रूपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली सेनाको उपस्थितिमा मतगणना सुरू भएको छ।
मंगलबार बिहानदेखि रोकिएको मतगणना बुधबार राति ९ बजेदेखि सुरू गर्ने भनिए पनि मतगणनास्थलमा अराजक समूहले हुलहुज्जत गरेपछि सुरू भएको थिएन।
यसअघि वडा नम्बर २ र १६ को मतगणना गर्ने क्रममा निर्वाचन कार्यालयका कर्मचारीले गणना भएभन्दा फरक मत टिपोट गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ता मतगणना रोक्न माग गरेका थिए।
बुधबार निर्वाचन आयोगले दुई वटै वडाको पुनः गणना गर्न निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर राति ९ बजेदेखि मतगणना सुरू गर्ने सहमति भएको थियो। तर शान्ति नमूना माविका प्रधानाध्यापक दलीय प्रतिनिधि बनेर मतगणनास्थलमा गएको भन्दै एमालेका वडा सदस्यका उम्मेदवार मनिष अधिकारिले प्रश्न उठाएपछि झनै विवाद उत्पन्न भएको थियो।
विवाद बढ्दै जादा अराजक समूहले मतगणनास्थलको गेट भित्रै प्रवेश गरि हुलहुज्जत गर्ने र च्यानलगेट खोल्ने प्रयास गरेपछि निर्वाचन अधिकृतले नै भरपर्दो सुरक्षाको व्यवस्था नहुँदासम्म मतगणना गर्न नसकिने बताएका थिए।
तिलोत्तमा नगरपालिकाका निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले मतगणनास्थलमा अराजक समूहले फौजदारी कार्य गर्दा पनि सुरक्षा निकायबाट कुनै सहयोग नभएको गुनासो गरेका थिए।
नेकपा एमालेले पनि प्रहरीको सुरक्षा भरपर्दो नभएको भन्दै सेनाको उपस्थितिमा मात्रै मतगणना अघि बढाउन माग गरेको थियो।
सोही अनुरुप सेनाको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयले रोकिएको मतगणना मध्यरातिदेखि सुरू गरेको हो।
निर्वाचन अधिकृत लोहनीले सुरक्षा सहजताका लागि सेनाको उपस्थिति भएपछि गणना सुरू भएको सेतोपाटीलाई जानकारी दिए।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पनि मतगणनास्थलको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर मतगणना सुरू गरिएको प्रष्ट पारे।
मतगणनाको पछिल्लो विवरण अनुसार नगर प्रमुख पदमा नेपाली कांग्रेस र माओवादी गठबन्धनका रामकृष्ण खाणले ३ हजार ८२८ मत प्राप्त गरेका छन्। यस्तै एमालेका मोहन चापागाईंले ३ हजार ६२१ मतका साथ पछ्याइरहेका छन्।
त्यस्तै उपमेयरमा एमालेकी जगेश्वरदेवी चौधरीले ३ हजार ४४४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमन्त पाण्डेले १७ सय २२ मत प्राप्त गरेका छन्।
अहिले मत फरक परेका वडा नम्बर २ र १६ को मतगणना भईरहेको छ। यसअघि गणना सम्पन्न भएका वडा नम्बर १ मा एमालेले र वडा नम्बर १७ मा कांग्रेस उम्मेदवारले प्यानलसहित जितेका छन्।
तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो भने उनका सहोदर भाइ रामकृष्ण खाण गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका छन्। खाण यसअघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग नगरप्रमुखमा पराजित भएका थिए।