नेकपा माओवादी केन्द्रले गोरखाको पालुङटार नगरपालिकाको मेयर र उपमेयर जितेको छ।
मेयरमा माओवादी उम्मेदवार विवस चिन्तन निर्वाचित भए। उनले ६०७२ मत ल्याएका छन्।
यहाँ जनता समाजवादी पार्टीका मेयर उम्मेदवार प्रेमबहादुर गुरूङ पराजित भए। उनले ५७१७ मत ल्याएका छन्।
नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपकबाबु कँडेलले जम्मा ४९९७ मत मात्रै ल्याएका छन्। उनी निवर्तमान मेयर हुन्।
उपमेयर पनि माओवादीले जितेको छ। माओवादी उम्मेदवार बन्दना पाण्डेले उपमेयर जितेकी छन्। उनले ५५७९ मतसहित उपमेयर जितेकी हुन्।
यहाँ उपमेयरमा कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठ पराजित भइन्। उनले ५०७७ मत ल्याएकी छन्। जसपा-एमाले गठबन्धनबाट उपमेयर उम्मेदवार एमालेकी पार्वती पाठकले जम्मा ४२८१ मतमात्रै ल्याएकी छन्।
पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो। यहाँ सुरूमा जसपाले कांग्रेससँग गठबन्धन गर्न लागेको थियो तर सफल नभएपछि एमालेसँग गठबन्धन गरेको थियो।
माओवादीबाट मेयर जितेका चिन्तन ०७४ मा पनि मेयर उठेका थिए। त्यसबेला उनी कांग्रेसका कँडेलसँग पराजित भएका थिए। अहिले उनै कँडेललाई पनि पछि पार्दै चिन्तन मेयर निर्वाचित भएका छन्।