सत्तारूढ दलहरूले केन्द्रीय स्तरबाट गठबन्धन गर्ने निर्णय गरेको अर्को पालिकाको नतिजा आएको छ।
बिहीबार बिहान दाङको घोराही उपमहानगरको नतिजा आउँदा सत्तारूढ गठबन्धनलाई नेकपा एमालेले हराएको छ।
सत्ता गठबन्धनका संयुक्त उम्मेदवारहरूलाई हराउँदै एमालेका उम्मेदवार नरूलाल चौधरीले मेयर जितेका हुन्। उनले ३१७२८ मत ल्याएका छन्।
यहाँ सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार हेमराज शर्मा पोखरेल पराजित भए। उनले २६३६८ मत ल्याएका छन्।
उपमेयर पनि एमालेले जितेको छ।
एमाले उम्मेदवार हुमाकुमारी डिसी उपमेयर निर्वाचित भइन्। उनले ३०४०३ मत ल्याएकी छन्। यहाँ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्री पराजित भए। उनले ३०३५४ मत ल्याएका छन्।
२०७४ को चुनावमा पनि घोराहीमा चौधरीले मेयर जितेका थिए।
यसअघि बाराको जितपुर-सिमरामा पनि सत्ता गठबन्धन पूर्ण रूपमा सफल हुने गरी नतिजा आएन।
सिमरामा माओवादीका राजन पौडेलले मेयर जित्दा उपमेयरमा भने कांग्रेसकी मेघा शाही पराजित भइन्।
सत्तारूढ दलले ६ महानगर र ११ उपमहानगरमा गठबन्धन गर्ने निर्णय बालुवाटारमा बैठक बसेर गरेका थिए।