सिराहाको कर्जन्हा नगरपालिकामा २०७४ को स्थानीय तहमा नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख दुबै जितेको थियो।
त्यो बेला माओवादी केन्द्रका गंगा पासवानले ४ हजार ३ सय ९ मत ल्याएका थिए। उनले एमालेका रामदयाल महतोलाई १ हजार १ सय ९ मतले पछि पारेका थिए। उपप्रमुखमा निर्वाचित ज्ञनाकुमारी श्रेष्ठले पनि ठूलै मतान्तरमा चुनाव जितेकी थिइन्। उनले ४ हजार ३ सय १३ ल्याउँदा एमालेकी अञ्जुकुमारी राईले २ हजार ९ सय ४५ मत ल्याएकी थिइन्।
अहिले यही नगरपालिकामा एमालेका भोलाप्रसाद पोखरेल विजयी हुँदा माओवादी केन्द्र तस्रोमा खुम्चिएको छ। पोखरेलले ३ हजार ८ सय ३९ मत ल्याएका छन् भने दोस्रोमा रहेका जसपाका केशवप्रसाद साहले ३ हजार २ सय २३ मत ल्याएका छन्। माओवादीका पासवानले २ हजार ४ सय ८२ मत ल्याएका छन्। उपप्रमुखमा भने यो नगरपालिकामा जसपाकी लक्ष्मीकुमारी श्रेष्ठ विजयी भएकी छन्। माओवादी उम्मेदवार तेस्रो नै भएका छन्।
अघिल्लो निर्वाचनमा धनुषाको विदेह नगरपालिकामा नेकपा माओवादी केन्द्रका वेचनदास तत्मा २ हजार ७ सय ७० मत ल्याएर प्रमुखमा चुनिएका थिए। जबकी एमाले तेस्रो भएको थियो।
यसपटक यो नगरपालिकाको प्रमुख/उपप्रमुख तिनै तत्माले एमाले प्रवेश गरेर जितेका छन्। उनले ४ हजार ४ सय १२ मत ल्याएर मेयर जित्दा माओवादी केन्द्रका दु:खी मण्डलले ५ सय २ मत मात्रै ल्याएका छन्। एमालेकी आशादेवी झाले ४ हजार ५ सय ५९ मत ल्याएर उपमेयर जित्दा माओवादीकी अमेरिकाकुमारी साहले ६ सय ३४ मत मात्रै पाएकी छन्।
मधेस प्रदेशको मत गणना सुस्त ढंगले अघि बढेको छ। त्यसैले अहिले नै विश्लेषण गर्दा हतार हुन्छ होला। तर यी दुई जिल्लाका दुई पालिकामा आएको मत परिणामले माओवादीको मधेसमा जनाधार खस्केको प्रष्ट हुन्छ।
महोत्तरीको रामगोपालपुर नगरपालिकासमेत एमालेले माओवादी केन्द्रबाट खोसेको छ। माओवादी केन्द्रका अशोककुमार मण्डललई हराएर एमालेका रामदुलार साहले मेयर जितेका छन्। संयोग नै मान्नुपर्छ अघिल्लो चुनावमा माओवादीका मण्डलले जित्दा निकटतम प्रतिष्पर्धी एमालेका साह थिए।
उपमेयरमा पनि एमालेकै रिनादेवी यादव विजयी भएकी छन्। उपमेयरमा माओवादी उम्मेदवार तेस्रो नम्बरमा छन्।
रौतहटको मौलापुर नगरपालिकामा एमालेकी रीनाकुमारी साह निर्वाचित भएकी छन्। गत निर्वाचनमा उनी माओवादी केन्द्रबाट यही नगरपालिकाको मेयर चुनिएकी थिइन्। उनले यसपटक माओवादी केन्द्रका रामप्रवेश राय यादवलाई हराएकी हुन्। गत निर्वाचनमा मेयर/उपमेयर दुवै माओवादी केन्द्रले जितेको भए पनि यसपटक दुबै पदमा एमाले विजयी भएको छ।
पर्साको ठोरी गाउँपालिका पनि२०७४ मा माओवादी केन्द्रले जितेको थियो। यसपटक ठोरीमा एमालेले जितेको छ। एमालेका लालबहादुर श्रेष्ठले ४ हजार ४९ मत पाएका छन्। माओवादीका पदमलाल श्रेष्ठले ३ हजार ३ सय २९ मत पाए। उपाध्यक्षमा पनि एमालेकी गोकुलीकुमारी रेग्मीले माओवादी केन्द्रकी निरू तामाङलाई हराएकी छन्।
अघिल्लो पटक जितेको महत्तरीको गौशाला र बर्दिबास नगरपालिकामा समेत अहिले माओवादी उम्मेदवारहरू धेरै मतले पछाडि परेका छन्।
बाराको जितपुर-सिमरा उपमहानगरको मेयर भने माओवादीले यसपालि जितेको छ। यो उपमहानगरमा २०७४ मा मेयर र उपमेयर दुबै एमालेले जितेको थियो। यसपालि जितपुर सिमरामा सत्ता गठबन्धन थियो।
पार्टीभित्र आन्तरिक समस्या नै मधेसमा कमजोर हुनुको प्रमुख कारण रहेको माओवादी केन्द्रका मधेस इन्चार्ज गणेश साहले बताए। उनले जनतामा जानेभन्दा पनि पार्टीको आन्तरिक समस्या सुल्झाउन समय खर्च भएको बताए।
'चुनाव हार्नुको सबैभन्दा ठूलो कारण हामी आफैं हो। अर्को त हामीले उम्मेदवार छनौटमा ध्यान दिन सकेनौं,' उनले भने,'हाम्रो संगठन पनि विस्तार हुन सकेन। हामीले गाउँ कमिटी र नगर कमिटीसमेत गठन गरेनौं। त्यसमाथि कांग्रेसले प्रशासनको अलि बढी दुरूपयोग गरेको छ।'
एकातिर मधेसमा राम्रो प्रभाव राख्ने नेता प्रभु साह अहिले एमालेमा छन् भने अर्कोतिर माओवादी भित्रै पनि विभिन्न गुट\उपगुट छन्। विशेष गरेर माओवादी नेता गिरिराजमणि पोखरेल र मातृका यादव समूहले मधेसमा एकले अर्कालाई नस्वीकार्ने समस्या छ। यसले पनि मधेसको चुनावमा माओवादीलाई राम्रै धक्का लाग्ने देखिएको छ।