नेकपा (एकीकृत समाजावादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन भने पनि कांग्रेस-माओवादीको मात्रै गठबन्धन रहेको बताएका छन्।
बिहीबार बिहान सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै खनालले कांग्रेस-माओवादीले नै धेरै गठबन्धन गरेको बताए।
'हामीले जुन रूपमा गठबन्धन हुन्छ भनेका थियौं, त्यसरी भएन। धेरै ठाउँमा कांग्रेस र माओवादीको मात्रै गठबन्धन रह्यो। महानगर र उपमहानगरकै कुरा गर्दा पनि गठबन्धनको मर्म अनुसारको मत आएको छैन,' उनले भने,'काठमाडौंमा हाम्रा उपमेयर उम्मेदवारको मत आउन सकेन। अहिले नै सबै विश्लेषण गर्ने बेला त भएको छैन तर गठबन्धनको नतिजाबारे गम्भीर समीक्षा गर्न जरूरी छ।'
उनले काठमाडौंसहित विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रताले नेपालका नेताहरूको ल्याकत देखाएको बताए।
'अहिले जुन खालको नतिजा आइरहेको छ। त्यसले दलका नेतृत्वले सबै खालको समीक्षा गर्नुपर्छ,' उनले भने,'अबको बाटो के हुने भनेर हामीले गम्भीर छलफल गर्नै पर्ने भएको छ।'