रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना कार्य अझै सुरू हुन सकेको छैन।
मंगलबार बिहानैदेखि यहाँ मतगणना रोकिएको थियो।
मतगणनाको क्रममा निर्वाचन कार्यालयका कर्मचारीले गणना भएभन्दा फरक मत टिपोट गरेको भन्दै नेपाली कांग्रेसले अवरोध गरेको थियो।
मतगणना कार्य सर्वदलीय सहमतिपछि बुधबार बेलुकी गणना सुरु हुनै लाग्दा फेरि विवाद सिर्जना भएपछि रोकिएको छ।
मत फरक परेका वडा नम्बर २ र १६ को मतगणना पुनः गरेर मतगणना कार्यलाई अगाडि बढाउन निर्वाचन आयोगले दिएको निर्देशन र सर्वदलीय बैठकले गरेको निर्णयले बुधबार बेलुकी ९ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो।
तर बेलुकी ९ बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेकै बेला मतगणनाका लागि पुगेका दलका प्रतिनिधिबीच कुटाकुटको स्थिती भएपछि मतगणना अनिश्चित भएको हो।
तिलोत्तमाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले सुरक्षा निकायबाट कुनै सहयोग नभएकोले मतगणना गर्ने अवस्था नभएको बताए। मतगणना स्थलमा कर्मचारी नै असुरक्षित भएर मतगणना गर्न सकिने अवस्था नभएको उनले सेतोपाटीलाई बताए।
‘मतगणना सुरु गर्ने भनिएको डेढ घण्टा भयो तर अराजक समूहले गेटभित्रै आएर ढुंगामुढा गरिरहेको छ, यस्तोमा कसरी मतगणना गर्न सकिन्छ,’ उनले भने।
लोहनीले डेढ घण्टादेखि अराजक समूह च्यानलगेटसम्म आएर हुलहुज्जत गरिरहे पनि बाहिर रहेको सुरक्षाकर्मी मुकदर्शक बनेको गुनासो गरेका छन्।
‘सुरक्षाकर्मीबाट कुनै सहयोग पाइएन, मतगणना स्थलमा अराजक समूहले हुलहुज्जत गरिरहेका छन्, त्यस्तोमा पनि प्रहरीले वेवास्ता गरिरहेको छ,’ लोहनीले भने।
यसअघि मतगणना सुरु गर्ने क्रममा शान्ति नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने र एमालेका उम्मेदवार मनिष अधिकारीबीच विवाद भएपछि मतगणना सुरु हुन सकेको थिएन।
अधिकारीले विद्यालयको प्रधानाध्यापक लामिछाने दलको प्रतिनिधि बनेर गएको भन्दै प्रश्न उठाएपछि विवाद उत्पन्न भएको थियो। अहिले मतगणना स्थल वरपर ढुंगा हानाहान भइरहेको प्रत्यक्षदर्शीले बताएका छन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मतगणनास्थलको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर मतगणना सुरु गर्ने प्रयास गरिएको बताए।
तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो भने उनका भाइ रामकृष्ण गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका छन्। रामकृष्ण यसअघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग नगरप्रमुखमा पराजित भएका थिए।