विवादका कारण बुधबार दिउँसोदेखि रोकिएको सुनसरीको धरान उपमहानगरपालिकाको मतगणना बिहीबार बिहान ८ बजेबाट फेरि सुरू हुने भएको छ।
मुख्य निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार विवाद भएको २० नम्बर वडाका विषयमा थप छलफल गर्ने गरी मतगणना फेरि सुरू हुन लागेको हो।
‘आयोगले केन्द्रबाट मतगणना जारी राख्नु भन्ने निर्देशन पठाएको छ। अब ८ बजेदेखि सुरू हुन्छ,’ नेपालले भने।
वडा नम्बर ८, १९ र १२ को मतगणना जारी रहने उनले बताए।
२० नम्बर वडाको अन्तिम परिणाम सार्वजनिक गर्ने बेलामा माओवादी केन्द्रले ४ मतले वडाध्यक्ष हारेपछि विवाद सुरू भएको थियो।
उक्त वडामा १८ मतमा मतदान अधिकृतको हस्ताक्षर थिएन। पहिला ती मतपत्र बदर मानिएको थियो। चार मतले कांग्रेसले वडाध्यक्ष जितेपछि माओवादीले सबै मत पत्र सदर मान्नुपर्ने माग राखेको थियो।
उक्त मागमा अरू दल सहमत नभएपछि माओवादीले प्रदर्शन गरेको थियो। माओवादीले मतदान अधिकृतलाई कारबाही गर्नु पर्ने, बदर भएका १८ मत सदर गर्नुपर्ने र पुन: मतदान गर्नुपर्ने माग राखेको थियो।
आयोगले मतदान अधिकृतलाई कारबाही सिफारिस गर्न, बदर मतलाई बदर नै मान्न र मतगणना जारी राख्न निर्देशन दिएको नेपालले बताए।
धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४ मतले अग्रता लिएका छन्।
२८५६६ मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार साम्पाङले गठबन्धनका उम्मेदवार किशोर राईलाई १४ मतले पछि पारेका हुन्।
बुधबार दिउँसो सवा २ बजेसम्मको मतगणना नतिजाअनुसार साम्पाङले ८१४० मत प्राप्त गरेका छन् भने गठबन्धन उम्मेदवार राईले ८१२६ मत प्राप्त गरेका छन्। एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६७१३ मत प्राप्त गरेकी छिन्।