नेकपा एमालेले भक्तपुरका चार नगरपालिका मध्ये एक नगरपालिकामा विजय हासिल गरेको छ।
उसले भक्तपुरको सूर्य विनायक नगरपालिकामा जितेको हो। सूर्यविनायकमा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ। १४ हजार ७ सय ५८ मत ल्याएर एमालेका बासुदेव थापा नगरपालिका प्रमुखमा विजयी भएका छन्। दोस्रोमा रहेका नेपाली कांग्रेसका निशान ढुंगेलले १३ हजार १ सय ३२ मत ल्याएका छन्।
त्यस्तै उप प्रमुखमा एमालेकै सरिता भट्टराई (तिमल्सिना) विजयी भइन्। उनले १४ हजार ४ सय ९० मत पाएकी छन्। दोस्रोमा रहेकी नेकपा एसका श्याम सुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याएका छन्। यो नगरमा कांग्रेस र नेकपा एसबिच तालमेल थियो।
यो नगरपालिकामा यसअघि पनि एमालेबाट थापानै प्रमुखमा विजयी भएका थिए भने उपप्रमुखमा नयाँ अनुहार ल्याएको थियो।
२०७४ को निर्वाचनमा भक्तपुरका ४ मध्ये सूर्य विनायक सहित मध्यपुर थिमी र चाँगुनारायण नगरपालिका एमालेले जितेको थियो।
भक्तपुर नगरपालिकामा भने प्रमुख र उपप्रमुख दुवै नेमकिपाले जितेको थियो। यसपटक पनि उसैले जितेको छ।
यसअघि एमालेले जितेको मध्यपुर थिमीमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ट प्रमुखमा र माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठ उपप्रमुखमा निर्वाचित भएका छन्। यो नगरपालिकामा सत्ता गठबन्धनको चुनावी तालमेल थियो।
यसअघि एमालेले जितेको चाँगुनारायण नगरपालिकामा कांग्रेसका जिवन खत्री निर्वाचित भएका छन् भने उपप्रमुख भने एमालेले जितेको छ। एमालेका रमेश बुढाथोकीले कांग्रेसकी सुभद्रा काफ्लेलाई पराजित गरेका छन्।