई पटक आफ्नो नगरको उपमेयर भएकी छन्।
२०५१ सालमा शिवराजको चैनपुरमा जन्मिएकी शिवकुमारीको १७ वर्ष नपुग्दै राजेन्द्र चौधरीसँग विवाह भयो। त्यति बेला उनले भर्खर एसएलसी सकेकी थिइन्। कम उमेरमै विवाह भए पनि उनलाई उति साह्रो बुहार्तन गर्नुपरेन रे। क्याम्पस पढ्न घरले छेकेन। बरू यही घरको वातावरणले उनलाई राजनीति भनेको के हो बुझायो।
घरमा सासूससुरा र श्रीमान एमाले समर्थक थिए। राजनीतिका कुरा भइरहन्थे। कलेजमा साथीहरू राजनीतिकै कुरा गर्थे। उनले अलिअलि बुझ्थिन् तर वास्ता गर्थिनन्। कलेज पढ्दा पढ्दै उनले एउटा गैरसरकारी संस्थामार्फत् सामाजिक परिचालिकाको काम पाइन्। त्यहाँ एक वर्ष काम गरिन्।
त्यही बेला उनले अझै नजिकबाट देख्न पाइन्- गाउँलेका समस्या, घरघरका पिर र समाजका दुःख। आफ्नाबारे बोल्न समेत नसक्नेहरूलाई उनले बोल्न सिकाइन्। अन्यायविरूद्ध लड्न भनिन्। विपन्न र गरिबहरूलाई सचेत र सशक्तीकरण गर्ने उनको काम थियो। जनताका सुखदुःखसँग राजनीति जोडिएको हुँदो रहेछ भन्ने थाहा पाएको पनि उनले त्यही बेला हो।
'त्यसपछि मैले राजनीतिबारे केही बुझेँ,' उनले सेतोपाटीसँग भनेकी थिइन्, 'राजनीति गरिहाल्न पारिवारिक जिम्मेवारी र पढाइका कारण अल्लि गाह्रो हुन्छ कि सोच्थेँ पहिले। अहिले भने जागिरै छोडेर आएँ।'
सानैदेखि उनलाई आमाले भन्थिन् रे- पढेलेखेर अरुलाई सहयोग गर्नुपर्छ।
उनको मनमा आमाको त्यो कुरा गढेको थियो। राजनीतिले समाजका हरेक क्षेत्रलाई प्रभावित पार्छ र यसैबाट धेरैलाई सहयोग गर्न सकिन्छ भन्ने बुझेपछि राजनीतिप्रति धेरै आकर्षित भएको उनले बताइन्।
त्यही आकर्षणले स्थानीय सरस्वती निमाविमा पढाउने काम छोडेर उनी चुनावमा हाेमिइन्। पढाउने काम थाल्नुअघि उनले अरू धेरै काम गरिसकेकी थिइन्। जसले उनलाई शिवराजमा परिचित बनाइसकेको थियो।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत उनले स्थानीय समुदायको जीविकोपार्जन सुधार, पछाडि पारिएका सीमान्तकृत समुदायको क्षमता विकासको जिम्मेवारी लिएर गाउँगाउँ र टोलटोलमा पुगेकी थिइन्।
'यस्तो बेला मैले महिलाहरूले पाएका दुःख, उनीहरूमाथि हुने हिंसा बालविवाहजस्ता समस्या कति धेरै रहेछन् भन्ने बुझेँ। किन हुन्छन् भनेर आफैंले पनि थाहा पाएँ अरुलाई सम्झाएँ,' शिवकुमारीले भनेकी थिइन्।
समाजिक काम गर्दा उनले थाहा पाएको महिलाहरूको समस्याले उनको मन बिथोलिन्छ। तराईका कति विवाहित महिलाले नागरिकता नै पाएका छैनन्, 'नागरिकता नपाएर आफ्ना हकबाट बञ्चित महिलाहरू देखेर मलाई नमज्जा लाग्यो। कतिलाई त हामीले सम्झायौं।'
सामाजिक परिचालकको रूपमा रहँदा उनलाई समाजले चिन्यो, उनले समाजको अवस्था चिन्ने मौका पाइन्। त्यसमाथि शिवकुमारीले ६ वर्ष कपिलवस्तुकै रेडियो समानतामा थारू भाषाको कार्यक्रम समेत चलाइन्। रेडियोकर्मीको रूपमा शिवकुमारीको प्रस्तुति र आवाजले सबैलाई मोहित बनायो। त्यसको फाइदा उनलाई चुनावमा भयो। आफूलाई चिनाएर भोट माग्न त्यति गाह्रो परेन।
शिवराज नेकपा एमालेको बलियो जनाधार र संगठन भएको नगरपालिका हो। निर्वाचन हुने निश्चित भएपछि एमालेले उनलाई उपमेयरमा उठाउने निर्णय गर्यो।
त्यो बेला एमालेलाई मधेश विरोधीको आरोप थियो जसबाट एमाले मुक्त हुन चाहन्थ्यो। त्यसैले शिवराजमा एमालेका लागि शिवकुमारी निर्विकल्प बनेकी थिइन्।
उनै शिवकुमारी यसपटक पनि एमालेका तर्फबाट शिवराज नगरपालिकी उपमेयर भएकी छन्।