गुल्मीको धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रका भुपाल पोखरेल अध्यक्ष निर्वाचित भए। एमालेको सहयोगमा अध्यक्ष भएका उनले ६ हजार ८९ मत पाए। उपाध्यक्षमा निर्वाचित एमालेकी सीता गिरीले ६ हजार १ मत ल्याएकी छन्।
यो पालिकामा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो। धुर्कोटका ७ वडामध्ये एमालेले ६ र कांग्रेसले १ वडा अध्यक्ष जित्न सफल भए। माओवादी केन्द्रले वडा अध्यक्षमा उम्मेदवारीसमेत दिएन।
रूरू क्षेत्र गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष जितेको छ। माओवादीका यज्ञ ज्ञवाली अध्यक्ष निर्वाचित भएका छन्। कांग्रेससँग चुनावी तालमेल भएको भए पनि एमालेका मीनादेवी गौतमले उपाध्यक्ष जितेकी छन्। ६ वडा भएको गाउँपालिकामा माओवादी केन्द्रले एउटा मात्रै वडा जितेको छ।
गुल्मीका १२ पालिकामध्ये माओवादी केन्द्रले ४ पालिका जितेको छ। उसले ३ पालिका कांग्रेससँग र १ मा एमालेसँग तालमेल गरेर जितेको हो। संयोग नै मान्नुपर्छ ४ पालिका जितेको माओवादीले वडा पनि ४ ओटा मात्रै जितेको छ। जिल्लाका ९३ वडामा उसको उपस्थिति ४ ठाउँमा मात्रै छ।
जबकी कांग्रेसले ४७ वडा अध्यक्ष जितेको छ। ३ वटा मात्रै गाउँपालिका जितेको एमालेले ४० वडा जितेको छ। एउटा वडा स्वतन्त्रले जितेका छन् भने एउटा वडामा राष्ट्रिय जनमोर्चाले जितेको छ।