केन्द्रीय स्तरबाटै भएको सत्ता गठबन्धनको पहिलो नतिजा कांग्रेसका लागि सुखद रहन सकेन।
देशका ६ महानगर र ११ उपमहानगरमा केन्द्रस्तरबाट गठबन्धन गर्ने निर्णय भएको थियो। जसअनुसार जितपुर-सिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएको थियो। नतिजा भने माओवादीको पक्षमा मात्रै आएको छ।
मेयरका उम्मेदवार राजन पौडेलले विजय हासिल गरेका छन् भने उपमेयर उम्मेदवार कांग्रेसकी मेघा शाहीले पराजय व्यहोरेकी छन्।
पौडेलले १८ हजार ७ सय ३० मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती चौधरीले १७ हजार ७ सय ७९ मत पाएकी छन्।
उपमेयर जितेका एमालेका भोलाप्रसाद अधिकारीले १७ हजार ४ सय ९२ मत ल्याएका छन्। उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मेघा शाहीले १५८४२ मत ल्याएकी छन्।