नेपाली कांग्रेसले काभ्रेपलाञ्चोकका दुई नगरपालिकामा विजय हासिल गरेको छ।
कांग्रेसले बनेपा र नमोबुद्ध नगरपालिकामा प्रमुख जितेको छ।
बनेपामा कांग्रेसका शान्ति रत्न शाक्य विजयी भएका छन्। उनले १३ हजार ७ सय ९३ मत ल्याएका छन्। दोस्रोमा रहेका एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत पाएका छन्।
उप प्रमुखमा भने एमाले विजयी भएको छ। एमालेका विमला सापकोटा दाहालले ११ हजार ९ सय ९२ मत ल्याएकी छन्। उनको निकटतम प्रतिद्वन्दी रगुबर चौ प्रधानले १० हजार ५ सय १५ मत ल्याएका छन्।
बनेपामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादी (एस) ले उपप्रमुखमा उम्मेदवारी दिएका थिए।
यसअघि यो पालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो।
त्यस्तै काभ्रेको अर्को नगरपालिका नमोबुद्ध नगरपालिकामा कुनसाङ लामा विजयी भएका छन्।
उनले १२ हजार २ सय ११ मत ल्याएका छन् भने उनका निकटतमा प्रतिद्वन्दी नेकपा एमालेका राजन भुर्तेलले ५ हजार २२ मत मात्रै ल्याएका छन्।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी भएका छन्। सत्ता गठबन्धनको तर्फबाट यो नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उप प्रमुखमा उम्मेदावारी दिएका थिए।
उनले ८ हजार १ सय ८७ मत पाएका छन्। दोस्रो मा रहेकी एमालेकी सम्झना लामाले ६ हजार ५ सय ४३ मत ल्याएकी छन्। यो पालिकामा पनि २०७४ एमालेले नै प्रमुख र उपप्रमुख जितेको थियो।